सेयर बजारका यी ६ थरी 'फटाहा'हरु : कसका छन् कस्ता विशेषता ? (व्यंग्य)


  • डीआर नेपाल 
नेपाल । प्राय: जनता सोझा र प्राय नेता फटाहा भएको देश लाग्न थालेको छ कहिलेकाहीं त । नेपालको पूँजीबजारपनि यस्तै फटाहा नेताहरुको छातामुनि बसेका नियामक र अपरेटर र प्राय: सोझा जनताकाबीचमा केहि फटाहा लगानीकर्ताहरुको चंगुलमा फसेझें लाग्छ । लाग्नु स्वाभाविक पनि हो, किनकी हरेकदिनजसो बजारमा यस्ता फटाहाहरुका विभिन्न रबैया देखिन्छन् । 

एउटा फटाहाले अर्को फटाहालाई 'फटाहा' देख्छ यहाँ । एउटा फटाहाको अर्को फटाहाले कुरा काट्छ यहाँ । एउटा फटाहालाइ अर्को फटाहाले सहयोग गरेकोजस्तो, समर्थन गरेकोजस्तो, अलिअलि विरोध गरेकोजस्तो गर्छन् यहाँ । तर फट्याई मिलेर गर्छन् । आज यस्तै फटाहाहरुको वृतान्त लेख्न मन लाग्यो । कतिपय फटाहाहरुलाई यो लेख लेख्ने मान्छेपनि फटाहा लाग्यो भने आफ्नो अनुहारपनि ऐनामा हेरेर यसलाई संयोगमात्र मानिदिनुहोला ।

१. फ्रेन्च-कट फटाहा 
बजारमा एकथरी 'फ्रेन्च-कट' फटाहा र तीनका वरीपरी लाग्ने अरु फटाहा छन् । आफु जिम्मेवार पदमा बस्ने, आफैं ब्रोकर चलाउने, आफुलाई मात्र फाइदा हुने काम गर्ने, अनलाइन ट्रेडिङ सकेसम्म ढिलो आओस् भनेर दिनमा दुइ पटक प्रार्थना गर्ने, रातमा तीनपटक सपना देख्ने, अर्को फटाहाले घुमाउन लग्यो भने चितवनतिर हिंडीहाल्ने, प्रमुख अथिति भनेको के हो र आफु त्यो ठाउँमा हुनुहुन्छ कि हुनुहुन्न भनेर नबुझ्ने, माइक पाएपछि फटाहा कुरा गरिहाल्ने, रिवन काट्न पाएपछि केहि नचाहिने, साना लगानीकर्ताहरुलाई मान्छे नगन्ने, ब्रोकरहरुलाई पोस्ने, र मिडियाहरुले 'बाल' नदिएपछि हामी मिडियाबाजी गर्दैनौं भनेर 'भुक्ने', केहि मिडियाहरुलाई पोस्ने, लगानीकर्ताको लगानी गर्ने अधिकार खोस्ने फटाहालाइ हामी सबैले चिनेका छौं । यी फटाहाहरु सुध्रीए नेपाली पूँजीबजार कति माथि पुग्थ्यो होला । 

२. अरवपती फटाहा 
बजारमा अरव धन भएका तर वानी व्यहोराचाहिं दुइ कौडीका नभएका फटाहाहरुपनि हामीले चिनेका छौं । आफु अनुकुल बजार होस् भन्ने चाहाने, बजार घटाउन पाए सेयर उठाउन पाइन्थ्यो भनेर लाग्ने, 'फ्रेन्च-कट' फटाहाहरुसँग बढी संगत गर्ने, बजार घटाउन मान्छे पाल्ने, ठूलो भनिएको मिडिया पाल्ने, बजार घट्छ कि भनेर ढुकेर बस्ने, बजार बढ्यो भने थुकेर बस्ने, पैसा कमाउन जेपनि गर्ने, धेरै समय चन्द्रागिरी डांडातिर म:म खाँदै गरेको भेटिने यस्ता फटाहा अरवपतीहरुपनि कहिले सुध्रीने हुन् थाहा छैन ।   

३. फटाहा दलाल 
एक महिला सेयर दलालकहाँ काम गर्ने साथीलाई अर्को साथीले जिस्काउँथ्यो, 'केटि दलालसँग कारोबार गर्छस रे हो ?' उसले धक नमानी 'हो' भनिदियो । विचरोलाइ दोहोरो अर्थ लगाएर साथीले पंगु बनाएको पत्तै भएन । यस्ता सोझा लगानीकर्ता र केहि सोझा दलालहरुको बीचमा केहि फटाहा दलालपनि छन् । यिनको सम्बन्ध माथि उल्लेखित फ्रेन्च-कट फटाहादेखि अरवपती फटाहाहरुसँग अलि गाढानै छ । यस्ता फटाहाहरु बैंकलाई लाइन्सेंस दिन नहुने भन्दै अफिसमामात्र होइन चोक-चोकमा कुर्लिने गरेका छन् । पैसा यिनीहरुसँगै छ । त्यसैले अरु फटाहाहरु यिनका पछी लाग्नेनै भए ।   

४. फटाहा राता बाँदर !
बजार घट्छ भन्नेबाहेक केहिपनि नजान्ने, माथि उल्लेखित फटाहाहरुमध्ये एकथरी फटाहाबाट मासिक ३५००० पैसा असुल्ने, विहान सवेरदेखि, बेलुका अवेरसम्म बजार रातो भएको देख्ने, मिडियालाई पंगु बनाउने, परिचालित भन्ने थाहा पाएपछि मिडियाले वास्ता गर्ने छाडेपछी अनेकथरी बोल्दै हिंड्ने, बहुला प्रवृति देखाउने, मान्छे जातका फटाहा बाँदरहरुलेपनि बजार धमिल्याएका छन् । यी फटाहाहरु कहिले सुध्रीने हुन् कुन्नी !

५. घाँसे फटाहा 
खाली घाँसजस्तै हरियो बजार देख्न खोज्ने, बजार नबुझी खाली बढ्छ, बढ्छमात्रै भन्ने, बजार घट्दा कुनचाहिं दुलोभित्र छिर्ने तर बजार थोरै बढेपछी फेरी 'टुप्लुक्क' आइहाल्ने, बजार बढेपछि बेचिहाल्ने, तर अरुलाई बजार अझै बढ्छ भनेर गफ दिने, घाँसे फटाहाहरुपनि कहिले सुध्रिने हुन् थाहा छैन । यस्ता फटाहाहरुलेपनि केहि अरु पाराले फटाहाहरुबाट दानापानी खान्छन् भन्ने चर्चा गर्ने, तर आफ्नो आङमा भैंसी नदेख्ने अरु फटाहाहरुपनि कहिलेपनि नसुध्रिने भए ।  

६. लेख्ने फटाहा 
नेपाल सरकारबाट पत्रकार परिचयपत्र पाएका तर समाचारको 'स' नआएका, आर्ट्स पढेर सेयर बजारको बढी ग्यान पाएका, दलालसँग मीत लाएका, 'कार्की सर'संग बसेर रक्सी खाएकाहरु पाएसम्म माथि उल्लेखित फ्रेन्च कट फटाहा, नपाए ब्रोकर फटाहा त्योपनि नपाए अरवपति फटाहाहरुको चम्चागिरी गर्ने, यिनै फटाहाहरुबाट पाए पैसा लिने, नपाए रक्सी खाने, रक्सीपनि नपाए, मम खाने र त्योपनि नपाए जे पाइन्छ टिपटाप पारेर हिंड्ने पताहा पत्रुकारका कारणपनि बजार धमिलो भएको छ । अरवपति फटाहाको पोर्टफोलियो अनुसार समाचार लेख्ने,  बजारनै नबुझी समाचार लेख्ने, आफुले किनेको सेयर 'बबाल' हो भनेर समाचार लेख्ने, र कुरोको छेउटुप्पो नै नबुझी समाचार लेख्ने पत्रुकार फटाहाका कारणपनि बजार धमिलो बनेको बुझ्न गाह्रो छैन । 

अन्य फटाहा :
माथि उल्लेखितभन्दा फरक खालका फटाहाहरुपनि छन् होला । लेखकले देखेका फटाहाहरु यिनै हुन् । कोहि अरु खालका फटाहाहरु छन् भने भन्नुहोला । लेखपढेपछि एकपटक मम: पनि भन्नुहोला ।      

(यी लेखकका नीजी विचार हुन् । कसैलाई आफैंलाई भनेजस्तो लागेको खण्डमा संयोगमात्र हुनेछ । संयोग नै मानेपनि त्यस्तो लागिहालेकोभए सुध्रीनुपनि होला ।)                  
प्रकाशित : Wednesday, April 26, 2017

recent

Popular Posts