- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – दक्षिण एसियाली सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन आयोजक राष्ट पाकिस्तानले स्थगित गरेको छ । आगमी कार्तिक २३ र २४ गते पाकिस्तानको इस्लामाबादमा शिखर सम्मेलनको मिति तय गरिएको थियो । तर भारतलगायत पाँच राष्टले सहभागि नहुँने औपचारिक जानकारी गराएपछि पाकिस्तानले शुक्रबार स्थगित गरेको हो ।
भारतको कस्मिरस्थित सेनाको बेस क्याम्पमा आतंकबादी हमला हुँदा १८ सैनिक मारिएका थिए । सैनिक मारिएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध निकै तनावपूर्ण अवस्थामा पुगेको छ । यही तनावपूर्ण अवस्थामा सार्क सम्मेलन हुन नसक्ने निस्कर्ष अफगानिस्तान, बंगलादेश र भूटानले निकालेका छन् ।
भारत, अफगानिस्तान, भूटान र बंगलादेशले पाकिस्तानको इस्लामाबाद आतंकको छायामा रहेको भन्दै शिखर सम्मेलनमा नजाने घोषणा गरेका हुन् । भारतले बुधबार पाकिस्तानमा आतंकबादको त्रासदी बढ्दै गएको जनाउँदै सम्मेलनमा भाग नलिने घोषणा गरेको थियो ।
पाँच देश उपस्थित नहुने भएपछि पाकिस्तानले तत्कालका लागि सम्मेलन स्थगित गरेको छ । अहिले स्थगित भएपनि केही समयमै नयाँ मिति तोक्ने बताएको छ ।