×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : यस्तो रह्यो जापानको दशैं ! (जापानमा विभिन्न व्यक्तित्वको दशैं अनुभव)

  • भुवन रोका / अर्थ सरोकार डटकम 
जापान –  नेपालीहरुको महान चाड दशैं नेपालमा भव्य रुपमा मनाइरहँदा जापानमा रहेका नेपालीहरुले पनि दशैं आ-आफ्ना ढंगले मनाएका छन् । यसै क्रममा अर्थ सरोकार डटकमले जापानमा रहेका विभिन्न व्यक्तित्वलाई आफ्नो दशैं अनुभवबारे सोधेको  थियो । पढौं विभिन्न व्यक्तित्वहरुको दशैं अनुभव उनीहरुकै शब्दमा :


कृष्ण चन्द्र अर्याल
कार्यवाहक राजदुत: नेपाली राजदुताबास टोकियो
“यस पटकको दशैं जापानमा मनाउने अवसर मिल्यो । टोकियोमा नयाँनै भएकोले आफ्नै निवासमा हामीले परिवारका सदस्यहरुसँग मात्र दशैं मनाइयो । हामी जहाँ रहेपनि हाम्रो कला र संस्कृतिको जगेर्ना गर्नु हाम्रो दायित्वपनि भएकोले ब्यस्तताको बाबजुद दशैं शुभकामना साटासाट गर्ने, टिका-जमरा लगाउने कार्यक्रमलाई यहाँ पनि निरन्तरता दियौँ । यहाँ अरु थुप्रै जिम्मेवारीहरु भएकोले अन्य गतिविधिहरु र कार्यक्रमहरुमै व्यस्त रहनु पर्यो । साथै कूटनीतिक मिशन र अन्य अधिकारीहरु सँगको भेटघाटमा व्यस्त भएर बितेको छ यो सालको दशैं । साथै देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा आउदै गरेको दीपावली, छट लगाएत अन्य चाडपर्वहरुको शुभकामना दिन चाहन्छौँ ।”
सुदन थापा 
अध्यक्ष: एन आर एन ए जापान
“म हरेक बर्ष दशैं मनाउन नेपाल जाने गरेको थिएँ । यो बर्षको दशैं जापानमा मनाउने क्रममा व्यक्तिगत रुपमा अलि खल्लो अनुभव भएको छ । एक त आफन्तहरुको दुरी रह्यो । पहिलो पल्ट अर्को कुरा म बिरामी भएर पनि यो दशै उल्लासका साथ जापान बासी नेपालीहरुसँगै जुटेर मनाउन पाईएन । तर पनि जापानबासी नेपालीहरुले आफ्नो संस्कृति जोगाउनको लागी हर्षोल्लासका साथ दशैं मनाउनु भएको समाचारहरु र तस्बिरहरु सामाजिक संजालहरुमा देखेर खुसी लागेको छ ।”
होम बहादुर रीजाल
प्रोफेसर: टोकियो सिटी विश्वविद्यालय
“बिदेशमा रहँदा पहिले पहिलेका बर्षहरुमा खासै दशैं मनाउने गरेको थिईन । यसपाली नेपाली बिद्यार्थीहरुसँगै युनिभरसिटीमा मनाईयो । सार्है रमाईलो अनुभव भयो । विद्यार्थीहरु पनि बाबु, आमा छोडेर आएका हुनाले हामी सबैलेसँगै मनाउँदा हामी सबै खुसी भयौं । साथै केही जापानीज सहकर्मी प्रोफेसरहरुलाई पनि सहभागी गराएर नेपाली संस्कृति उहाँहरुमाझ बाँड्न पाउदा झनै रमाईलो अनुभव भयो ।”
डीपी कंडेल 
अध्यक्ष: नेपाली जन सम्पर्क समिति जापान
“यसपालीको दशैं बिदेशमा मनाईएपनि रमाईलोकोनै अनुभव भएको छ । अहिले त आफन्तहरु धेरैजना यतै हुनुभएकोले सबै जना एक ठाउंमा जुटेर शुभकामना आदान प्रदान गर्दै रातो टिका र जमरा लगाएरै मनाउंदा आफ्नै गाउमा मनाएको जस्तै लागीरहेको छ । साथमा सबै कर्मचारी दाजुभाई दीदीबहिनीहरु पनि सँगै परिवारका सदस्यहरु जस्तै एकै ठाउमा बसेर मनाउन पाउँदा झनै खुसीको अनुभव भएको छ । फेरि पनि आफ्नो देश अनि गाउघरमा मनाउंदाको रमाईलो बेग्लै हुन्छ ।”
पदम सिंङ  ठगुन्ना 
संयोजक: अन्तराष्ट्रिय नेपाली समाज (INS) जापान
“समय, यसले गर्ने निरन्तर परिवर्तन, यसको साछी वन्ने मानव, मानवीय सभ्यता र परिप्रेक्षको आवश्यक्तासँगै मानवले जहाँ जसरी भएपनि आफ्नो शभ्यता, संस्कार परम्परा ,रितिरिवाज सांस्कृतिक पहिचानसँगै आफ्नो डिग्निटी मौलिक रुपमा प्रदर्शन गर्दछ त्यसैको श्रृंखला हामीहरुले पनि प्रवास जापानमा नेपालीहरुको महान चाँड बिजया दशमी विश्व भ्रातृत्वसाथ मनायौं । जुट्न सक्ने साथीहरुको साथमा व्यस्ततालाई केहिबेर र बिसाएर आफ्नो मौलिक संकृकिको निरन्तरलाई खुसीसाथ मनायौं ।”
सुवास लोहनी
अध्यक्ष: पुर्वी बिकास सहकार्य केन्द्र
“स्वदेशमा रहँदाभन्दा बिदेशमा हुँदा आफ्नो जन्मभूमिको अतिनै माया हुँदोरहेछ भन्ने कुरा त सर्बबिदित नै भइसकेको छ । त्यतिमात्र नभएर टाढा हुँदा आफन्तहरु, साथीभाइ हरुको महत्व बुझ्ने र उनीहरुलाई सधै सम्झने गरेको मैले यहाका नेपालीहरुमा पाएको छु । त्यसैगरी चाडबाड्को त कुरै भएन ।  संस्कार, धर्मको जनेर्गा गर्न इच्छाशक्ति, जागर भएर मात्र हुदोरहेनछ, आर्थिक सबलताले त्यसलाई टेवा पुर्याउदोरहेछ । जापानका नेपालीहरुमा जतिजति आर्थिक रुपमा सक्षम हुँदै जाँदा उनीहरुले आफ्नो रहनसहनलाई भन्दा संस्कृति, चलन हरुलाई प्राथमिकतामा राखेर व्यवस्थित गर्दै लगेको मैले अनुभव गरेको छु । यसपाली २०७३को दसैंले मलाइ त अझ नेपालीहरुले विश्वको कुनै कुनामा रहेपनि आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न सक्षम रहन्छन्  भन्ने पुष्टि गरेको छ ।”


सरोज कुमार खत्री
अध्यक्ष: वि फोर अल

 

 “मेरो यो पालीको दशै परदेशमै भएपनी सधाझै परदेशीकै हिसावले बित्यो । जापान आयदेखि नै परदेशमै भएपनी जमरा राख्ने कामलाई छुटाएको छैन मैले । विजया दशमीको परम्परा अनुसार पुजा पाठ गरें । साथी भाई नातागोता र परीवार मिलेर टिका टालो र नवदुर्गा भवानीको प्रसाद लगाईयो र बाँडियो । हाम्रो परम्परा र चाडबाडनै हाम्रो पहीचान हो भन्नेकुरालाई हामीले परदेशमै भएपनी भुल्नु हुन्न भन्ने मान्यता मेरो छ ।”

लोकनाथ अधिकारी
उपाध्यक्ष: नेपाली जन प्रगतिशील मञ्च जापान
“जापानमा रहेरपनि हामीले विजया दशमीका दिन आफन्त र मान्यजनहरु सबै एकै ठाउंमा जुटी टीका लगायौँ। साह्रै खुसीको अनुभव भयो । परापुर्व कालदेखि चलिआएका सकारात्मक परम्पराहरु र संस्कृतिको जगेर्ना गर्ने मूख्य अभिभारा हामी युवाहरूको हो। भूगोल जहाँ भएपनि नेपाली सहयोगी र प्रगतिशील मन लिएर बाँचौ ।”

दिनेश साही 
अध्यक्ष: नेपाली जनप्रगतिशील समाज जापान

दशैको आफ्नै धार्मिक, सांस्कृतिक र बैज्ञानिक महत्व रहेको छ । यसलाई सामाजिक सदभाव बढाउने र संकृकिको महत्वलाई निरन्तरताको रुपमा देशभरीनै मनाईन्छ । बिशेषगरी बिदेशमा बसोवास गर्ने नेपालीहरुले दशैलाई घर फर्केर परिवार संगै मनाउने अवसरको रुपमा लिने गर्दछन् । तर यो पल्ट मैले त्यो अवसर छोप्न सकिन । यो दशैमा जापानमानै आफन्त र साथिभाईहरु बीचमा मनाईयोँ । धेरै दशै बिदेशमानै मनाएको अनुभव भएकोले अबत यस्तै बानी पर्न थालेजस्तो लाग्छ । नेपालमा मनाउदाको मौलिकता छुट्टै रमाईलो हुन्थ्यो तर पनि यहाँको ब्यस्ततामा साथीहरु जम्मा भएर मनाउन पाउंदा धेरै खुसीको अनुभूति भएको छ।
कुमार कार्की
ब्यवसायी: टोकियो, जापान
“य पालीको दशैं टोकियोको सिनओकुबोमा रहेको आफ्नै रेस्टुरेन्ट ब्याराकाडमा आफन्त, साथीभाई जमघट गरेर मनाउन पाउँदा खुसीको अनुभव भएको छ। साथै रेस्टुरेन्टका कर्मचारी साथिहरुपनि सँगै दशैं मनाउन पाउनु भयो त्यसले झनै हर्षित छु। टिकाकै दिन छोरीको अन्न प्रशान कार्यक्रम रहेकोले पनि सबै आफन्तहरु जुट्ने अवसर मिल्यो । जापानमा भए पनि सबैले टिका जमरा लगाएर खुसीका साथ दशैं मनाएको अनुभव रह्यो ।”

भरत नेगी 
पिएचडी बिद्यार्थी: कोबे विश्वविद्यालय, तथा प्रवास प्रादेशिक समिती सदस्य: (INS जापान)
“मेरो जापानमा मनाईने दशैं व्यस्ततामै वितिरहेको छ हरेक बर्ष । यस बर्षपनि अध्ययनमै बितेको छ । कुनै उत्सव मनाउने अबसर जुटेन त्यसैले होला यो चाडबाडको बेला घरको झन बढी याद आउंछ । टिकाको दिन घरमा फोन गरेर  दशैको शुभकामना साट्ने गरेको छु र मान्यजनहरुबाट आशिर्वाद लिने गरेको छु । यसपाली पनि नेपालमा फोन गरेर मान्यजनहरुबाट आशिर्वाद लिएँ । ब्यस्तनै नभए पनि जापानमा खासै उत्साहका साथ दशैं मनाएको अनुभव छैन ।”

सरिता ढकाल
आर्थिक संयोजक: अन्तराष्ट्रिय नेपाली समाज (INS) जापान
“आफ्नो माटो र धर्ती भन्दा प्यारो सायदै केही छैन । संसारमा आमाको  माया लाई टाढा  राखेर  अर्काको भूमिमा  रम्न  धेरै  रमाइलो  महसुस  भएन । साच्चै  सिस्नु र खोले  भएपनि आफ्नै भूमिको मिठो  हुने महसुस मैले गरें । समग्रमा  दशै  मनाइयो  आफन्तहरु पनि  नेपालमा  भन्दा यतै धेरै भइसक्नु भएको छ । तरपनि आफ्नो भूमिमा  जस्तो  नहुने । रमाइलो गर्न  डर  हुने, टिका लगाइयो  ट्रेनमा हिंड्न अप्ठ्यारो, पाहुना बोलायो छिमेकिलाई हल्ला हुने डर, बिदा मिलायो कामको चिन्ता, सुत्न एकछिन ढिला  भयो  भोलिको कामको चिन्ता । यस्तो अस्तव्यस्त अवस्थामा पनि रितिरिवाज, परम्परालाई  बिर्सेंको छैन भन्ने  कुरा बच्चाहरुलाई  सिकाइयो त्योनै खुसीको अनुभव भयो।”

सीमा सिलवाल 
महिला बिभाग संयोजक: अन्तराष्ट्रिय नेपाली समाज (INS) जापान
“प्रदेशको ठाउंमा मनभरी देश, गाउँ र परिवारको सम्झनामा साथीहरुको साथमा खुसी र दु:खबीच यसपालीको दशैं मनाएँ । भिडीयो च्याट गरेर मान्यजनहरुबाट आशिर्वाद थाप्ने अवसरसम्म पाएकोले यो प्रविधिको बिकासलाई धेरैधेरै धन्यबाद छ । सबैले ठुलो मान्छे बन्नु भन्ने आशिर्वाद दिए ।  म आफु सँगसंगै बिदेशमा सिकेका कुराहरुले देश र परिवारको लागि केही गर्न सकें भने मात्र वास्तवमा मेरो विजया दशमी सुखद्हु हुने महसुस गरेकी छु । बिदेशमा यसपालीको दशैं त संस्कृति जोगाउनकै लागी भएपनि सारा पीडाहरु लुकाएर मनाएँ ।”

लक्ष्मी दुलाल
महिला तथा अनुशासन बिभाग सदस्य: अन्तराष्ट्रिय नेपाली समाज (INS) जापान
“परदेशी जीवनयापनको दौडाहामा नेपाली चाडपर्व आउँदा घर परिवारलाई धेरै याद गरिन्छ । यस पीडाको अनुभव त पक्कैपनि परदेशमा रहनेहरुलाई बढीनै अनुभव हुन्छ । मेरो सन्दर्भमा भने अलि बिशेष रह्यो यो दशैँ ! जमरा पनि राखियो । केही बर्ष देखि, यहाँ जापानमा म र भाइ सँगैनै छौं । दशैँ टिकाको दुई दिनअघि छोरा पनि नेपालबाट आई पुग्यो। अग्रजहरुको आशिर्वाद र अरु आफन्तजनसँग भेटघाटलाई मिस गर्दै भएपनि यो टाढा परदेशमा छोरा र भाइ सँगसँगै दशैँ मनाउने अवसर पाउँदा अति खुशीनै लाग्यो । ढिलै भए पनि सम्पूर्ण जापानबासी नेपालीहरुमा महान चाड बिजया दशमीको धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।”
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: