×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ट्वाइलेटको आम्दानी गोलमाल

काठमाडौं – काठमाडौं महानगरपालिकामा सञ्चालित सातवटा घुम्ती शौचालय तीन महिनापछि पुनः सञ्चालनमा आएका छन् । तिर्नुपर्ने न्यून राजस्व पनि नतिरेका कारण तीन महिनाअघि बन्द भएका यी शौचालय राजस्व नतिरी खुलेको स्रोतले जानकारी दिएको खबर आजको अन्न्पूर्ण पोस्टमा छ ।
करिब ४० लाख मानिस बसोबास गर्ने महानगरपालिकामा सात घुम्ती र २७ वटा सार्वजनिक शौचालय छन् । सार्वजनिक २७ मध्ये तीनवटा निजी संस्थाले ठेक्कामा र बाँकी महानगरपालिकाका कर्मचारीले सञ्चालन गरेका छन् । महानगरपालिकाको सार्वजनिक शौचालयसम्बन्धी प्रमुख जिम्मेवारी बाबुराजा पुजारीले समालिरहेका छन् । उनी महानगरपालिकाको सफाइ विभागअन्तर्गत कुचीकारका नाइकेसमेत हुन्।
महानगरपालिकाका प्रशासन विभाग प्रमुख ज्ञानेन्द्रबहादुर कार्की, हरि कुँवरलगायत कर्मचारीको आ श्रयमा पुजारीले सार्वजनिक शौचालय मनपरी सञ्चालन गर्दै आएको स्रोतको दाबी छ । ‘राजस्व तिरेकालाई सञ्चालन गर्न दिइन्छ । कसैले मनोमानी ढंगले सञ्चालन गर्दै आएको छ भने हामी बन्द गर्छौं र कारबाहीको दायरामा ल्याउँछौं’, प्रशासन प्रमुख कार्कीले भने ।
महानगरपालिकाको सार्वजनिक शौचालय र फोहोर व्यवस्थापनको काम गर्ने वातावरण विभागमा प्रमुख रवीनमान श्रेष्ठलाई नै सार्वजनिक शौचालय कसरी चलिरहेका छन् भन्ने थाहा छैन । ‘रत्नपार्क र कोटेश्वरबाहेक अन्यत्रका सार्वजनिक शौचालय सञ्चालकले आफूखुसी सञ्चालन गरिरहेका छन्’, उनले भने । राजस्व लिएर सार्वजनिक शौचालय सञ्चालन गर्न अनुमति दिइएको उनको दाबी छ । ‘२७ मध्ये दुईवटाको मात्रै थाहा छ । अरू कसरी सञ्चालन भएका छन्, त्यसबारे मलाई जानकारी छैन’, उनले भने।
ठेक्का दिइएका तीन सार्वजनिक शौचालयबाहेक अन्यले महानगरपालिकालाई राजस्व नबुझाएको महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले बताए । केही घुम्ती शौचालय सञ्चालकले बैंकमार्फत महानगरपालिकाको राजस्व बुझाएको स्रोतको दाबी छ । ‘सञ्चालन स्वीकृति नलिई बुझाएको राजस्वको मान्यता हुँदैन’, महानगरपालिकाको राजस्व महाशाखाका प्रमुख ध्रुव काफ्लेले भने, ‘तीन महिना बन्द हुँदा उहाँहरूले रकम बुझाउनुभएन । अहिले सञ्चालन स्वीकृतिबिना राजस्व बुझाएर मात्र शौचालय चलाउन पाइँदैन ।’
घुम्ती शौचालय भनिए पनि तीनवटा शौचालय मात्र विभिन्न ठाउँमा सर्छन्, बाँकी चार भने एकै ठाउँमा रहन्छन् । दरबारमार्ग, कोटेश्वर, सुन्धारा र बानेश्वरमा राखिएका घुम्ती शौचालय सधैं त्यहीं रहन्छन्, अन्यत्र जाँदैनन् । भीड र आवतजावत बढी हुने स्थानमा सर्वसाधारणको सहजताका लागि घुम्ती शौचालयको अवधारणा ल्याइएको हो ।
सहरी सेवा केन्द्रका नाममा सञ्चालित सार्वजनिक शौचालयमध्ये रत्नपार्कबाट वार्षिक ४७ लाख, वीर अस्पताल अगाडिबाट १३ लाख, खुलामञ्चबाट २६ लाख र कोटेश्वरबाट एक लाख रुपैयाँ राजस्व महानगरपालिकामा जम्मा भएको छ । यी तीन घुम्ती शौचालयले महानगरपालिकालाई मासिक दुई हजार एक सय रुपैयाँ राजस्व बुझाउँदै आएका छन् । शंखपार्कस्थित घुम्ती शौचालयले ६ महिनामा पाँच हजार पाँच सय रुपैयाँ मात्र राजस्व बुझाएको छ ।
महानगरपालिकाका अनुसार २७ वटा शौचालयको औसत दैनिक आम्दानी प्रतिशौचालय दुईदेखि तीन हजार रुपैयाँसम्म हुन्छ । यी शौचालयको वार्षिक आम्दानी करिब तीन करोड १५ लाख ३६ हजार रुपैयाँ छ । तर महानगरपालिकालाई भने पाँचवटा शौचालयले मात्रै राजस्व बुझाउँदै आएका छन् । वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले पनि रत्नपार्क र कोटेश्वरबाहेकका सार्वजनिक शौचालय सञ्चालकले आफूखुसी सञ्चालन गरेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: