×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौं एमालेमा चुनावी चटारो उम्मेवारका आकांक्षीहरूको लर्को

काठमाडौं । उपत्यकाको महत्वपूर्ण जिल्ला काठमाडौंमा नेकपा (एमाले) लाई चुनावी चटारोले छोएको छ । लामो समय आन्तरिक विवादका बीच सांगठनिक कामले खासै गति लिन नसकेको एमाले काठमाडौंमा पछिल्लो समय चुनावी रौनकता छाएपछि आन्तरिक सांगठनिक कामले पनि तीव्रता पाएको छ । एमाले काठमाडौंमा सांगठनिक पुनःसंरचना गरेर कृष्ण राईलाई संगठन कमिटीको संयोजक र पुराना युवा नेता वसन्त मानन्धरलाई सहसंयोजक चयन गरेपछि सांगठनिक कामले तीव्रता पाएको बताइन्छ ।
स्थानीय निर्वाचन नजिकिएसँगै त्यसको तयारीका लागि प्रत्येक टोल तथा वडाहरूमा पार्टीको भेला, बैठक तथा छलफलहरू भइरहेका छन् । काठमाडौं जिल्लामा एक उपमहानगरसहित ११ नगरपालिका रहेका छन् । ती प्रत्येक महानगर तथा नगरपालिकाको नेतृत्व मेयर र उपमेयरदेखि प्रत्येक वडामा वडा अध्यक्ष पदका लागि अहिले कार्यकर्ताबीच प्रतिस्पर्धा नै चलेको छ । आधिकारिक निर्णय नभइसकेकाले एमालेभित्र अहिले टिकटका आकांक्षीहरूको लर्को नै लागेको छ ।
२ लाख ८० हजार जनसंख्या रहेको मुलुकको राजधानी काठमाडौं महानगर पालिकामा अहिले ३२ वटा वडा रहेका छन् । काठमाडौं महानगरबाहेक कीर्तिपुर, शंखरापुर, गोकर्णेश्वर, तार्केश्वर, बूढानीलकण्ठ, नागार्जुन, दक्षिणकाली, कागेश्वरी मनहरा, चन्द्रागिरी र टोखा गरी १० वटा नगरपालिका रहेका छन् ।
मेयरमा माथिल्लो नेतृत्व
एमालेको पकड रहँदै आएको महानगरमा मेयरका लागि पार्टी केन्द्रीय नेतृत्व नै आकांक्षीका रूपमा देखिएको बताइन्छ । अहिलेसम्म महानगरको मेयरको उमेदवारका रूपमा पार्टी केन्द्रीय नेतृत्वले एमाले सचिव योगेश भट्टराईको नाम अघि सारेको बताइन्छ । तर, भट्टराई आफैं भने त्यति इच्छुक नरहेको बुझिएको छ । सचिव भट्टराईसँगै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पूर्वजिल्ला विकास समितिका सभापति तथा एमाले पोलिटब्युरो सदस्य सानु श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, पूर्वविद्याथी नेता तथा हालका काठमाडौं जिल्ला संगठन कमिटीका सहसंयोजक वसन्त मानन्धर र पूर्ववडा अध्यक्ष तथा काठमाडौं जिल्ला कमिटीका सचिव विद्यासुन्दर शाक्य, सांसद तथा पूर्ववडाध्यक्ष रामवीर मानन्धरलगायतको चर्चा छ ।
युवा नेतृत्व, सबैसँग घुलमिल गरेर विकासको दृष्टिकोण अघि सार्न सकिने तथा महानगरको गरिमा कायम गर्न सक्ने नेतृत्वका रूपमा सचिव भट्टराईलाई हेरिएको छ भने उपत्यकाको स्थानीय समुदाय, परिपक्व नेतृत्व र महिला प्रतिनिधित्व भएकाले शाक्यको नाम पनि अग्रपंक्तिमा आएको छ । यसैगरी, सानु श्रेष्ठ पनि काठमाडौंका पुराना नेता तथा जनस्तरमा भिजेका व्यक्तित्वमा पर्छन् । त्यस्तै, श्रेष्ठले पार्टीको विभिन्न तहमा बसेर कुशलतापूर्वक जिम्मेवारी वहन गर्दै आएका छन् भने जीवनराम श्रेष्ठ पनि पहिला वडा अध्यक्ष भएर नै काठमाडौंवासीसँग परिचित छन् । यसैगरी, कृष्णगोपाल श्रेष्ठ पछिल्लो समय पार्टीभित्र लगातार अह्राएको र खटाएको काम गर्ने नेताका रूपमा परिचित छन् । वसन्त मानन्धर पटकपटक त्याग गरेका र अवसर कुनै नपाए पनि लगातार २५ वर्षदेखि पार्टी संगठनमा सक्रिय नेता हुन् । विगतमा एक वर्ष नगरको संयन्त्रमा पनि मानन्धरले काम गरेर आफ्नो क्षमता देखाइसकेका छन् भने उनलाई महानगर राम्ररी बुझेको तथा जिम्मेवारी पाउँदा नीतिगत सुधारमा भूमिका खेल्न सकेको व्यक्तिका रूपमा चिनिन्छ । त्यस्तै, पूर्ववडा अध्यक्ष शाक्य पार्टीमा लामो समयदेखि सक्रिय छन् । दुई कार्यकाल २१ वडाको वडाध्यक्ष भई कुशलतापूर्वक काम गरेको अनुभव उनीसँग छ ।
उपमेयरमा महिलाको चर्चा बढी
महानगरमा उपमेयरमा एमालेबाट वैकल्पिक केन्द्रीय सदस्य सुजिता शाक्य, रञ्जना मास्के, रत्ना गुरुङ सिलवाल, शान्ति अधिकारी र विद्या न्यौपानेलगायतको चर्चा छ । त्यसमध्ये शाक्य चर्चित तथा काम गर्ने सक्ने र अखिल नेपाल महिला संघको केन्द्रीय नेतृत्वमा रहिसकेकी महिला हुन् भने मास्के पहिलेकी वडा सदस्य र लोकतान्त्रिक नेवा संघको केन्द्रीय अध्यक्ष हुन् । गुरुङ सिलवाल समानुपातिक कोटाबाट पूर्वसभासद् हुन् । दुई दशकदेखि पार्टीमा सक्रिय रूपमा लागेकी उनी अहिले पार्टीको काठमाडौं जिल्ला कमिटी सदस्य छिन् । त्यस्तै, अधिकारी अखिल नेपाल महिला संघ सचिव हुन् । काठमाडौं जिल्ला कमिटी सदस्यसमेत रहेकी उनी एमाले पूर्वअध्यक्ष मनमोहन अधिकारीकी बुहारी हुन् । गत संविधानसभामा काठमाडौं–१ बाट उम्मेदवारी दिएकी न्यौपाने जनाधार राम्रै भए पनि चौथो हैसियतमा झरेकी थिइन् ।
वडाबाट को–को भिड्दै
काठमाडौंका ३२ वडामध्ये केहीमा भने अहिलेसम्मका अवस्था हेर्दा वडा अध्यक्षको उम्मेदवार सर्वसम्मतजस्तै देखिएको बताइन्छ । त्यस्तो वडाहरूमा वडा नम्बर २ बाट राजेन्द्र श्रेष्ठ, २० बाट विजयकृष्ण श्रेष्ठ र १५ बाट ईश्वरमान डंगोल रहेका छन् । यसैगरी, वडा नम्बर ८ मा कृष्णमान श्रेष्ठ, ३० मा कृष्णभक्त खड्गी रहेको बताइन्छ ।
यसैगरी, वडा नम्बर १ बाट भरतराज श्रेष्ठ र अनिल मान्न्धरमध्ये एकजनाको सम्भावना छ भने ३ नम्बर वडाबाट दीपक केसी, ध्रुव पाण्डे, कृष्ण चालिसे र केशव श्रेष्ठमध्ये एक, ४ नम्बर वडाबाट मोहन विष्ट र ध्रुव त्रिपाठीमध्ये एकजना, ५ नम्बर वडाबाट ध्रुव थपलिया, वीरेन्द्र प्रजापति र गणेश श्रेष्ठमध्ये एकजना, ६ नम्बर वडाबाट श्याम खतिवडा, लक्ष्मी श्रेष्ठ र वीरेन्द्र लामामध्ये एकको चर्चा छ ।
यसैगरी, वडा नम्बर ९ बाट रामकृष्ण श्रेष्ठ, सृजना भेटवाल खरेल र टेकराज अधिकारी, ११ मा योगेन्द्र श्रेष्ठ र रमेश केसी, वडा नम्बर १२ मा रत्नकाजी महर्जन र विकास डंगोलको चर्चा छ । यसैगरी, वडा नम्बर ७ मा टीका पराजुली, कृष्णमणि भट्टराई र शुद्ध डंगोल, वडा नम्बर १० मा अशोक कार्की र बलिभद्रराज भण्डारी तथा १३ नम्बर वडामा पूर्ववडा अध्यक्ष ध्रुवनारायण मानन्धर र शिव वैद्यको चर्चा छ । यसैगरी, १४ नम्बर वडामा हरिहर लामिछाने र शोभा सापकोटाको चर्चा छ । १७ नम्बर वडाबाट मचाराजा महर्जन र गोपाल मालीबीच आकांक्षा चुलिएको बताइन्छ । यसैगरी, वडा नम्बर १८ मा न्हुँछेकाजी महर्जन र रचना राजोपाध्याय, वडा नम्बर १९ मा राजेश शाक्य र आनन्दबहादुर शाही, वडा नम्बर २१ मा उदयचूडामणि बज्राचार्य, २२ नम्बर वडाबाट पूर्ववडा अध्यक्ष हरिकृष्ण डंगोल, दीपक महर्जन र चीनकाजी महर्जन, २३ नम्बर वडामा सुरेन्द्रहर्ष बज्राचार्य र मचाराज महर्जन, वडा नम्बर २४ मा बालकृष्ण श्रेष्ठ, विनोद तुलाधर र सुदनविलास बज्राचायको चर्चा छ ।
यसैगरी, २५ नम्बर वडामा बाबुराजा महर्जन र राजेशश्रेष्ठ तथा वडा नम्बर २६ मा रामभक्त बम्जन र अर्जुन प्रधानको चर्चा छ । यसैगरी, वडा नम्बर २७ मा मधुसुदन तण्डुकार २८ मा चिनियामान बज्राचार्य तथा वडा नम्बर २९ मा गोपाल जोशी, लक्ष्मी प्रसार्इं, र दीपक राईमध्ये एकजना हुने सम्भावना छ । यसैगरी, ३१ मा नारायण भण्डारी र सरोज ढकालमध्ये एकजना उम्मेदवार हुने पक्का छ ।
कुन नगरमा कसको दाबी ?
काठमाडौंका १० नगरपालिकामध्ये तार्केश्वर नगरपालिकामामेयरका लागि पूर्वक्षेत्रीय अध्यक्ष विष्णु अर्याल, रामेश्वर बोहरा र लब बस्नेतलगायतले दाबी गरेका छन् भने भानु डोटेल, शिवकुमारी अर्याल, भवानी पन्त र बिन्दा ढुंगानालगायतको पनि चर्चा छ ।
यसैगरी, नागार्जुन नगरपालिकामा मेयरका लागि केशव पोखरेल, प्रकाश श्रेष्ठ, सागर नेपाल, भगवानराज घले र नन्दनहरि गौतमले रहर गरेका छन् भने उपमेयरमा सपना अर्याल बानियाँ, कमला श्रेष्ठलगायतको चर्चा छ । बानियाँ पार्टी जिल्ला कमिटी सदस्य तथा त्यही क्षेत्रको इन्चार्ज तथा पूर्णकालीन कार्यकर्ता हुन् भने श्रेष्ठ स्थायी शिक्षिका हुन् । श्रेष्ठलाई राजीनामा दिएर मैदानमा आउनुपर्ने र जित्ने नजित्ने कुनै निश्चित नभएको भन्दै नेताहरूले पनि रहर नगर्न सुझाव दिएको थाहा भएको छ भने पूर्णकालीन कार्यकर्ता र जनस्तरमा राम्रो जित्ने आधार भएको भन्दै बानियाँलाई अगाडि बढाउने विषयमा नेताहरू आम सहमतिनजिक पुगेको बताइएको छ ।
यसैगरी, बूढानीलकण्ठ नगरपालिकामा मेयरमा दीपक निरौला, कुसुमकुमार कार्की र उद्धव खरेललगायतले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् भने उपमेयरमा रमा राई, समझना कुँवर र दुर्गालगायतको चर्चा छ । मेयरका प्रस्तावित निरौला जिल्ला प्रचार विभाग प्रमुख तथा विभिन्न सामाजिक काममा सक्रिय हुनुका साथै स्वतन्त्र र विपक्षीहरूसँग पनि राम्रो सम्बन्ध राख्न सक्ने व्यक्तिमा गनिन्छन् ।
यस्तै, चन्द्रागिरि नगरपालिकामा मेयरका लागि नवराज भट्ट,सुमन श्रेष्ठ, प्रह्लाद कार्की, हरिशरण थापा, रमा आले मगरलगायतको चर्चा छ भने उपमेयरमा पवित्रा पौडेल, बेलीमाया घले र बिन्दु श्रेष्ठलगायतको नाम चर्चामा छ । त्यसैगरी, टोखा नगरपालिकामा मेयरमा क्षेत्रीय कमिटी अध्यक्ष प्रकाश अधिकारी र जिल्ला कमिटी सदस्य मणिराज डंगोल र क्षेत्रीय सचिव कृष्ण अधिकारी, नारायणभाइ श्रेष्ठलगायतको चर्चा छ भने उपमेयरमा ज्ञानमाया डंगोल र भगवती गौतममध्ये एकको निश्चितजस्तै रहेको बताइन्छ ।
यता, कागेश्वरी मनहरा नगरपालिकामा जिल्ला कमिटी उपसचिव सरिता न्यौपाने, कृष्णहरि थापा, मणिराम फुयाँल, रामशरण ढुंगाना, उपेन्द्र पौडेल र राजाराम श्रेष्ठलगायतको चर्चा छ । गोठाटार गाविसका पूर्वअध्यक्ष थापा पनि जनताबीच लोकप्रिय नै भएको चर्चा छ । २८ हजारभन्दा बढी मतदाता रहेको यो नगरपालिकामा कुलमा ४० प्रतिशत मतदाता गोठाटार क्षेत्रका भएकाले उनीहरूको मत नै निर्णायक हुने देखिन्छ । त्यस्तै, यहाँ उपमेयरमा शान्ता थापा, गीता ढकाललगायतको सम्भावना छ ।
यसैगरी, दक्षिणकाली नगरपालिकामा मेयरका लागि गुन्जमानसिंह बस्नेत, शशी शर्मा अर्याल र हरि तिमल्सिना, श्रीराम आचार्य, राकृष्ण महर्जनलगायतको चर्चा छ भने उपमेयरमा मीरा आचार्य महर्जन, पार्वती लामा र इन्दिरा पौडेलमध्ये एकजनाले टिकट पाउने सम्भावना छ । यसैगरी, कीर्तिपुर नगरपालिकामा मेयरमा लक्ष्मीकुमार श्रेष्ठ र रमेश श्रेष्ठलगायतको चर्चा छ भने उपमेयरमा बिन्दु महर्जनलगायतको नाम अगाडि आएको छ ।
यस्तै, शंखरापुर नगरपालिकामा मेयरमा सुवर्ण श्रेष्ठ, महेन्द्र श्रेष्ठ, लक्ष्मीप्रसाद श्रेष्ठ र शम्भु दुलाललगायतको नाम चर्चामा छ भने उपमेयरमा मुना दंगाल, शुभलक्ष्मी श्रेष्ठ र शोभा कार्कीलगायतको चर्चा छ । यस्तै, गोकर्णेश्वर नगरपालिकामा मेयरमा उद्धव विष्ट, कृष्ण श्रेष्ठ र पुण्य चौलागाईंमध्ये एक तथा उपमेयरमा शान्ति श्रेष्ठको चर्चा छ । यसैगरी, तारकेश्वर नगरपालिकामा मेयरमा श्याम घिमिरे, लेखनाथ फुँयाल, विदुर अर्याल, रामेश्वर बोहरालगायतको चर्चा छ भने उपमेयरमा बिन्दा बुढाथोकी र शिवकुमारी अर्याललगायतको चर्चा छ । बुधबार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: