×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंकहरुमा गाभिदै फाइनान्स कम्पनीहरु

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चुक्ता पुँजी चार गुणाले बढाउन निर्देशन दिएपछि ती संस्थाहरु चुक्ता पुँजी वृद्धिको कसरतमा छन् । खासगरी नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सबैले चुक्ता पुँजी ४ गुणा बढाउनुपर्ने व्यवस्था गरेको छ । त्यसमा वाणिज्य बैंकले अर्बमा र वित्त कम्पनीले करोडमा बढाउनु पर्नेछ । यसमा अधिकांश वाणिज्य बैंकहरु आठ अर्ब चुक्ता पुँजी नजिक देखिएका छन् भने विकास बैंकहरु पनि चुक्ता पुँजी पुर्याउने दौडधूपमै छन् । विकास बैंकका साथै वित्त कम्पनीहरुलाई पनि चुक्ता पुँजी पुर्याउनुपर्ने दबाब छ । राष्ट्रियस्तरका र एकदेखि १० जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुले ८० करोड रुपैयाँ र एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुले ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ । 
वित्त कम्पनीका लागि धेरै प्रतिष्पर्धी  
वित्तीय बजार खासगरी फाइनान्स कम्पनीका लागि निकै प्रतिष्पर्धी बनेको छ । किनभने अहिले फाइनान्स कम्पनीहरुको काम बैंकहरुले पनि गर्न थालेका छन् । त्यसैले मध्यम वा कमजोर अवस्थामा रहेका वित्त कम्पनी अब बजारमा टेका लगाएको भरमा टिक्न सक्ने स्थिति छैन । फेरी नेपाल राष्ट्र बैंकले गरेको पुँजी वृद्धि व्यवस्थामा फाइनान्स कम्पनीहरुलाई ख वर्गका विकास बैंककै हैसियतमा राखेको छ । ग वर्गका कम्पनी भएपनि वित्त कम्पनीहरुले राष्ट्र बैंकले तोकेअनुसारको चुक्ता पुँजी पुर्याउँदा ती संस्थाहरु ख वर्गका जिल्ले विकास बैंकसरह शक्तिशाली हुनेछन् । पुँजी वृद्धिको सकसमा रहेका वित्त कम्पनीहरुमा पनि पछिल्लो समय मर्जरको लहर नै चलेको छ । कतिपय फाइनान्स कम्पनीहरु एकअर्कासँग मर्जर गरी चुक्ता पुँजी पुर्याउने प्रयासमा छन् । चुक्ता पुँजी पुर्याउन नसक्ने फाइनान्सहरु ठूला बैंकमा एक्वाएर भईरहेका छन् । 
हालैमात्रै राष्ट्रिस्तरको लुम्बिनी जनरल फाइनान्स एण्ड लिजिङ कोअपरेटिभ लिमिटेडले राष्ट्रिय स्तरकै भिबोर सोसाइटी डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेको छ । तर यहाँ भने दुवै संस्था शक्तिशाली छन् । भिबोर सोसाइटी पनि अढाई अर्ब चुक्ता पुँजी पुर्याउँदै गरेको विकास बैंक हो भने लुम्बिनी जनरल फाइनान्स पनि चुक्ता पुँजीको हिसाबले अब्बल नै मानिन्थ्यो । केही महिनाअघि ललितपुरमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल फाइनान्स र भक्तपुरमा केन्द्रीय कार्यालय रहेको भक्तपुर फाइनान्सले पनि मर्जरमा जाने सहमति गरिसकेका छन् । हाल सेन्ट्रलको चुक्ता पुँजी ३० करोड २२ लाख ७८ हजार रुपैयाँ छ भने भक्तपुरको २१ करोड ८४ लाख रुपैयाँ छ । मर्जरपछि सेन्ट्रल फाइनान्सको चुक्ता पुँजी ५२ करोड ६ लाख रुपैयाँ हुनेछ । यी त हालैका केही उदाहरण मात्रै हुन्, मध्यमस्तरका धेरै फाइनान्सहरु ठुला बैंकमा गाभिसकेका छन् । कतिपयले आफुजस्तै अर्को संस्थासँग मर्जरका लागि आवेदन दिएर केन्द्रीय बैंकको स्वीकृतिको अपेक्षा गरिरहेका छन् । 
८८ फाइनान्स २८ मा खुम्चिए 
तीन वर्षअघिसम्म मुलुकमा ८८ वटा फाइनान्स कम्पनी थिए । तर अहिले ती फाइनान्स घटेर २८ वटामा झरेका छन् । यीमध्ये अझै केही मर्जर वा एक्विजिसनमा जाने क्रममा छन् भने कतिपय राष्ट्र बैंकले समस्याग्रस्त सूचीमा राखेका कम्पनीहरु पनि छन् । 
झन् झन् खुम्चिदै
नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार हाल कायम २८ वित्त कम्पनीमध्ये अझै केही घट्ने छन् । यीनीहरु विभिन्न बैंकहरुसँग मर्जरमा जाने तयारीमा छन् । फाइनान्स कम्पनीहरु अबको एकबर्षमा घटेर एकदर्जनमा आउने संकेत देखिएको छ । 
  • बैंकिङ्ग खबर 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: