पैसा लिने सुविधा नदिने जगदम्बा ट्राभल्स्
Powered by Blogger.
पैसा लिने सुविधा नदिने जगदम्बा ट्राभल्स्

  • प्रकट कुमार
एकबर्षअघि असोज महिनामै एउटा समाचार पढियो । जहाजको जस्तै सुविधाको भएको बस पोखराबाट काठमाडौं चल्न थाल्योे । समाचारमा थपिएको थियो । फ्रि वाइफाइ, मिनी बार, आरामदायी सिट, यात्रुलाई चिया र कफी, चिसो पेयपदार्थको सुविधा । पोखराबाट चल्ने जगदम्बा ट्राभल्सको बसको विषयमा यहि असोजको दोस्रो साता फेरी अर्काे समाचार आयो । बसभित्र नै शौचालय, वास बेसिन, सिटमा नै फुड टेवल आदी ।

पहिला नै कौतुहलता लागेको बसमा चढ्न मन लागिरहेको थियो तर यो एक बर्षमा पोखराको यात्रा बसमा भन्दा बढि जहाजमा नै भैरहेको थियो । यसपाली दसैं मनाएर बागलुङबाट पोखरा आइयो । दिदीकोमा १ दिन बसेर जहाजबाट नै काठमाडौं जाने योजना थियो । तर, पोखरामा एउटा विवाहमा सहभागी बन्नुपर्ने भएकाले पोखरामा एकदिन अझ बढि बस्नुपर्ने भयो । जहाजमा जाने योजना रद्द गरेर दिदी र भिनाजुले नै सुझाएअनुसार जगदम्बाको अत्याधुनिक बसमा जाने योजना बनाइयो । त्यहि योजना अनुसार असोज २९ गते शनिबार जगदम्बाको ग १ प १९४ नम्बरको बसबाट काठमाडौं आइयो ।


जहाजको जस्तै सुविधा भनेर समाचारमा पढियो । कम्पनीले पनि त्यहि अनुसार विज्ञापन गरेको थियो । तर, सुविधा त जहाजको जस्तै होइन जहाजको भन्दा 'बढि' देखियो । नेपालका जहाजमा निशुल्क वाइफाइ हुँदैन । निशुल्क के सशुल्क पनि हुँदैन । तर, बसमा थियो । निशुल्क थियो भन्ने कुरा टिकटमा पनि लेखेको थियो । तर, त्यो वाइफाइ काठमाडौं आउँदासम्म चलेन । अहँ कत्ति पनि चलेन । बसका सहचालकलाई सोधेको उनले चाडपर्व भएर पैसा तिर्न नपाएको र नचलेको बताए । हामीले त वाइफाइको पनि पैसा तिरेर टिकट लिएका थियौं । तर वाइफाइको सुविधा पाइएन । सायद जहाजको जस्तै सुविधा भएर होला । किनकी जहाजमा पनि वाइफाइ हुँदैन ।


समाचारमा पढिएको र टिकटमा पनि भएको ट्वाइलेटको सुविधा लेखेको देखेपछि ट्वाइलेट खोइ भनेर बसमा रहेकी महिला बस होस्टेसलाई सोधें उनले यो बसमा त छैन अर्काे बसमा हो भनिन् । त्यसो भए हाम्रो अर्काे बस होला भने । उनले तपाईको १५ सयको कि २ हजारको टिकट भनेर सोधिन् । मैले २ हजारको भने । उनले अर्काे होला बस प्याक भएर यसमा मिलाएको हुन सक्छ भनिन् । गज्जब छ । उनको कुरा सुनेपछि टिकट हेर्छु त । टिकटमा बस नम्बर पनि लेखिएको छैन । टिकटमा मूल्य पनि लेखिएको छैन । नलेखिएको कारण आफु अनुकुल व्याख्या गर्नका लागि होला ।



त्यसो त दगदम्बाको काउन्टरबाट बस चढ्नुअघि विहान ०६१ ५४००१८ नम्बरबाट फोन गरेर तपाई चढ्ने ठाउँ पृथ्वीचोकमा बस ठिक ७ः४५ मा आइपुग्छ भनेर एकजना महिलाले बताइन् । म, मेरो श्रीमति र ५ महिनाको छोरा नयाँबजारबाट पृथ्वी चोक पुग्यौं । हामीलाई छोड्न दिदी र भिनाजु आउनुभएको थियो । तर बस आयो ८ः३० बजे त्यहि बेला सोध्दा ५ जना यात्रु आउन ढिला भएर ढिलो भएको रे । पछि थाहा भयो । बसमा यात्रु मिलाउन नै ढिला भएको रहेछ । धन्न यो बसले यात्रु कुर्दाेरहेछ । नत्र जहाजले त यात्रुलाई ५ मिनेट पनि कुर्दैन ।

बसमा म बसेको सिट पनि बिग्रेको थियो । सहचालकलाई सिटको विषयमा पनि सोधे । उनले यो विग्रिएको छ, दसैंमा कुदेको कुदै गर्दा बनाउन नसकिए बताए । रिमोट कन्ट्रोलबाट चल्ने सिटको रिमोट नै बिग्रेछ । म जस्तो सिट थियो त्यस्तै सिटमा आए । न अघि, न पछि सर्यो त्यो सिट ।

यति मात्र भए पनि यो ब्लग लेख्ने जाँगर आउने थिएन् । प्रचार गर्दा सिटमा नै फुड टेवल भनिएको थियो । त्यो कुरा मैले लिएको टिकटमा पनि छ । तर सिटमा त केको फुड टेबल हुनु नी । खल्ती पो थियो । बसमा बस होस्टेसले एक पटक तातोपानी ल्याउँदा चिनियाँ पर्यटकको र मलाई पर्ने गरी खसालिन् । यो उनको गल्ती थिएन । घुम्ती र खाल्डाखुल्डी भएको बाटोमा सन्तुलन मिलेन । तर यो एक पटक मात्र भएन । तीन पटकसम्म दोहोरियो । विचमा बस होस्टेस परिवर्तन भइन् । अर्काे आइन् । उनले पनि खसालिन् । सायद फुड टेबल भएको भए । यस्तो हुने थिएन होला ।

बसमा प्रचार गरिएजस्तो र टिकटमा लेखिएको जस्तो वास बेसिन पनि थिएन । न त बसमा रहेको घन्टीले नै काम गथ्र्याे । स्पिकरबाट झ्यार झ्यार आवाज आउँदा त्यस विषयमा कुरा गर्नका लागि बसको सिलिङतिर रहेको बेल बजाउन खोज्दा नबजेर चिनियाँ पर्यटकले आफ्नो थिचेर बोलाइदिइन् । बसमा एसी चलिरहेपछि बन्द गर्न नमिल्ने रहेछ । बन्द गर्दा सबै बन्द हुने । आफ्नो सिटमाथीको अफ गर्न नमिल्ने । चिसो आइरहँदा समस्या हुन्छ । अझ हामीसँग त ५ महिनाको बच्चा पनि थियो । बच्चाका लागि त यो बसको यात्रा आरामदायी हुनै सक्दैन । मेरो श्रीमतीलाई वान्ता लाग्यो । बान्ता पोलिथिनमा गरेपछि त्यो फाल्न मिलेन । किनकी झ्याल खोल्न बन्द गर्न नमिल्ने खालको रहेछ । सानो सानो पोलिथिनमा बान्ता गरेर ठूलो पोलिथिनमा जम्मा गरेपछि बस रोकेको बेलामा फाल्यौं । उनले बान्ता गरेपछि बस होस्टेस्ले पटक पटक आएर सोध्ने काम भने गरिन् । औषधी पनि दिइन् ।


पोखरा आएको भोलीपल्ट टिकट नभएर पर्सीपल्टको टिकट त्यो पनि नभएर अन्तिम २० र २१ को सिटमा चढेर आएको सोचेभन्दा फरक भयो जगदम्बाको यात्रा । टिकटमा सिट चार्टमा २० र २१ फरक फरक स्थान उल्लेख रहेछ । यहि विषयमा मैले दिदीसँग कराउनुप¥यो । टिकट नहेरी लिएको भन्दै तर हामीलाई एउटा बसको टिकट दिएर अर्काे बसमा चढाउने काम भएछ । त्यो पनि पुरा पैसा लिएर आधाभन्दा बढि सुविधा नदिएर ।


झन्डै जहाजको ग्रिन फेयरको मूल्य बराबर टिकट रहेको बसमा चढेर काठमाडौं आउन साढे १० घन्टा लाग्यो । गल्लीजस्तो हाइवे, त्यसैमाथी खाल्डाखुल्डी र जाम । बस भएर मात्र नहुने सडक पनि हुनुपर्छ । त्यसैले यस्तो सडकमा महँगो टिकटमा यात्राको उपलब्धी मैले देखिन । अरु पर्यटक बसमा पनि वाइफाइ हुन्छ, आरामदायी सिट हुन्छ, भित्र भिडियो हुन्छ, एसी हुन्छ तर टिकट मूल्य ७ सयदेखि एकहजार छ । जगदम्बाले २ हजारको सन्तुष्टी भने दिएन् ।

प्लेनमा एयर होस्टेसले जस्तै बसमा बस होस्टेसले विभिन्न सुचना उद्घोष गर्छिन् । विहानको खाजा, चिया, कफी र दिउँसोको खानाको सुविधा त छ तर यी बाहेक अरु प्रचार र उल्लेख गरिएको सुविधा उपलब्ध नभएपछि यात्रा धेरै खल्लो लाग्यो । बरु जहाजमा नै आएको भए भन्ने थकथकी भने लागिरह्यो ।

    प्रकाशित मिति : Saturday, October 15, 2016

    अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

    हामीलाई फलो गर्नुहोस् :

    प्रतिकृया दिनुहोस्

    ,

    Loading...