मेरो प्रेमकहानी: ‘पिकनिकमा मन पराएँ, ६ महिनामै भित्राइदिएँ’
Powered by Blogger.
मेरो प्रेमकहानी: ‘पिकनिकमा मन पराएँ, ६ महिनामै भित्राइदिएँ’

काठमाडौं – सहरी विकासमन्त्री तथा कांग्रेस नेता अर्जुननरसिंह केसी स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय रहे । नेपाली राजनीतिको मूलधारमै घुमिरहने केसी प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनको राजनीति प्रायः सबैलाई थाहै छ । तर, प्रेमकहानी खासै बाहिरिएको छैन । मन्त्री केसीको प्रेमकहानी आजको नयाँ पत्रिकामा छ ।
फोटो : नयाँ पत्रिका 
स्कुल, कलेज पढ्दाको समयमै प्रेम प्रस्ताव नआएका भने होइनन् । कतिपय केटीले कवितामार्फत पनि प्रेम प्रस्ताव राखे । मैले पनि कवितामार्फत जवाफ फर्काइदिन्थेँ । तर, त्यो वेलाका यी यथार्थ केवल कथामा सीमित भए । राजनीतिक व्यस्तताले लभसबमा पछि परियो । खासै वास्ता पनि भएन, किनभने मन पर्ने केटीसँग बसेर चिया खाऔँ भने पनि फुर्सद मिल्दैनथ्यो ।

०३१ सालको अन्तिमतिर कुरा हो, उनीसँग मेरो पहिलो भेट भएको । भेट कुनै योजनामा भएको थिएन । पहिले चिनजान पनि थिएन । त्यो प्रोफेसनल भेट गराउने माध्यम थियो, परीक्षा ।

त्यतिवेला म ठमेलस्थित सरस्वती क्याम्पसमा पढाउँथेँ । प्रदर्शनीमार्गको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा आइएको परीक्षा चल्दै थियो । त्यहाँ मेरा साथी नवीनप्रकाशजंग शाह सुपरिटेन्डेन्ट थिए । उनैले मलाई परीक्षामा निरीक्षक बन्न आग्रह गरे । मैले स्विकारेँ । आरआर क्याम्पसमा परीक्षा निरीक्षक बनेर जाँदा नै उनीसँग भेट भयो । उनी पनि निरीक्षककै जिम्मेवारीमा रहिछन् । परिचयपछि नाम थाहा पाएँ, प्रतिमा थापा ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिएँ । अधिकांशको नजरमा परिचित थिएँ । अब, मिस प्रतिमाको नजरमा पनि परिचित भएँ । सँगै परीक्षा निरीक्षकको जिम्मेवारी सम्हाल्दा हल्का गफगाफ चल्यो । तत्काल परिचयभन्दा माथि उठेर गम्भीर पाटोतिर हामीहरूको सम्बन्ध गएन । त्यतिवेलासम्म मैले उनलाई एउटी लेक्चररको हैसियतमा मात्रै सोचेँ ।
०००
परीक्षा सकिएपछि केही दिनमा एउटा माहोल बन्यो । परीक्षामा सहभागी सबै निरीक्षक मिलेर पिकनिक जाने कुरा भयो । स्पटचाहिँ दक्षिणकाली छनोट भयो । त्यही पिकनिक हाम्रो सम्बन्ध गाढा बनाउने माध्यम बन्यो । चिनजान परीक्षामै भइसकेकाले मन खोलेर कुरा गर्न कुनै गाह्रो थिएन । पिकनिकमा हाम्रो गफगाफ बाक्लियो ।

पिकनिकमा गीत गाउनुपर्ने बाध्यकारी नियम, हाम्रा लागि झन् फलदायी भयो । सबैले गीत गाउनैपर्ने थियो । तर, मलाई गीत गाउनै नआउने । कविता भनेर साथीहरूमाझ जिम्मेवारी पूरा गरेँ । मिस प्रतिमाको भने गीतकै प्रस्तुति रह्यो । उनको गीत निकै मन पर्यो । खारिएकी गायिकाले नै गाएजस्तो ।

उनको गीति स्वर सुनेपछि म प्रभावित हुन थालेँ । अझ सालीन व्यक्तित्व, कम बोल्ने मिजासिलो स्वभावले त मेरो मनमा बाजै बज्न थाल्यो । सोच्न थालेँ, ‘यिनैलाई झ्याईंकुटी पार्न पाए कसो होला ? दुवैको उमेर पुगेकै छ, मन मिले केले छेक्छ र ?’ मनका कुरा मनमै तालाबन्दी गरेर राख्न चाहिनँ । बोल्नेकै त पिठो बिक्छ भन्ने सिद्धान्तले अगाडि बढेँ ।

‘सधैँ हाँसेर मात्रै हुन्छ ?’ हाँसिरहेकी उनीसँग बोल्ने निहुँ खोजेँ । उनी पनि मुख खोल्न थालिन् । मैले कुरा नटुंगियोस् भनेर विचार पुर्याइरहेँ । घर, परिवारका कुरा सोधेँ । फोन नम्बर भए फुत्काउनुपर्छ भन्ने सोचिसकेको थिएँ । नभन्दै उनको घरमा फोन पनि रहेछ । नम्बर लिएँ । दक्षिणकालीको पिकनिक त साथीहरूले मेरै लागि आयोजना गरिदिएजस्तो पो लाग्यो ।

पिकनिकको केही दिनपछि मैले प्रतिमाको घरमा फोन ठोकेँ, सरस्वती क्याम्पसबाटै । कुराकानी भयो । भेटघाट गर्ने कुरा भयो । बीचमा उनले पनि मलाई क्याम्पसकै फोनमा सम्पर्क गरिन् ।

फोनमा कुराकानी बाक्लिँदै जाँदा हाम्रो सम्बन्ध प्रेमको कदमतिर अगाडि बढ्यो । उनले घरैबाट पटकपटक फोन गर्न थालेपछि मैले प्रेमको संकेत बुझेँ । तर, प्रेमी–पे्रमिकाको रूपमा ‘डेटिङ’ जाने काम भएन । कहिलेकाहीँ सरस्वती क्याम्पसबाट आरआर आएर उनलाई गाडी चढाउन बसपार्कसम्मचाहिँ गएँ । यिनै भेटमा केही रमाइला कुराकानी हुन्थे ।
०००
मैले त दक्षिणकालीको पिकनिकमै मनभित्र बाजा बजाइसकेको थिएँ । अब भने उनलाई पनि सुनाऊँ कि भन्ने लाग्यो । तर, सकिनँ । म बाध्यतामा पनि थिएँ । घरको जेठो सन्तान, काठमाडौंमा ६ भाइ र तीन बहिनीको मियो बनेर बसेको थिएँ । त्यतिवेला बिहेको सोच थाँती राखेँ । तर, प्रतिमाप्रतिको प्रेम कम हुन दिइनँ । प्रेम चल्दै थियो । उनीसँग भेट भएको पनि पाँच महिना बितिसकेको थियो । यहीवेला बा–आमाबाट दबाब आयो, बिहे गर्नुपर्यो भनेर । उहाँहरू नुवाकोट नै हुनुहुन्थ्यो । यता म नौजना भाइ–बहिनीको जिम्मेवारी सम्हालेर बसेको थिएँ । यहीवेला बिहे गर्दा बोझ थेग्ने कसरी ? मलाई त डर पो लाग्न थाल्यो । अझ, प्रतिमासँगको प्रेमको विषय पनि माझमा थियो, जुन घरपरिवारलाई थाहै थिएन ।
तनावकै बीचबाट निष्कर्ष पनि निस्किँदो रहेछ । सोचेँ, प्रतिमाको पनि त जागिर छ । व्यवहार चलाउन त समस्या हुँदैन । बरु सहयोग नै हुन्छ । तर, फेरि मनमा कुरा खेल्यो, प्रतिमा त काठमाडौँकी हुनेखाने हुन् । उनका आकांक्षा पूरा गर्न मैले सकूँला ? फेरि, दुवैतिरका घरमा कुरा लैजाने कसरी ? प्रतिमाको घरमा माग्ने कसरी ? यस्ता कुराले सताउन थाल्यो ।

घरमा आमा बिरामी हुनुहुन्थ्यो, त्यसैले पनि बिहे गर्नुपर्ने दबाब जोडतोड थियो । जेठी बुहारी हेरेरै मर्न पाऊँ भन्ने आमाको अपेक्षामा प्रहार गर्न सकिनँ र बिहे गर्न तयार भएँ । घरमा फुपूमार्फत् प्रतिमाबारे कुरा राखेँ । मैले रोजेकै केटीसँग बिहे गर्न घरका सबै राजी हुनुभयो ।

फुपूको घर जावलाखेलमा थियो । काठमाडौंकै प्रतिमाको घरमा कुरा चलाउन फुपूलाई नै अघि लगाइयो । उहाँले पहिला आफ्नोतर्फबाट कुरा लिएर जानुभयो । प्रतिमा र मबीचको सम्बन्ध बाहिरै रहेर म, मेरो पारिवार र कुल खान्दान चिनाउँदै फुपूले प्रतिमाका अभिभावकसँग बिहेको प्रस्ताव राख्नुभयो । मोटामोटी कुरा सकारात्मक भएपछि मात्रै मलगायत बा, आमा र अन्य आफन्त प्रतिमाको घरमा गयौँ ।

माया एक–अर्कालाई गरे पनि बिहे गर्नैपर्छ भन्ने दबाब कहिल्यै हाम्रोबीच चलेको थिएन । तर, त्यो दिन त बिहेको सम्बन्धमै कुरा गर्नु थियो । पारिवारिक कुरा मिलेपछि हामी दुईलाई छुट्टै गफ गर्न भनियो । मैले त्यतिखेर मात्रै आफ्नो सम्पूर्ण अवस्था प्रतिमालाई भनेँ । ‘म त डेरामा बसेको मान्छे, भाइ–बहिनीप्रति जिम्मेवारी छ, राजनीतिमा पनि सक्रिय छु, उस्तै परे तिमी नुवाकोट गएर बाआमासँग पनि बस्नुपर्ने हुनसक्छ’ भनेर मैले कुरा राखेँ । उनले ‘सबै दुःख स्विकार्न तयार छु’ भनेपछि मलाई ढुक्क भयो । ०३२ दसैंताका कुराकानी छिनेर टीकाटालोसमेत भयो । बिहेका लागि भने मंसिर नै कुर्नुपर्ने भयो । २४ मंसिरमा बिहेको मिति तय भयो ।

०००
टीकाटालो र बिहेबीचको अवधि लामै भयो । आफ्नो निश्चित भएपछि त झन् माया बढ्दो पो रहेछ । अब त खासै धक मान्नुपर्ने कुरा पनि रहेन । उनलाई भेट्न हुनेवाला सुसुरालीमै जान थालेँ । ललितपुरको कमर्स क्याम्पसनजिकै उनको घर थियो । त्यहाँ राजनीतिक सेमिनार तथा कार्यक्रम भइरहन्थे । कार्यक्रममा सहभागी भएर उनको घरतिर छिर्थें ।

विवाहको दिन कुर्न गाह्रै हुने रहेछ । फेरि कार्यक्रमका सिलसिलामा म काठमाडौंबाहिर पनि जानुपथ्र्यो । यो वेलाजस्तो मोबाइल फोनको जमाना थिएन । १०–१५ दिन बाहिर हुँदा चिठीपत्र पनि लेखेर पठाउँथेँ । गम्भीर लभ त टीकाटालो गरेपछि बिहे नहुँदासम्मको समयमा पो पर्यो । बिहे गरेपछि त झन् गाढा छ, हाम्रो प्रेम ।


Published Date : Wednesday, April 12, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...