×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालका यी कम्पनी जसले दिन्छन् लोभलाग्दो तलव सुविधा

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
नेपालमा रोजगारीका अवसर कम छ, अवसरहरु कम छ, जागिर भएपनि तलव कम छ, भनेर गुनासो गर्नेहरुको संख्या निकै नै बढी छ र यो धेरै अर्थमा साँचो पनि हो । तर नेपाल भित्रै यस्ता केहि कम्पनीहरु वा संघसंस्थाहरु छन्, जसले आफ्ना कर्मचारीलाई दिने तलव निकै नै लोभलाग्दो छ। नेपालका विभिन्न क्षेत्रमा अब्बल ठहरिएका केहि कम्पनी तथा संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई तलव, सुबिधा, बोनसका नाममा राम्रो तलव सुबिधा दिने गरेका छन् ।


कर्पोरेट क्षेत्रमा एनसेल: 
नेपाली कर्पोरेट क्षेत्रमा आफ्ना कर्मचारीहरुलाई सबैभन्दा बढी तलव दिने संस्था हो एनसेल । एनसेलमा तल्लो तहदेखि उपल्लो तहसम्म काम गर्ने कर्मचारीको तलव निकै नै लोभलाग्दो छ । एनसेलमा ’कस्टुमर केयर’ देखि ब्यबस्थापकसम्म सबैको तलव निकै नै लोभलाग्दो छ । एनसेलमा ’कस्टुमर केयर’मा दैनिक ३ घण्टामात्र काम गर्नेको औसत मासिक कमाइ १८००० भन्दा माथि छ । जवकी १८००० कमाउन ’फुलटाइम’ काम गर्नुपर्ने कम्पनीहरु नेपालमा निकै नै बढी छन् । 
अझ एनसेलमा उपल्लो तहका कर्मचारीहरुको तलव झन् लोभलाग्दो छ। वित्तीय व्यवस्थापन, बजार ब्यबस्थापन, लेखा लगायतका विभागका प्रमुखहरुले एनसेलमा निकै राम्रो कमाइ गर्छन् । उनीहरुको तलव विभाग हेरेर १ लाख देखि ३ लाखसम्म छ भने अरु थुप्रै सुविधाहरु पनि कम्पनीले दिएको छ । कम्पनीले बाँढ्ने बोनसको रकम अझ मोटो हुने गर्दछ । यसरी कम्पनीले दिएको सम्पूर्ण रकम र सुविधाहरुको हिसाव गर्ने हो भने नेपालमा कर्पोरेट क्षेत्रमा सबैभन्दा राम्रो तलव दिने कम्पनी एनसेल रहेको सरोकारवालाहरु बताउँछन् । 
बैंकिङ क्षेत्रमा स्ट्याण्डर्ड चार्टड : 
नेपाली बैंकिंङ क्षेत्रमा आफ्ना कर्मचारीहरुलाई अरु बैंकहरुले भन्दा निकै नै राम्रो तलव सुबिधा दिने संस्था भनेको स्ट्याण्डर्ड चार्टड बैंक हो । यसो त बैंकलाइ राम्रो तलव सुबिधा दिने संस्थाको रुपमा चिनिन्छ । तर धेरै बैंकको हकमा पछिल्लो समय बैंकमा उपल्लो तहका कर्मचारीहरुको तलव निकै नै राम्रो भएपनि तल्लो तहका कर्मचारीएहरुको तलव औसत मात्र हुने गरेको छ । स्ट्याण्डर्ड चार्टड बैंकमा भने तल्लो तहमा काम गर्ने कर्मचारीहरुको तलव सुबिधा पनि निकै राम्रो छ । 
स्ट्याण्डर्ड चार्टड बैंकमा सीईओको बार्षिक तलव २ करोड हाराहारीमा छ भने सीईओलाइ दिईने अन्य सुबिधाहरु पनि निकै राम्रो छ । स्ट्याण्डर्ड चार्टड बैंकमा काम गर्ने ट्रेलरको तलव पनि ३० हजार हाराहारीमा छ । बैंकमा ब्यबस्थापन तहमा काम गर्ने कर्मचारीको तलव पनि निकै लोभलाग्दो छ । विभिन्न विभागका ब्यबस्थापन प्रमुखहरुको तलव मासिक ३ लाख हाराहारीमा छ भने ति विभागमा काम गर्ने अन्य कर्माचारीको तलव सुबिधा पनि निकै राम्रो छ । 
होटल क्षेत्रमा हायत रेजेन्सी : 
राम्रो तलव सुबिधा दिने संस्थाहरुमा पाँच तारे होटल पनि एक हो । होटलमध्ये पनि ’अन्तराष्ट्रिय चेन’ होटल भएकाले होटल हायत रेजेन्सीले आफ्ना कर्मचारीहरुलाई दिने तलव सुविधा निकै नै राम्रो छ । व्यवस्थापन विभागतर्फ काम गर्ने कर्मचारीहरुको औसत तलव झन्डै ४ लाखभन्दा माथि छ भने होटलमा काम गर्ने कुक, वेटर, हाउसकीपीङमा काम गर्ने कर्मचारी र अन्य कर्मचारीहरुले नेपालका नयाँ होटलको तुलनामा निकै राम्रो तलव पाउने गरेका छन् । अझ होटलको क्यासिनोमा कार्यरत कर्मचारीहरुको तलव त झनै लोभलाग्दो छ । क्यासिनोमा काम गर्ने महिला, बार टेन्डरहरुको तलव पनि बोनस सहित झन्डै लाख रुपियाँ मासिक हुन आउँछ । होटल तथा क्यासिनोमा भने पाहुनाहरुले दिने टिप्स बढी हुने भएकाले र त्यसमा पनि बढी बिदेशी मुद्रा हुने हुनाले कुल तलव बढी आएको हो ।
गैर सरकारी संस्थाहरुमा ’सेभ द चिल्ड्रेन’ : 
नेपालमा काम गर्ने विभिन्न गैर सरकारी संस्थाहरुमध्ये सबैभन्दा राम्रो तलव सुबिधा दिने गैर सरकारी संस्था भनेको ’सेभ द चिल्ड्रेन’ हो । यस संस्थामा काम गर्ने सवारी चालकदेखि लेखा अधिकृत, वा प्रोजेक्ट ब्यबस्थापकसम्मको तलव निकै नै लोभलाग्दो छ । ’मैले सेभ द चिल्ड्रेनमा कम्प्युटर अपरेटर भएर एक बर्ष काम गरें । मेरो औसत मासिक तलव झन्डै ९०,००० थियो । ’ सेभ द चिल्ड्रेनका एक भूपु कर्मचारीले राटोपाटीलाइ बताए । उनका अनुसार, लेखा, लेखापरिक्षण, प्रोजेक्ट संचालन जस्ता विभागमा काम गर्ने सामान्य कर्मचारीको मासिक तलव नै १ लाखभन्दा माथि हुन्छ भने संस्थामा काम गर्ने उपल्लो तहका कर्मचारीहरुको तलव मासिक ४ लाखभन्दा बढी हुन्छ । आफु हाल अर्को एक गैरसरकारी संस्थामा काम गरेको बताउने उनले नेपालमा गैरसरकारी संस्था मध्ये सबैभन्दा बढी तलव दिने संस्था सेभ द चिल्ड्रेन भएकोमा दुइ मतनै हुन नसक्ने जिकिर गरे । 
शिक्षा क्षेत्रमा चेल्सी इन्टरनेश्नल : 
नेपाली सिक्षा क्षेत्रमा निकै नै राम्रो तलव सुविधा दिने संस्थाहरुमध्ये काठमाडौँको चेल्सी इन्टरनेश्नल स्कुल तथा कलेज अगाडी आउँछ । हुन त काठमाडौँका सेट जिभियर्स, सेट मेरिज, जेम्स, लिटिल एन्जल्स, राइ इन्टरनेशनल, मोर्डन इन्डियन लगायतका संस्थाहरुले पनि आफ्ना कर्मचारीहरुलाई निकै नै राम्रो तलव सुबिधा दिने गरेका छन् । तर ति संस्थाहरुमध्ये पनि चेल्सीले आफ्ना कर्मचारीहरुलाई दिने तलव बढी छ । चेल्सीमा कर्मचारीहरुले पाउने तलव बाहेकका सुविधाहरु पनि अरुको तुलनामा बढी छ । चेल्सीमा ’फुलटाइम’ अध्यापन गराउने शिक्षकको तलव नै बार्षिक रुपमा बोनस सहित हिसाव गर्ने हो भने मासिक झन्डै लाख रुपैयाँभन्दा माथि आउँछ । चेल्सीमा अन्य विभागमा काम गर्ने कर्मचारीको पनि तलव निकै नै राम्रो छ । 

मेडिकल क्षेत्रमा नर्भिक : 
अस्पतालमा काम गर्ने कर्मचारी शैक्षिक तथा दक्ष जनशक्ति बढी हुनाले पनि अस्पतालका कर्मचारीहरुको तलव सुबिधा राम्रो हुने गर्दछ । त्यसमा पनि ओम, नर्भिक, बिएण्डबि लगायतका अस्पतालहरुमा आफ्ना कर्मचारीहरुलाइ निकैनै राम्रो तलव सुविधा दिने गरिन्छ । यहाँ काम गर्ने डाक्टरहरुले समेत अन्य अस्पतालमा काम गरेभन्दा बढि तलव पाउँछन् भने नर्भिकका काम गर्ने तल्लो तहका कर्मचारीहरुको तलव पनि अन्य अस्पतालको भन्दा बढि छ । 

उत्पादन क्षेत्रमा बढी तलव दिने कम्पनी धेरै : 
उत्पादन क्षेत्रमा भने राम्रो तलव दिने कम्पनीहरु भने बढी छन् । नेपालमा काम गर्ने डाबर नेपाल, सुर्य नेपाल, बरुण वेवरेज, बोटलर्स नेपाल, युनिलिभर नेपाल जस्ता कम्पनीहरुमा निकै नै राम्रो तलव सुविधा रहेको छ । यी कम्पनीहरुमध्ये पनि युनिलिभर नेपाल र डाबर नेपालमा काम गर्ने कर्मचारीहरुको तलव निकै नै राम्रो छ । यी कम्पनीहरु मध्ये सुर्य नेपाल, युनिलिभर नेपाल, र डाबर नेपालमा तल्लो तहमा काम गर्ने कर्मचारीकै तलव मासिक ३० हजारभन्दा बढी तलव हुन्छ भने उपल्लो तहका कर्मचारीहरुको मासिक औसत तलव ३ लाखभन्दा बढी हुन्छ । 
यी संस्थाहरुमा जागिर खानै गाह्रो : बढी तलव सुबिधा हुने संघ संथा तथा कम्पनीहरुमा जागिर खान गाह्रो हुनु स्वाभाविक नै हो । अझ त्यसमा पनि माथि उल्लेखित कम्पनीहरुअम जागिर खान निकै नै ठुलो पाप्पड बेल्नुपर्छ । ’नेपालमा शैक्षिक जनशक्ति बढी हुनु र त्यहि अनुसारको रोजगारीको अवसर नहुनुले हाम्रो कम्पनीमा काम गर्न खोज्नेहरुको संख्या निकै नै बढी हुन्छ । ’एनसेलमा कार्यरत एक कर्मचारीले बताए । यस्तै गैर सरकारी संस्थाहरुमध्येको एक सेभ द चिल्ड्रेनमा काम गर्न बढी अनुभवीलाइ प्राथमिकता दिईने हुनाले पनि जागिर खान गाह्रो भएको संस्थाका एक कर्मचारी बताउँछन् । 
र यस्तो पनि : 
सामान्य भुइँ सफा गर्ने कर्मचारेको तलव कति होला ? हामी सहजै अनुमान लगाउँछौ । तर भारतको हिन्दुस्थान युनिलिभर लिमिटेडमा सामस्न्य पियनको तलब लाखभन्दा बढी छ । कम्पनीमा करोड माथि तलव बुझ्ने एक सय ६९ जना प्रबन्धक छन् भने १० औं लाख मासिक तलव बुझ्ने थुप्रै छन् । यसको नेपाल साखामा काम गर्ने कर्मचारीहरुको तलव पनि अपत्यारिलो नै छ । एकिन तलव नबताउने भन्दै युनिलिभर नेपालमा तल्लो तहमा काम गर्ने एक कर्मचारीले समेत आफ्नो तलव ५० हजार हाराहारीमा हुने बताएका छन् । 
कम्पनीले कर्पोरेट दुनियाँमा चार सय भन्दा बढी सिइओ उपलब्ध गराइ सकेको युनिलिभर विश्वभर ’सिइओ फ्याक्ट्री’को रुपमा समेत चिनिन्छ । नेपाल सहित विश्वका विभिन्न देश हरुमा साखा बिस्तार गरिसकेको हिन्दुस्थान युनिलिभरले आर्थिक बर्ष २०१४÷१५ मा नौ प्रतिशतको व्यापार बृद्धि गरेको छ । कर्मचारीहरुलाई दिने सन्तुष्टी पनि कम्पनीको विस्तारको एक प्रमुख आधार रहेको बिज्ञहरुले बताएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: