यीनलाई चाहिं कानुन लाग्दैन ? च.नं. ५३९ लत्याउँदै फिलिपिन्समा मस्त कृषि मन्त्रालयका सहसचिव


काठमाडौं । निर्वाचन आयोगले सहमति नदिए पनि अहिले कृषि विकास मन्त्रालयका एक सहसचिव विदेश भ्रमणमा मस्त रहेका छन् । फिलिपिन्सको एउटा कार्यक्रममा भाग लिन गएका कृषि विकास मन्त्रालयको नीति तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाका प्रमुख सहसचिव लेखनाथ आचार्य अझै स्वदेश फर्किएका छैनन् ।

फिलिपिन्समा आयोजना हुने सीबीएसम्बन्धी गोष्ठीमा भाग लिनका लागि निम्तो आएपछि सो मन्त्रालयले निर्वाचन आयोगसमक्ष सहमतिका लागि पत्राचार गरेको थियो । तर, निर्वाचनको मिति घोषणा भइसकेको हुँदा आचारसंहिताले रोक्ने भन्दै आयोगले सहमति दिन चाहेन । मन्त्रालयले चैत १४ देखि १७ गतेसम्म फिलिपिन्समा हुने कार्यक्रममा जानका लागि सहमति मागेको थियो ।

तर, आयोगले भने गएको चैत ५ गते नै प्रस्ट शब्दमा ‘यसरी सो मन्त्रालयबाट सहमति माग भएर आएकोमा सहमति प्रदान नगरिएको’ व्यहोराको पत्र मन्त्रालयलाई पठायो । आयोगको चलानी नम्बर ५३९ को सो निर्देशनपत्रलाई लत्याउँदै सहसचिव आचार्य फिलिपिन्स गएका हुन् । आयोगले सहमति प्रदान नगरे पनि आचार्यलाई विदेश जानबाट रोक्न सचिव डा. सुरोज पोखरेलले नै नचाहेको बताइन्छ । सचिवकै सल्लाहमा आचार्य फिलिपिन्स गएको बुझिएको छ ।

फिलिपिन्सको कार्यक्रम सकिएको एक हप्ता बितिसके पनि सहसचिव आचार्य अझै स्वदेश फर्किएका छैनन् । अर्कोतिर, सो मन्त्रालयका सहसचिवमध्ये सबभन्दा धेरै विदेश घुम्ने सहसचिवमा आचार्य नै पर्दछन् । विदेश घुम्नकै निम्ति उनले मन्त्री गौरीशंकर चौधरी र सचिव पोखरेललाई रिझाएर अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखा उछिट्ट्याएको बताइन्छ । गत वर्ष मात्रै उनले आठपटक विदेश भ्रमण गरेका थिए । धेरैपटक विदेश घुम्ने सहसचिवका रूपमा आलोचित आचार्य पछिल्लो समय भने निर्वाचन आचार–संहितालाई लत्याउँदै विदेश गएका हुन् । उनलाई निर्वाचन आचार–संहिताविपरीत काम गरेको हुँदा कारबाही गर्ने संकेत आयोगले दिएको बताइन्छ । बुधबार साप्ताहिकमा खबर छ । 
प्रकाशित : Thursday, April 06, 2017

recent

Popular Posts