गरिव मन्त्रीका जिन्दगीका ७ किस्सा : मासिक ५ रुपैयाँमा काठमाडौंमा फ्ल्याटदेखि १० पैसामा महँगो तरकारीसम्म
Powered by Blogger.
गरिव मन्त्रीका जिन्दगीका ७ किस्सा : मासिक ५ रुपैयाँमा काठमाडौंमा फ्ल्याटदेखि १० पैसामा महँगो तरकारीसम्म


उमेर र अनुभव दुवैले पाका नेतामा पर्छन्, चित्रबहादुर केसी । बोलीका खरा उनी जवान छँदासम्म राज्यको लाभदायी पदमा बसेनन् या बस्न पाएनन् । संसद्, सडक र मिडियामा जहिल्यै सरकारको आलोचक बनिरहे । तर, ७० कटेपछि उनलाई पनि राज्यको पदको स्वाद चाख्न मन लागेछ क्यारे, मन्त्री बन्न तयार भइहाले । नौ महिना मन्त्रीको कुर्सीमा बसेपछि उनले मिडियालाई भने– सरकारमा बसेर गर्न गाह्रो रहेछ । बाहिर रहेर विरोध गर्नु र ठाउँमा पुगेर काम गर्नुको अन्तर बुढेसकालको राजनीतिमा बुझे, उनले । तर, केसीसँग अहिलेको राजनीतिको कुरा भएको छैन । नयाँ पत्रिकाका कृष्ण कट्टेलले उहिलेका कुरा कोट्याएका छन्, केसीले सुनाएका छन् :

लगाउन होइन, देख्नै गाह्रो जुत्ता र सर्ट–पाइन्ट
म अहिले ७६ वर्षको भएँ । हाम्रा पालामा खाली खुट्टा बाल्यकाल बिताउनुपथ्र्यो । कहाँ पाउनु जुत्ता–चप्पल ? खानदानीका खलकले मात्रै लगाउँथे, डांग्रा (भैँसी या चौपायाको छाला मोडेर बनाएको)को जुत्ता केटाकेटीले केको पाउनु ? निकै कम मान्छेले लगाउँथे । लुगा पनि दौरा, भोटो, कछाड र इस्टकोट लगाउने गरिन्थ्यो । १२–१३ वर्षको भएपछि भने मैले एकजोर डांग्राको जुत्ता उन्ने मौका पाएँ । गाउँघरमै सार्की जातिले सिलाउने गर्थे । मैले रहर गरेपछि बाले ल्याइदिनुभयो । चौपायाको छालाको जुत्ता साह्रै कडा हुन्थ्यो, खुट्टा दुखेर लगाउनै गाह्रो हुने । तै पनि जो पायो उसैले लगाउन नपाउने । सर्ट–पाइन्ट भने धेरैपछि लगाउने मौका मिल्यो । १० कक्षा पास गरेपछि नै हो ।

नुनतेल किन्न १३ दिन हिँड्नुपर्थ्यो
बागलुङस्थित मेरा गाउँका मान्छेहरू त्यतिवेला नुनतेल किन्न बुटवल र मुस्ताङ पुग्नुपथ्र्यो । नुन किन्न मुस्ताङ जानुपथ्र्यो भने कपडा र तेलका लागि बुटवल झर्नुपथ्र्यो । मुस्ताङमा तिब्बतबाट नुन ल्याएको हुन्थ्यो भने बुटवलमा किन्नुपर्ने सामान भारतबाट आएको हुन्थ्यो । एकपटक गएपछि वर्ष दिनलाई पुग्ने नुनतेल र लत्ताकपडा ल्याइन्थ्यो । यो लामो यात्रामा ओढार या पौवामा बस्नुपर्ने हुन्थ्यो । घरबाटै खानेकुरा र भाँडाकुँडा बोकेर जानुपथ्र्यो ।

एक रुपैयाँमा एक किलो घिउ 
गाउँमा नपाइने तर आवश्यक सामान किन्न पैसा चाहिन्थ्यो । गाउँमा घिउ भने प्रशस्त उत्पादन हुने । बुटवल लगेर बेचिन्थ्यो अनि त्यही पैसाले आवश्यक सामान किनिन्थ्यो । गहुँसँग नुन साट्न बागलुङ बजार आइन्थ्यो । ०१३ सालतिरको कुरा हो, हाम्रो गाउँमा एक किलो घिउको मूल्य एक रुपैयाँ थियो । हाम्रा आमाहरूले एक रुपैयाँमा दुईपाथी धान उधारोमा बेच्ने गर्नुहुन्थ्यो । त्यो वेला पैसाको मूल्य त कति हो कति थियो नि !

६० रुपैयाँ भाडा तिरेर जहाजमा काठमाडौं आएँ
०१४ सालमा जहाज चढेर काठमाडौं आउने भाग्य खुल्यो । मलाई काकताली नै परेको भन्नुपर्छ । खासमा एक दिन गहुँसँग नुन साँट्न भनेर बुबासँग बागलुङ बजार आएको थिएँ । त्यहीँबाट अकस्मात् काठमाडौं आउने मौका जुरेको हो । चौबीसे राज्यमध्ये गलकोट पनि एउटा बागलुङको राज्य थियो । ०१४ सालमा डा. केआई सिंह प्रधानमन्त्री भएका वेला त्यो राज्य खोसियो । खोसिए पनि देवानी अड्डाचाहिँ गलकोटमै रहनुपर्छ भनेर गलकोटे राजाको तर्फबाट महेन्द्र राजालाई बिन्तीपत्र बुझाउन काठमाडौं आउने कुरा भयो । 

त्यो डेलिगेसन टिममा मेरो बा पनि पर्नुभयो । बासँगै म पनि आउन पाएँ । खासमा पोखरासम्म बाका ओड्ने, ओछ्याउने भरियाका रूपमा आउनैपर्ने भयो । त्यहाँ आइसकेपछि बाले ‘काठमाडौं नै हिँड्, घुमेर आउलास्’ भनेर ल्याउनुभयो । पोखराबाट काठमाडौंसम्मको जहाज भाडा त्यतिवेला ६० रुपैयाँ थियो । त्यतिवेला १७ वर्षको थिएँ । काठमाडौंको ‘सिन’ पूरै हेरेँ । कतैकतै घरहरू थिए, धेरै खेतैखेत थियो । अधिकांश ठाउँमा झाडी र जंगल थियो । काठमाडाैँबाहिरका मान्छेहरू भेट्नै मुस्किल पथ्र्यो । कामविशेषले फाट्टफुट्ट मात्रै आउने गर्थे ।

गलकोटे राजाको भाँडा माझेको क्षण
काठमाडौं आएर पढ्ने रहर जो पायो उसैको पूरा हुँदैनथ्यो । मलाई एउटा मौका मिल्यो । गलकोटे राजाको काठमाडौंमै रहेको दरबारमा बस्ने अवसर मिल्यो । ‘तिम्रो छोरो पढाइदिन्छाैँ’ भनेर गलकोटे राजाका परिवारले बालाई भनेपछि उहाँ मख्ख पर्नुभयो र मलाई दरबारमा जिम्मा लगाइदिनुभयो । करिब ६ महिना त गलकोटे राजाको दरबारमा भाँडा माझेँ । तर, उनीहरूले देखाएको आशा पूरा गरेनन्, पढाएनन् । मलाई निकै नमज्जा लाग्यो । जसरी पनि पढ्छु भन्ने लाग्यो । घरबाट आमाले पठाइदिएको चार तोला सुन बेचेर दुई सय ९८ रुपैयाँ जम्मा गरेँ । त्यही पैसा बोकेर पढ्ने आँटसहित दरबारबाट निस्किएँ ।

मासिक ५ रुपैयाँमा काठमाडौंमा फ्ल्याट
गलकोटे राजाको दरबारबाट निस्किएपछि मासिक पाँच रुपैयाँ डेराभाडा तिरेर बस्न थालेँ । त्यतिवेला नक्सालमा बस्थेँ । पछि फ्ल्याट नै पाँच रुपैयाँमा पाइयो । त्यसवेलासम्म काठमाडौंका धेरै घरमा दाउरामै खाना पकाइन्थ्यो । दाउराको मूल्य सस्तो पर्ने भएकाले स्टोभमा कमैले पकाउँथे । मैले पनि एसएलसी दिने वेलासम्म दाउरामै पकाएर खाएँ ।

१० पैसामा महँगो तरकारी
मैले एसएलसी दिने वेलासम्म काठमाडौंमा मोहोर या रुपैयाँको तरकारी कहिल्यै किन्नुपरेन । त्यो वेला महँगो तरकारी खान मन लागे पनि १० पैसामै पाइन्थ्यो । सामान्य तरकारी त एक, दुई पैसामै टन्न आउँथ्यो । पानीको अभाव थिएन । शनिबार नक्सालबाट बालाजु बाइसधारा गएर नुहाउँथ्यौं । बाइसधारामा त पानी गटट बग्थ्यो । भक्तपुर, पाटन सबैतिर हिँडेरै जानुपथ्र्यो । कतै कच्ची बाटो, कतै हिलो बाटो, कतै घाँसपात, खेतका आलीको बाटो भएर ओहोरदोहोर गर्नुपथ्र्यो ।


Published Date : Monday, April 24, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...