शिक्षकदेखि डाक्टरसम्मका बा–आमा वृद्धाश्रममा
Powered by Blogger.
शिक्षकदेखि डाक्टरसम्मका बा–आमा वृद्धाश्रममा

पन्ध्र–बीसवटा सिँढी बल्लतल्ल उक्लिएर घाम ताप्न ढुंगामाथि टुसुक्क बसेका ९० वर्षीय बा भन्नुहुन्छ, ‘जीवन कागतीजस्तै हो, रस छउन्जेल चुस्ने अनि रस सकिएपछि मिल्काउने ।’ यो कुनै कथा लेख्न तानिएको काल्पनिक वाक्य होइन, पशुपति वृद्धाश्रमभित्र भेटिएका सिन्धुपाल्चोक बाह्रबिसेका ९० वर्षीय मेरमान खड्काले दिएको जीवनको परिभाषा हो । छोराछोरी, श्रीमान् वा श्रीमतीबाट अपहेलित भएर तथा कोही आफन्त नभएर पशुपति वृद्धाश्रममा आइपुगेका एक सय ९५ जना वृद्धवृद्धामध्ये अधिकांशले जीवनबारे दिने परिभाषा मिल्दोजुल्दो छ । उनीहरू जीवनको सबैभन्दा ठूलो कुरा मायामोह भएको बताउँछन् । पश्चिम क्षितिजमाथि पुगेको घाम जति प्रिय हुन्छ, हाम्रा बा–आमा पनि त्यति नै प्यारा हुन्छन् । तर, कतिपय सन्तानले यो बुझ्न नसक्दा वृद्धाश्रममा जीवनलाई परिभाषित गर्दै र विगत लुकाउँदै डुब्न लागेको घामजस्तै मुस्कुराइरहेका छन् वृद्धवृद्धाहरू ।

डाक्टर र कम्पनी : मेनेजरका बा वृद्धाश्रममा
बाह्रबिसेबाट वृद्धाश्रम आइपुगेका मेरमान खड्का भूपू नेपाली सेना हुन् । उनले इन्डियन आयल कर्पोरेसन आइओसीमा पनि पेन्सन पकाएका छन् । नेपाल र भारतको दोहोरो पेन्सनवाला उनै वृद्ध वृद्धाश्रममा शरण लिन आइपुगेको ६ वर्ष भयो । खड्काका अनुसार उनका जेठा छोरा दिल्लीमा पानपराग कम्पनीका मेनेजर छन् । डाक्टर रहेका कान्छा छोरा आमासहित अस्ट्रेलियामा छन् । सबै सम्पत्ति छोरा र श्रीमतीको नाममा गएपछि श्रीमतीसँगको झगडाले वृद्ध खड्का एक्लिन पुगेका हुन् । उनी भन्छन्, ‘बूढी बहुलाएर यस्तो भो, छोराछोरीले पनि आमाको कुरा पत्याएपछि म बूढो यहाँ नआएर कहाँ जानु ?’

सौतासँग मिलेर श्रीमानले निकालेपछि
सरकारले सञ्चालन गरेको एक मात्र पशुपति वृद्धाश्रमको मुख्य भवनमा डेढ वर्षअघिको भूकम्पले क्षति पु¥याएपछि त्यसकै छेउछाउमा जोखिमयुक्त भौतिक संरचनामुनि एक सय वृद्धा र ९५ वृद्धले दिनरात कटाइरहेका छन् । दक्षिणपूर्वी क्षेत्रको सार्वजनिक शौचालय छेउको चेपबाट भित्र पसेपछि भेटिने लामो घामपानी सहेका यी अनुहारमा जीवन पढ्न पाइन्छ । लथालिंग भौतिक संरचनासँग आड लागेर उनीहरू मुस्कुराइरहेका हुन्छन् । नयाँ मानिस त्यहाँ पुग्दा केही मीठो खाना वा दुई–चार पैसाको आसमा उनीहरू हेराहेर गर्छन् । केही दिए पनि, नदिए पनि मुस्कुराइरहेका बा–आमाहरू सोधीखोजी गर्न थाल्छन् ।

कथाजस्तो लाग्ने वास्तविकता बोकेका धेरै बा–आमा त्यहाँ छन् । दोलखा चरिकोटकी ७३ वर्षीया मनमाया न्यौपानेका पनि सन्तान नभएका होइनन् । दुई छोरीकी आमा मनमाया वृद्धाश्रम आएको चार वर्ष भयो । श्रीमान्ले कान्छी श्रीमती ल्याएपछि उनका दुःखका दिन सुरु भए । दैनिकजसो श्रीमान्को कुटाइ तथा सौताको गाली उनले धेरै वर्ष सहिन् । छोरीहरू पनि विवाह गरेर आ–आफ्नो घर लागे । त्यसपछि त झन् उनी सहाराविहीन भइन् । ‘रक्सी त खाँदैनथे, उनकी प्यारीको कुरा सुन्दै मेरो घरबाट निक्लिहाल्, निक्लिनस् भने मार्दिन्छु भन्थे,’ विगत सम्झिएर भक्कानिँदै मनमाया भन्छिन्, ‘गाउँलेले पनि जेठी ढोकामा दह्रो गरी आग्लो लगाएर सुत है, मार्छ यसले भन्थे । 

छोरीहरूले त हेर्थे नि, के गर्नु नानी, अर्काको छोराले देखिसहेनन् ।’ सौताका तीनजना छोरा छन् । उनीहरूले हेला नगरे पनि श्रीमान् र सौता मिलेर उनलाई बस्न दिएनन् । दिनरात बाले आमा कुटेको थाहा पाएपछि छोरीहरूले मनमायालाई पालैपालो पाल्ने निर्णय गरे । भएका दुईवटा बाख्रा जेठी छोरीकोमा छोडेर जेठा छोरा दिल्लीमा पानपराग कम्पनीका मेनेजर छन् । डाक्टर रहेका कान्छा छोरा आमासहित अस्ट्रेलियामा छन् । सबै सम्पत्ति छोरा र श्रीमतीको नाममा गएपछि श्रीमतीसँगको झगडाले वृद्ध खड्का एक्लिन पुगेका हुन् । 

मनमाया पालैपालो कहिले जेठी त कहिले कान्छी
छोरीकोमा बस्न थालिन् । कान्छा ज्वाइँले पनि रक्सी खाएर आउने र छोरी कुट्ने गरेपछि उनलाई खपिनसक्नुभयो । उनी भन्छिन्, ‘रक्सी खाएर ज्वाइँले छोरी कुट्छन्, छोरी क्वाँ –क्वाँ रुन्छे, अनि छोरीको आँसु हेर्दै मैले कसरी खानु नानी ?’ यति भनिनसक्दै मनमायाका आँखा रसाए । त्यसपछि वृद्धाश्रम जाने सोच बनाइन् मनमायाले । गाविसको सिफारिसमा पनि आफन्त छन त छन्, तर हेरचाह गरेनन् भन्ने लेखिदिएपछि उनी वृद्धाश्रममा बस्न पाइनन् । कारण, वृद्धाश्रममा बस्न पालनपोषण गर्ने छोराछोरी नभएको र आफ्नो नाममा चलअचल सम्पत्ति केही पनि नभएकोलगायतका प्रावधान छन् । त्यसपछि उनी गाविसको सिफारिस बदर गरेर कान्छी छोरी बस्दै आएको कोटेश्वर वरिपरिको बसोवास उल्लेख गरी कोही नभएको भनेर फेरि सिफारिस बनाइन् र वृद्धाश्रम आइपुगिन् । वृद्धाश्रम आइपुगेपछि करिब एक वर्षजति बाँच्ने अनुमान गरेकी मनमायाले चारवटा दसैँ मनाइसकिन् । उनी भन्छिन्, ‘स्वर्ग ठाउँमा आइगएँ । मलामी को जाला भन्नुपर्दैन । सरकारले आर्यघाट लगेर पोल्दिन्छ ।’

शिक्षकका बा वृद्धाश्रममा
मनमायाजस्तै उमेर छउन्जेल घाँस–दाउरा, मेलापात र उकाली–ओराली गरेका, तर उमेर ढल्किँदै गएपछि आफन्तबाट अपहेलित भएर वृद्धाश्रम पुगेकाहरू धेरै भेटिन्छन् । उनीहरू सबैका फरक–फरक कथा छन्, तर निष्कर्ष उस्तै देखिन्छ । मुलुकका विभिन्न क्षेत्रबाट वृद्धाश्रममा आएझैँ काठमाडौं उपत्यकाभित्रैका पनि वृद्धवृद्धा पशुपति वृद्धाश्रममा छन् । सुन्दरीजलका ९६ वर्षका चन्द्रबहादुर अधिकारी वृद्धाश्रम आएको वर्षाैँ भइसक्यो । उनका छोरा गागलफेदीमा अध्यापन गराउँछन् । वृद्धाश्रममै बस्दै आएका भक्तपुर कमलविनायकका ७५ वर्षीय रत्नभगत श्रेष्ठको पनि अनौठो कहानी छ । श्रीमतीले काम गर्ने ठाउँको मालिकसँगको शारीरिक सम्बन्धबाट बच्चा जन्माइन् । उनले बच्चा जन्माएलगत्तै सिमेन्टको खाली बोरामा बच्चा राखेर मिल्काइदिइन् । त्यसपछि रत्नभगतले श्रीमती छोडिदिए । त्यसपछि उनले अरू दुईवटी श्रीमती पनि भित्र्याए । उनीहरू पनि नबसेपछि रत्नभगत एक्लै भए । जिल्ला अदालतमा करिब दुई वर्ष जागिर खाएर छाडेका उनी आफन्तबाटै ठगिए । उनी भन्छन्, ‘कान्छाबाउले सम्पत्ति खायो । मेरो सराप लागेर चाँडै मरो । मुद्दा हाले पनि आफूलाई काम लाग्ने मान्छे कोही नहुने । जो पनि खान मात्र खोज्छ ।’ भक्तपुरकै आफन्तविहीन हरिभक्त श्रेष्ठ पनि वर्षौँदेखि वृद्धाश्रममै छन् ।

स्वर्ग जाने आसमा पशुपति वृद्धाश्रम
सम्पत्ति तथा सन्तान हुँदाहुँदै पनि स्वेच्छाले वृद्धाश्रम आउनेहरू पनि छन् । पशुपति नजिकै रहेकाले धार्मिक आस्थाले समेत कतिपय वृद्धवृद्धालाई त्यहाँसम्म डोहोर्‍याएकाे छ । बाँसबारी काठमाडौंका अमृतानन्द स्वामीका छोराछोरी कोही अमेरिका त कोही जापानमा छन् । उनी छोराछोरीको बेवास्ताले वृद्धाश्रम आएका होइनन् । बरु महँगो मोबाइल बोकेका उनी इच्छा लागेको समयमा छोराछोरीसँग फोनमा कुराकानी गर्छन् । नेपाल आउँदा छोराछोरीले पनि उनीसँग भेट गर्छन् । उनकी श्रीमतीको निधन भएको १८ वर्ष भयो । उनी भन्छन्, ‘तीर्थव्रत सबै डुलिसकेँ । अब भगवान् पशुपतिनाथको छेउमा बस्छु । पहिले देवघाट पनि बसेँ, भगवान्कै छेउमा बस्दा स्वर्ग जान पाइन्छ कि भनेर नि ।’

अविवाहित लक्ष्मीआमा
पुरानो बानेश्वरबाट वृद्धाश्रम पुगेकी ८४ वर्षीया लक्ष्मीदेवी थापालाई सबैले लक्ष्मीआमा भनेर चिन्छन् । तर, उनी वास्तविक जीवनमा कहिल्यै छोराछोरीकी आमा भइनन् । अविवाहित लक्ष्मीले उमेर छउन्जेल अरूको घरको काम गर्दै बिताइन् । उनका आफन्त सबै १९९० सालको भूकम्पमा परेर बिते । उनी सानैदेखि अर्काको घरमा हुर्किइन् । १६ वर्ष भयो उनी वृद्धाश्रम बस्न थालेको । कति पढ्नुभयो भन्ने प्रश्नमा उनी हाँस्दै भन्छिन्, ‘कति पढ्नु नि, बिहान एक थाल बेलुका एक थाल ।’ अनि विवाह किन नगरेको भन्ने प्रश्नमा थप्छिन्, ‘उसवेलामा अल्लारे पन, आँट्यो हन्डर खान भनिन्थ्यो । दुःख बिसाउन के बिहे गर्नु भन्ने सोचियो बाबु त्यसवेला ।’

टहरोमुनि वृद्धवृद्धा
पशुपति वृद्धाश्रमका कतिपय वृद्धवृद्धा स्विटर, टोपी बुनेर तथा धागोको बत्ती कातेर बेच्ने गर्छन् । त्यसबाट आएको पैसाले उनीहरू खान मन लागेको कुरा खाने बताउँछन् । विभिन्न संघसंस्था तथा व्यक्तिले महिनाका धेरैजसो दिन वृद्धवृद्धालाई खाना खुवाउँछन् । तैपनि सरकारले वृद्धाश्रमका लागि सबैभन्दा बढी खाद्यान्नकै लागि बजेट छुट्याउने गरेको छ । सरकारले वर्षमा चैतेदसैँ र ठूलोदैँको आसपास त्यहाँका वृद्धवृद्धालाई दुई जोर कपडा दिन्छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गतको यस वृद्धाश्रमको धेरै बजेट अन्य सेवाशुल्कमा जाने वृद्धाश्रमका प्रशासन प्रमुख कृष्ण कडोलले बताए । उनका अनुसार पशुपति वृद्धाश्रममा १८ जना करार कर्मचारी छन् । भान्से, टहलुवा तथा सुसारेजस्ता श्रेणीविहीन कर्मचारी धेरै छन् । उनीहरूले न्यूनतम मासिक १६ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । आन्तरिक खर्चमै बढी बजेट जाने भएकाले एक मात्र सरकारी वृद्धाश्रमको भौतिक संरचना डरलाग्दो छ ।

भूकम्पले क्षति पुर्‍याएपछि सानो टहरो बनाएर वृद्धवृद्धालाई राखिएको छ । वृद्धाश्रमलाई केही वर्षभित्र गोठाटारमा दश रोपनी जग्गामा सर्ने र पाँच सयजना अट्न सक्ने क्षमताको अत्याधुनिक भवन बन्ने प्रशासन प्रमुख कडोल बताउँछन् । भौतिक संरचना भत्किएदेखि सरकारले वृद्धाश्रममा अरू वृद्धवृद्धा राखेको छैन । नयाँ भवन बन्न पनि अझै केही वर्ष लाग्ने देखिन्छ । एक मात्र सरकारी वृद्धाश्रममा सरकारको ध्यान नजाँदा अव्यवस्थित टहरोमुनि वृद्धवृद्धाले कष्टपूर्ण जीवन बिताउनुपरेको छ । अर्कोतर्फ समाजमा एक्लिएका र आफन्तबाटै अपहेलित वृद्धवृद्धाले आश्रम आउन पाएका छैनन् ।-  नयाँ पत्रिकाबाट 


Published Date : Saturday, March 18, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...