×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्वाचनमा मतदातालाई अत्याधुनिक परिचयपत्र

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको व्यवस्थाअनुसार मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदाता नामावलीमा रहेका करिब एक करोड ४० लाख मतदाताले नयाँ व्यवस्थाअनुसारको मतदाता परिचयपत्र प्राप्त गर्नेछन् ।

मतदाता परिचयपत्र छपाइका लागि तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार केही दिनभित्रै परिचयपत्र छपाइ थालिनेछ । तर, आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले मतदाता नामावली टुंगो लागेपछि मतपत्र छपाइको काम सुरु हुने बताए । नयाँ पत्रिकामा खबर छ । 
आयोगले ०७० को निर्वाचनमा परिचयपत्र सामान्य प्रकृतिको बनाएको थियो । सामान्य छापाखानामा छपाएर वितरण गरिएको थियो । तर, अहिले सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर आधुनिक प्रकृतिको छपाइ गर्न लागिएको छ ।

मतदातापत्र छपाइमा १४ करोड 



स्थानीय तहअनुसार नयाँ मतदाता परिचयपत्र छपाइ गर्न करिब १४ करोड रुपैयाँ लाग्नेछ । अहिले करिब एक करोड ४० लाख मतदाता छन् । सुरक्षा चिह्नसहितको मतपत्र भएकाले प्रतिगोटा छपाइमा १० रुपैयाँ लाग्ने आयोगले जनाएको छ । परिचयपत्रमा फोटो, क्युआरकोड, माइक्रोटेक्स्ट, ट्यान्टोग्राफ, वाटरमार्क, भ्वाइड पेन्टोग्राफ र सिल लेमिनेसन हुनेछ । ०७० को संविधानसभामा फोटोसहित सामान्य कागजमा परिचयपत्र छपाइ भएको थियो ।

भारतबाट गाडी धेरै ल्याइने 



निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीमध्ये सवारीसाधन भने भारतबाट मात्रै ल्याउने भएको छ । भारतबाट माग गरिएका सवारीसाधनमा डबल क्याब पिकअप गाडी सबैभन्दा बढी ४५ वटा ल्याउने तयारी गरिएको छ । स्कोरपियो गाडी सातवटा ल्याउने तयारी भएको छ । पहाडी क्षेत्रमा प्रयोग गर्न ३० वटा मोटरसाइकल र स्कुटर भने सातवटा ल्याइने भएको छ । निर्वाचन आयुक्तले कार्यालय प्रयोजनका लागि उपयोग गर्नेगरी एउटा गाडी ल्याउन लागिएको आयोगले जनाएको छ । यसबाहेक निर्वाचनका लागि प्रयोग गर्न मसी र छेकाबार पनि भारतबाट ल्याउन लागिएको छ ।

चीनबाट खुद्रा सामग्री बढी ल्याइँदै



निर्वाचन आयोगले चीनबाट ल्याउन लागेका सामग्री भने बढी खुद्रा प्रकृतिका छन् । ग्लुस्टिक, पेन, स्ट्याम्पप्याड, टेबल घडीजस्ता सामान चीनबाट ल्याउन लागिएको आयोगले जनाएको छ । चीनबाट ११ प्रकृतिका सामग्री ल्याउँदै छ । तर, ती सबै सामग्री चीन सरकारको तर्फबाट अनुदानमा प्राप्त हुनेछन् । आयोग स्रोतका अनुसार निर्वाचनमा छिमेकी मुलुकको सहायता पनि छ भन्नका लागि मात्रै चीन र भारतबाट यस्ता सामग्री ल्याउन लागिएको हो ।

चीनबाट ल्याउन लागिएका सामग्री
जेलपेन (कालो) २७५०० प्याकेट
जेलपेन (रातो) २७५०० प्याकेट
स्केल (स्टिल) ५५००० पिस
सिजर २७५०० पिस
ग्लुस्टिक २७५०० पिस
क्यालकुलेटर २७५०० पिस
पनिचङ मेसिन २७५०० पिस
स्ट्याम्प प्याड १६५००० पिस
स्ट्याम्प प्याड इन्क ८२५०० पिस
रबर म्याट ५५००० पिस
टेबल घडी २७५०० पिस

भारतबाट ल्याउन लागिएका सामग्री
कार (आयुक्तको प्रयोगका लागि) १
स्कारपियो जिप ७
सेडन कार ४
मोटरसाइकल ३०
स्कुटर ७
डबल क्याब पिकअप ४५
मिनीबस १
माइक्रोबस १
नउड्ने पक्का मसी
छेकाबार
रबर म्याट


युएनडिपीले पनि सहयोग गर्ने 



निर्वाचन सहायता कार्यक्रमअन्तर्गत युएनडिपीले निर्वाचन आयोगलाई केही लजिस्टिक सामान सहयोग गर्ने इच्छा राखेको छ । युएनडिपीले कम्प्युटर र निर्वाचन अधिकृतका लागि झोलाजस्ता सामग्री सहायता गर्न खाजेको छ । तर, आयोगले सामान्य सहयोग नलिने सोच बनाएको छ । युएनडिपीका सामान्य सहयोग लिने कि नलिने भनेर पनि आयोगमा छलफल चलेको छ । मतदाता शिक्षाका लागि सञ्चालन गरिने तालिम कार्याक्रमका लागि भने आइफेसले ३ करोड रुपैयाँ सहायता गर्दै छ ।

काठमाडौंमा सबैभन्दा लामो र मनाङमा छोटो मतपत्र



-निर्वाचन आयोगले ५ चैतबाट छपाइ सुरु गर्ने गरी ६ प्रकारका मतपत्रको ढाँचा टुंगो लगाएको छ । जिल्लामा क्रियाशील दलको संख्याका आधारमा मतपत्रको ढाँचा तयार भएको आयोगका प्रवक्ता सूर्यप्रसाद सुवेदीले जानकारी दिए । सात दल सक्रिय रहेको मनाङमा सबैभन्दा सानो मतपत्र हुनेछ भने सबैभन्दा धेरै ४५ दल सक्रिय रहेको काठमाडौंमा सबैभन्दा लामो मतपत्र हुनेछ ।
-धेरै दल भएका काठमाडौं, पर्सा, सर्लाहीलगायतका जिल्लाका लागि तयार गरिने मतपत्र ७५ सेन्टिमिटरको हुनेछ । मतपत्रमा सेतोमा रातो रङका चुनाव चिह्न हुनेछन् । मतपत्र करिब १ करोड ५४ लाख छाप्ने तयारी छ । मतपत्रमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला, खुला दुई सदस्यको छुट्टाछुट्टै कोठा गरी तेर्सो लाइनमा सातवटा पदका लागि निर्वाचन चिह्न राखिने भएको छ । ती सात पदका लागि मतदाताले मतदान गर्नुपर्नेछ ।

यसपालि आयोगले विदेशी सहायता माग्दैन, इला शर्मा, आयुक्त, निर्वाचन आयोग 



सरकारले आयोगलाई आवश्यक बजेट उपलब्ध गराउने भनिसकेको छ । त्यसैले सकेसम्म स्थानीय तहको निर्वाचनमा विदेशी सहायता नमाग्ने सोचमा आयोग छ । सांसदहरूले पटक–पटक विदेशी सहयोगका भरमा ऐनको मस्यौदा गर्नेसम्मको काम भएको भन्दै प्रश्न उठाएका थिए । अब निर्वाचन आयोग सकेसम्म विदेशी सहयोग लिँदैन । नेपालले आफैँ निर्वाचन खर्च जुटाउन सक्छ । अब अति आवश्यक र अनिवार्यबाहेक दातृनिकायसँग सहयोग माग्दैनौँ । कतिपयसँग बाध्यताले सहयोग लिनुपर्ने हुन्छ । अहिलेको निर्वाचनमा आयोगले काम गर्न नसक्ने र नभ्याएका सानातिना काममा मात्रै दातृनिकाय सहभागी हुनेछ ।
चुनाव चिह्नको मर्यादाक्रम टुंगियो
-निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने दलको चुनाव चिह्नको मर्यादाक्रम पनि टुंग्याएको छ । ०७० मा संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा दलको मर्यादाक्रम तय गरिएको छ । सोही क्रमअनुसार मतपत्रमा निर्वाचन चिह्न राखिनेछ ।

-आयोगले तय गरेको आधारमा निर्वाचन चिह्न राख्दा पहिलोमा कांग्रेसको रूख, दोस्रोमा एमालेको सूर्य, तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा र चौथोमा राप्रापाको गाई निर्वाचन चिह्न हुनेछन् । यही क्रममा संसद्मा प्रतिनिधित्व गर्ने ३१ दलको निर्वाचन

चिह्न हुनेछन् भने निर्वाचन आयोगमा दर्ता भएका दलहरूको निर्वाचन चिह्न दर्ताअनुसार हुनेछन् । दलहरूको निर्वाचन चिह्न सकिएपछि मात्र मतपत्रमा स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्न राखिनेछ ।



मतदान केन्द्र १० चैतमा तोकिने


-निर्वाचन आयोगले १० चैतमा मतदान केन्द्रको टुंगो लगाउने तयारी गरेको छ । आयोगले देशभर करिब १० हजार १३ वटा मतदान केन्द्र र २१ हजार मतदानस्थल रहन सक्ने अनुमान गरेको छ । ०७० को संविधानसभा निर्वाचनमा १८ हजार मतदान केन्द्र थिए ।
-संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिका र नगरपालिकाको वडा संख्या निर्धारण गरेपछि आयोगले मतदान केन्द्र तोक्न लागेको हो । ७ सय ४४ वटा स्थानीय तहमध्ये गाउँपालिकामा ३ हजार ४ सय ३० वडा र नगरपालिकामा २ हजार ८ सय ४९ वडा छन् । उपमहानगरपालिकामा २ सय ७८ र महानगरपालिकामा १ सय २३ वडा छन् । त्यसैअनुसार मतदान केन्द्र तोकिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: