×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

EXCLUSIVE : जगदम्बा स्टिलको लुटधन्दा -१ : यसरी ठगिन्छन् देश र जनता, कारवाही कसले गर्ने ?

  • इन्भेष्टिगेसन ब्यूरो / अर्थ सरोकार डटकम 
काठमाडौँ – जगदम्बा स्टिल । तपाईंले जगदम्बा स्टिलसको विज्ञापन हेर्नु भयो भने लाग्छ, जगदम्बा स्टिलभन्दा राष्ट्रवादी कोहि पनि छैनन् । तर राष्ट्रवादको खोक्रो नारा भजाएर जगदम्बा स्टिलको उत्पादन कम्पनी शंकर ग्रुपले व्यापक ठगी गरीरहेको छ । जगदम्बा स्टिलस विक्री वितरण गर्दा सरकारलाई तिर्नुपर्ने करमा होस् वा जनतालाई दिनुपर्ने गुणस्तरीय सामानमा होस्, जगदम्बाले सधैं सोझा नेपालीलाई ठगीनै रहेको छ । बिगतमा पनि यस्ता ठगीका केहि घटना बाहिर आएका थिए । तर पैसा र पावरका भरमा उक्त घटनालाई थामथुम पार्ने प्रयास भयो ।    
जनतालाई यसरी नै ठगीरहेको जगदम्बा स्टिलको ठगी धन्दाविरुद्ध अहिले कममात्र बोल्ने गरेका छन् । राष्ट्रवादका ठुला ठुला विज्ञापन बजाएर उसले अपत्यारिलो ढंगले राष्ट्र लुट्ने काम गरिरहेको छ । बैसाख १२ गते गएको भूकम्पमा भत्किएका ठुला संरचनाहरुमा जगदम्बा स्टिलकै प्रयोग भएको भेटिएको छ । हाम्रो अनुसन्धानका क्रममा हामीले भूकम्पताका भत्किएका कलेज र बस्न लायक नभएका धेरैजसो संरचनामा जगदम्बा स्टिलकै प्रयोग भएको पाइएको छ । हामी यसरी कमसल समान बेचेर होस् वा सरकारलाई तिर्नुपर्ने कर नतिरेर होस्, देश र जनता ठग्ने जगदम्बा स्टिलका कर्तुतहरु एक एक गरी जनता समक्ष ल्याउने प्रयास गरिरहेका छौं ।
भ्याट छलीको यस्तो थियो तीतो बिगत :
वर्तमानलाई विश्लेषण गर्नुभन्दा अघि जगदम्बा स्टिलको बिगत केलाउन आवश्यक छ । उक्त कम्पनीले बिगतमा पनि सरकारलाइ र जनतालाई ठग्ने गरेको पटक पटक पुष्टि भएको थियो । तर फितलो कानुनका कारण पैसा पेलेर नै उक्त कम्पनीले जनता ठग्ने गरेको छ । 
केहि बर्षअघि जगदम्बा स्टिल्सले देशलाई तिर्नुपर्ने २५ करोड रुपैयाँ ठगेको पुष्टि भएकेा थियो । नक्कली बिल बनाएर भ्याट र आयकर ठगेको जगदम्बाबाट बिगो र जरिवाना गरी ३७ करोड असुल गर्न राजस्व न्यायाधिकरणले आदेश समेत दिएको थियो । जगदम्बा स्टिल्सले नक्कली कम्पनीका नामवाट सामान किनेको बिल बनाएर ११ करोड ४७ लाख ३१ हजार ठगेको सो उद्योगले आयकरतर्फ १३ करोड ७० लाख ५६ हजार रुपैयाँ छलेको खबर सार्वजनिक भएको थियो । 
सोहि प्रकरणमा आन्तरिक राजस्व विभागले जगदम्बाले भ्याट छलेको ठहर गर्दै बिगोको शतप्रतिशत जरिवानासहित २२ करोड ९४ लाख ६२ हजार रुपैयाँ कर निर्धारण समेत गरेको थियो । विभागले भ्याटको बिगो ११ करोड, त्यति नै जरिवाना थप दस्तुर ३९ लाख ७२ हजार र ब्याज ५९ लाख ५७ हजारसहित २३ करोड ९३ लाख ९२ हजार कर निर्धारण गरेको थियो । विभागले २०६७ को चैतमा गरेको निर्णयमा असन्तुष्टि जनाउँदै जगदम्बा स्टिल्स राजस्व न्यायाधिकरण गएको भएपनि न्यायाधिकरणले पनि विभागको अनुसन्धानलाई सही ठहर्‍याउँदै जगदम्बावाट ब्याजसहित बिगो र जरिवाना उठाउन आदेश दिएको थियो  । 
जगदम्बा स्टिल्समा शंकर ग्रुपका शंकर अग्रवाल, छोरा साहिल र सौरभ ग्रुपका विष्णुप्रसाद न्यौपानेको लगानी छ । भ्याटबापत जनतावाट उठाएको रकम सरकारलाई बुझाउनुपर्ने रकम आफ्नो खातामा हाल्न उद्योले नक्कली बिल बनाएको थियो । जगदम्बा स्टिल्सले करिव ४ बर्षको अवधिमा उद्योगका लागि आवश्यक अर्बौँका सामान किनेको थियो । तर, यसबीचमा उसले सामान किनेको भनेर पेश गरेकामध्ये ८८ करोड २५ लाख ४८ हजार रुपैयाँका बिल नक्कली भेटिएका हुन् । हुँदै नभएका कम्पनीवाट ८८ करोडको सामान किन्दा ११ करोड भ्याट तिरेको भन्दै जगदम्बाले भ्याटबापतको रकम दावी गरेको थियो । 
तीतो बिगत २ : सीइओको ‘चोरीको गाडी’ प्रकरण 
यसै बीच जगदम्बा स्टिलका सीइओ चोरीको गाडी चढेको प्रकरणमा समेत परेका थिए । चोरीको गाडी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा बाराको सिमरास्थित जगदम्बा स्टील प्रालिका सिइओ रोसित उनित्थान् र जि एम कमजीत वर्मा पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक वरुण सिंह नेतृत्वको प्रहरी टोलीले वीरगन्जको वीर्ता स्थित गोपाल कम्प्लेक्सबाट दुवै जनालाइ पक्राउ गरेको थियो । 
वीरगन्ज भन्सार कार्यालयबाट लीलाम गरिएको स्कार्पियो गाडीको मोडेल नम्बर परिवर्तन गरेकाले उनिहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक बासुदेव खतिवडाले जानकारी दिनु भयो । सुराकीको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरले ना. २ च ४६६२ नम्बरको सेतो रङको स्कार्पियो गाडी चोरीको शंकामा बरामद गरि वीरगन्ज भन्सार कार्यालयलाइ बुझाएको थियो । जगदम्बा स्टिल्स प्रालिले उक्त गाडी २०६८ पुस ७ गते वीरगन्ज कार्यालयबाट लिलाम सकारेको थियो । 

तीतो बिगत ३ : जगदम्बा स्टिलविरुद्ध यसरी जागेका थिए जनता 
जगदम्बाका विरुद्ध जनताको चरम असन्तुष्टि समेत पटक पटक व्यक्त भइसकेको छ । बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगको विरोधमा उत्रिएका स्थानीयबासिन्दाले केहि समयअघि विरगञ्ज पथलैया सडकखण्ड अवरुद्ध पारेका थिए । जगदम्बाले प्रदुषण नियन्त्रणमा चासो नदिएर आम सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गरेको, जगदम्बाको कवाडी फलाम पगाल्ने चारवटा भट्टीबाट निस्केको धुँवाले जनस्वास्थ्यमा असर परेको,  उद्योगले धुलो र धुँवा नियन्त्रणका लागि पटकपटक सम्झौता गरेको भएपनि कार्यान्वयन नगरेको, लगायतका आरोप लगाउँदै जगदम्बा  स्टिल विरुद्ध जनता जागेका थिए । 
वर्तमान पनि उस्तै छ : रोकिएको छैन छली 
विगतदेखि नै नक्कली बिल बनाएर जनता ठग्ने गरेको जगदम्बा स्टिलको वर्तमान पनि उस्तै छ । छड  विक्री गर्दा नक्कली भ्याट बिल दिने, भ्याट छली गर्ने, कर छली गर्ने, भ्याट बिल भनेर प्रोफोमा इन्भोइस थमाउने र विभिन्न ठेकेदार कम्पनीहरुलाई बिलनै बेच्ने समेत गरेको छ कम्पनीले । तर पैसा र पावरका भरमा उक्त कम्पनीलाई कारवाही गर्ने आँट कसैलेपनि गरेको छैन ।  ‘विगतमा एक पटक जगदम्बा स्टिललाई सरकारले कारवाही गरेजस्तो गरेको थियो ।’ आफ्नो नाम नबताउने सर्तमा जगदम्बा स्टिलका एक उच्च तहका कर्मचारी भन्छन्, ‘कमाउने भनेकै कर छलेर हो । अहिले पनि नक्कली बिल बनाउने क्रम रोकिएको छैन । तर बिगतमा कारवाही भोग्दा गल्ती सच्याउनु भन्दापनि कारवाही गर्ने निकायलाई आफ्नो बनाउने काममा मालिकहरु लागेका छन् । अहिले पनि जगदम्बाले करोडौं रुपैयाँ देशलाइ ठगीरहेको छ ।’

विगतमा पनि करछली प्रमाणित भएर बिगो भिराउने बेलामा समेत जगदम्बा स्टिललाइ देशले सम्मान गरेको तीतो यथार्थ सम्झंदै उनी भन्छन्, ‘नक्कली बिल बनाएर ११ करोड भ्याट तथा १३ करोड आयकर छल्ने जगदम्बा स्टिलका मालिक साहिल अग्रवाललाई सरकारले सोहि बर्षनै सम्मान गरेको थियो । राजस्व ठगेको भनेर ११ करोड भ्याट, त्यति नै जरिमाना र त्यसको ब्याज तिराउन राजस्व ताकेता गरिरहेको बेला सरकारले साहिललाई कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन सिआइपीको सम्मान दिएको थियो । एउटै व्याक्तिलाई ठग भनेर जरिवाना पनि गर्ने र सम्मानित पनि गर्ने चलन सायद नेपालमा मात्र होला । तर यो नेपाल हो । यहाँ जसले जे गरेपनि हुनेरहेछ । त्यसपछि छली थप झाँगीएको छ । अहिले पनि मजबुत नेतृत्व आन्तरिक राजश्वमा आउने र ठगीबारे छानविन हुने भए, अहिलेपनि जगदम्बाको नक्कली बिल प्रकरण अझ बाहिर आउन सक्छ । तर यहाँ त सबै सेटिङ छ, कसले कसलाई छुने ?’           

  
कसले गर्ने कारवाही ? प्रोफोमा इन्भोइसलाई भ्याट बिल भन्दै यसरी भएको छ अरवौंको करछली  :
जगदम्बा स्टिलकै कर्मचारी भन्छन्, ‘जगदम्बा स्टिलले बिगत लामो समयदेखि भ्याट बिलका नाममा जनतालाई झुक्काएर प्रोफोमा इन्भोइस दिने गरेको छ । उसले यसरीसम्म चलाखी गर्दोरहेछ कि उसले पहिला विक्रिका समयमा कतिपय आफ्ना डिलरहरुलाई भ्याट बिल नदिने र त्यसपछि डिलरले जनतालाई बेच्दा पनि भ्याट बिल नदिने गर्दै ठगी हुने गरेको छ । कतिलाई भ्याट बिलका नाममा प्रोफोमा इन्भोइस दिइने गरीएको छ । निर्माण कम्पनीले मागेको खण्डमा मात्र बिजक जारी हुन्छ । बाँकी बिजक जारी नभएको सामानको हिसावकिताव गरेर कम्पनी र डिलर मिलेर करोडौं रुपैयाँ ‘झ्वाम’ पार्ने गरेका छन् । बिजक नमाग्नेहरुलाई जगदम्बाले बिजक नदिने गरेको छ भने भ्याट ‘क्लेम’ नगर्ने पार्टीलाइ थाहा पाएरनै उसले प्रोफोमा इन्भोइसले टार्ने गरेको छ । यसरी हुने लुट ठाडो अपराध मानिन्छ ।’ 
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनी अगाडी भन्छन्,’जगदम्बा स्टिलले बिगत लामो समयदेखि देशलाई तिर्नुपर्ने भ्याट ‘झ्वाम’ पारेर एकातर्फ कर्पोरेट अपराध गरिरहेको छ भने अर्को तर्फ आफ्ना डिलरहरुलाई समेत भ्याट छल्न सिकाइरहेको छ । जगदम्बा स्टिलको बार्षिक कारोबार र विक्री भएको स्टिलका बारेमा छानविन गर्ने हो भने अरवौंको भिन्नता देखिन्छ । तर नेतालाई पैसा खुवाएर होस् वा सम्बन्धित निकायमा सेटिङ मिलाएर होस्, कम्पनीले भ्याट छल्दै आएको छ ।

पछिल्लो समय नक्कली भ्याट बिलबारे बहस हुन थालेपछि जगदम्बा स्टिलले सक्कली बिलपनि दिने गरेको छ । तर करिव ५ बर्ष यता उता उसले नक्कली बिल पेश गरेर अरवौं रुपैयाँ छलीसकेको छ । मूल्य अविवृद्धि कर ऐन २०५२ अनुसार बिगतका बर्षहरुको पनि कारोबार छानविन गर्न सकिने व्यवस्था छ । तर आन्तरिक राजश्व विभागले समेत यस बिषयमा चासो देखाएको छैन । कम्पनीले विशेष गरी २०६५ यता केहि बर्ष अरवौं नक्कली भ्याट बिल बनाएर भ्याट छलेको छ ।’

जगदम्बा स्टिलका कर्मचारी नै भन्छन्, ‘कारोबार लुकाएर अरवौंको करछली  हुन्छ ! जगदम्बा स्टिललाई कारवाही गर्ने कसको आँट ?’ :
‘जगदम्बा स्टिलले अरवौं रुपैयाँ बराबरको कर छली गरिसकेको छ ।’ कम्पनीकै एक उच्च तहका कर्मचारी भन्छन्, ‘ जगदम्बा स्टिल उत्पादन गर्ने शंकर ग्रुपले २०६९ ताका एकै बर्षमा करोडौं बराबरको भ्याट छलेको थियो भने करोडौं बराबरको आयकरपनि छलेको थियो । जगदम्बा स्टिलले बिगत लामो समयदेखि भ्याट बिल धेरै ठाउँमा नदिने गरेको छ । नियमअनुसार भ्याटमा दर्ता भएको कम्पनीले भ्याट बिजक अनिवार्य रुपमा जारी गरिनुपर्छ । एकातर्फ भ्याट बिजकनै जारी नगरी जगदम्बा स्टिलले करोडौंको स्टिल बिक्रि गरेर भ्याट छली गरेको छ भने बिजक जारी नगरेपछि कारोबार नदेखिने हुनाले कम्पनीले तिर्नुपर्ने आयकर पनि छली गरेको छ ।’ 
‘छानविनको वा कारवाही नाटक मात्र’, सबैतिर सेटिङ भएपछि कसले कारवाही गर्ने ?’
केहि बर्ष अघि गरिएको छानविन र कारवाहीलाइ पनि ‘नाटक’ को संज्ञा दिन्छन् जगदम्बाका कर्मचारीहरु । ‘साच्चै कारवाही हुने भए त्यहि बर्ष जगदम्बा स्टिललाइनै सम्मान गर्ने थियो र सरकारले ?’ उनी अगाडी भन्छन्, ‘केहि वर्ष अगाडी जगदम्बा स्टिलको भ्याट छली भएको वा नभएकोबारे छानविनको नाटक समेत गरिएको तर सबैको मिलेमतोमा कम्पनीलाई कारवाही गरिएन । कम्पनीले अरवौंको भ्याट छलेको छ । तर सम्बन्धित निकायमा मोटो रकम घुस खुवाएर कम्पनीले आफ्नो कर्तुत लुकाउने प्रयास गरेको छ । कम्पनीका मालिकनै खुलेआम आफुले सबैतिर सेटिङ मिलाईसकेकाले आफुलाई कसैलेपनि छुन नसक्ने भन्दै छाती फुलाएर हिड्ने गरेका छन् । उनले नेपालमा भ्याट छल्न एकदमै सजिलो भएको अरव छलेर करोड दिएर मिलाउन मिल्ने भन्दै  हिंडेका छन् । अव यस्तो अवस्थामा कसले कसलाई कारवाही गर्ने ?’ 

कम्पनीकै उच्च तहका कर्मचारीहरुसमेत पटक पटक कम्पनीका विरुद्धमा अन्तरिक राजश्व विभागमा उजुरी परेको भएपनि कारवाही नभएको दावी गर्छन् । ‘जगदम्बा स्टिलले गरेको करछलीबारे बिगतमा पनि आन्तरिक राजश्व विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ती सुद्धिकरण आयोग लगायतका विभिन्न ठाउँमा समेत उजुरी परेको थियो । तर कतै पनि कारवाही भएन । सबैतिर सेटिङ छ । जगदम्बाको हिसावकिताव एक-एक जनता अगाडी नल्याएसम्म जगदम्बाका उत्पादन हरु बहिस्कार गर्नुपर्ने अभियान चलाउनुपर्ने देखिएको छ । आन्तरिक राजश्व विभागमा समेत भ्रष्टाचार हुने कुरामा दुइमत छैन । त्यहि भएर विभागले पनि आफ्नो छवि सुधार्न र देश बचाउन जगदम्बा स्टिलमाथि छानविन गर्न जरुरी छ । जगदम्बा स्टिलमाथि निष्पक्ष छानविन हो भने अरवौं रुपैयाँको कर त उठ्छनै नेपालमा जे गरेपनि हुन्छ वा करोड घुस खुवाएर अरव छल्न पाइन्छ भन्ने’ भ्रम हट्नेछ ।’   

मिडियाको मुख थुनेर अरवौं पचाउंदै जगदम्बा स्टिल, मिडियालाई लिएर समेत यस्तो छ तीतो विगत : 
तपाईंहरु मध्ये धेरैले जगदम्बा स्टिलको विज्ञापन विभिन्न टेलिभिजन, पत्रिका वा रेडियोहरुमा सुन्नु भएको होला । उसको विज्ञापन हेर्दा वा सुन्दा उ जतिको राष्ट्रवादी कोहि नभएको जस्तो देखिन्छ । तर जगदम्बाकै उच्च पदस्त कर्मचारीहरु भने यसअघि विभिन्न संचारमाध्यममा जगदम्बा स्टिलले गरेको छलीबारे समाचार आएपनि त्यसले निरन्तरता नदिएको बताउछन् । ‘जगदम्बा स्टिलले कर छलेको समाचार यसअघि पनि विभिन्न सञ्चारमाध्यममा आएको थियो । आफैं करछली प्रकरणमा मुछिएको नेपालको एक न्यूज  च्यानलले केहि दिन यसको फलोअप समेत गरेको थियो ।’

‘तर पछी जगदम्बा स्टिलले बिज्ञापन दिने ‘डिल’ गरेर उक्त च्यानलले यो समाचार समेत रोकेको थियो । त्यसपछि नेपालका चलेका मिडियाहरुमा र त्यसमा पनि टेलिभिजनहरुमा जगदम्बाले बिज्ञापनको नाममा करोडौं रुपैयाँ खर्च गरेर आफ्नो कालो कर्तुत लुकाउने गरेको छ । जगदम्बा करोड खर्च गरेर अरव पचाउने खेलमा छ र उसले अरवौंको करछली गरिरहेको छ । यस विषयमा आन्तरिक राजश्व विभागले ध्यान नदिए देश डुबाउने जगदम्बाको फोहोरी खेल अझै रोकिने छैन । यो विषयमा सम्बन्धित निकायको ध्यान नखुले जगदम्बाको लुट कहिले पनि रोकिने छैन ।’

(हामी निरन्तर फलोअपमा छौं।)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: