×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यसरी सुटुक्क ब्यालेन्स चोर्छ नेपाल टेलिकम ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – हुन त नेपाल टेलिकममा विभिन्न खाले घोटाला हुने गरेको समाचार नौलो होइन । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न करोडौं रुपैयाँको खेल हुने चर्चा हुने गरेको छ । तर ग्राहकको रकम नै चोरेर गरिने गम्भीर प्रकृतिको ठगीबारे भने कमैले सोच्न सक्छन् । तर यो तथ्य यथार्थ हो । टेलिकम प्रबन्ध निर्देशककै मिलेमतोमा टेलिकमका उच्चपदस्थ अधिकारी र इन्जिनियर मिलेर यसरी ग्राहकको रकम सुटुक्क चोरी हुने खुलासा भएको छ । ग्राहकले थाहा नपाउनेगरी थोरै–थोरै रकम हुँदै चोरी हुने गरेको स्रोतको हो ।

कसरी हुन्छ ब्यालेन्स चोरी ?
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार टेलिकमकै कर्मचारीको मिलेमतोमा ग्राहकको ब्यालेन्सबाट विनाकारण पैसा काटिने गरेको छ । स्रोत भन्छ, ‘नेपाल टेलिकमको सेवा प्रयोग गरी फोन गर्दा काटिनुपर्नेभन्दा बढी रकम काटिने गरेको छ । कतिपय अवस्थामा प्रतिमिनेट केही पैसा बढी काटिने गरेको छ भने कतिपय अवस्थामा टेलिफोननै नगरी ग्राहकको ब्यालेन्सबाट रकम चोरी हुने गरेको पाइएको छ । विशेषगरी प्रिपेड मोबाइलबाट यस्तो चोरी हुने गरेको छ । प्रविधि दुरुपयोग गर्दै टेलिकम कर्मचारीको मिलोमतोमा यस्तो हुने गरेको छ ।’
यस्तो छ चोरीको प्रमाण !
नेपाल टेलिकमको कल विवरण हेर्ने हो भने एक प्रयोगकर्ताले २०१६, १३ फेब्रुअरी २०१६ मा नेपाली समयअनुसार ११ बजेर २२ मिनेट १९ सेकेन्ड जाँदा टेलिकमसँग सम्झौता गरेर टेलिटक नेपाल प्रालिले भ्वाइस च्याट सेवा सञ्चालन गरेको १६०८ नम्बरमा फोन लागेको १ सेकेन्डमा प्रयोगकर्ताको ब्यालेन्सबाट महसुलबापत २५ रुपैयाँ ९ पैसा काटेको स्पष्ट देखिन्छ । आफूले झुक्किएर १६०७ को थिच्नुपर्नेमा १६०८ डायल गरेको उनको तर्क छ । सोही दिन उनले नेपाली समयअनुसार १० बजेर २५ मिनेट ३० सेकेन्ड जाँदा पुक सोधपुछ सेवाका लागि १६०७ नम्बरमा कल गर्दा २० सेकेन्ड अवधिको जम्मा ४१ पैसामात्र महसुल काटेको देखिन्छ ।
विशेषगरी टेलिकमले ल्याएको भ्वाइस च्याट सेवा १६०८ लाई लिएर यस्तो चोरी हुने गरेको स्रोतको दाबी छ । स्रोत अगाडि भन्छ, ‘झुक्किएर उक्त नम्बरमा डायल भएको खण्डमा समेत उक्त सेवा लिएको भन्दै ग्राहकलाई खबर नै नगरी रकम काटिने गरेको छ ।’ टेलिकमले आफैँ १६००, १६०१, १६०२, १६०६, १६०७ लगायतका नम्बर सञ्चालनमा ल्याएको छ भने १६०८, लक्की ग्रुपलाई सञ्चालन गर्न दिएको छ । झुक्किएर १६०८ मा डायल होस् भन्ने बदनियतसाथ १६०८ नम्बर लिन दिन टेलिकम र टेलिटक नेपालबीच सम्झौता गरिएको स्रोतको दाबी छ। स्रोत भन्छ, ‘झुक्किएर फोन लागेको खण्डमा सामान्य रकम काटिनु स्वाभाविक हो । तर, एक सेकेन्ड भ्वाइस च्याट गरेबापत २५ रुपैयाँ काटिने गरेको छ । झुक्किएर फोन लाग्दा सामान्य रकम काटिनु स्वाभाविक हो । तर, अन्य नम्बरमा कल गर्दा निकै सस्तो हुनु र यो सेवा प्रयोग गर्दा एक सेकेन्डकै २५ रुपैयाँ पर्नु अस्वाभाविक मानिन्छ ।’

‘लक्की ग्रुप ’ को संग्लग्नतामा ठगी ?
नेपालको प्रतिष्ठित व्यापारिक घराना मानिएको ‘लक्की ग्रुप’ यस प्रकरणमा मुछिएको पाइएको छ । लुम्बिनी विद्युत् उद्योग प्रालि, टायर हाउस प्रालि, लक्की नेपाल कम्पनी प्रालिलगायतका करिब एक दर्जन कम्पनीको छाता संगठन लक्की ग्रुपले टेलिकमभित्रकै कर्मचारीको मिलेमतोमा ठगी धन्दा चलाइरहेको छ । करिब ६ वर्षअगाडि टेलिकमले टेलिकमकै तत्कालीन नेतृत्वसँगको मिलेमतोमा लक्की ग्रुपको भगिनी संस्था टेलिटक नेपाल प्राइभेट लिमिटेडलाई नेपाल टेलिकमको ‘आईभीआर’ सेवाअन्तर्गत चार अंकको १६०८ नम्बरबाट भ्वाइस च्याट सञ्चालन गर्न दिएको र उक्त सेवाका नाममा नेपाल टेलिकमका कर्मचारीको मिलेमतोमा उक्त ग्रुपले वर्षौंदेखि ग्राहकको ब्यालेन्स चोरिरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार टेलिकमका ग्राहकबाट मोटो रकम उक्त ग्रुपले असुलिसकेको छ भने यसबापत टेलिकमका कर्मचारीले मोटो रकम कमिसनका रूपमा समेत पाउने गरेका छन् ।

यसरी हुन्छ ब्रह्मलुट !
नेपाल टेलिकमको उक्त सेवा १६०८ मा अन्य टेलिकम सेवाप्रदायक कम्पनीबाट फोन लाग्दैन । स्रोतका अनुसार अन्य टेलिकमबाट वा ल्यान्डलाइनबाट फोन लाग्ने बनाइएको खण्डमा पैसा चोरी भएको थाहा हुने हुनाले चलाखीपूर्वक टेलिकमले कमिसनको लोभमा यस्तो गरेको हो । स्रोत भन्छ, ‘पैसा चोरी भएको थाहा नदिन निकै चलाखी गरिएको छ । ल्यान्डलाइनबाट टेलिकमले सञ्चालन गरेको सोही प्रकृतिका अन्य नम्बरमा फोन लाग्ने तर १६०८ मा फोन नलाग्नुले नै टेलिकमभित्रको लुटलाई प्रस्ट पारेको छ ।’
स्रोतका अनुसार भ्वाइस च्याटका लागि सञ्चालन गरिएको उक्त नम्बर १६०८ सुचारु भएलगत्तै ग्राहकको ब्यालेन्सबाट २५ रुपैयाँ ९ पैसा स्वतः काटिने गरेको छ । तर, किन के कामका लागि कति रकम काटियो भन्ने कुनै पनि जानकारी वा सन्देश ग्राहकलाई आउँदैन । उक्त सेवा सुचारु भएपछि ग्राहकले पुनः सेवा प्रयोग नगरे पनि टेलिकमको उक्त सेवा लिएबापत प्रत्येक महिना ग्राहकको खाताबाट मूल्य अभिवृद्धि कर (भ्याट) सहित २५ रुपैयाँ ९ पैसा ग्राहकको ब्यालेन्सबाट काटी लक्की ग्रुपको भगिनी संस्था टेलिटक नेपाल प्राइभेट लिमिटेडको खातामा जम्मा हुन्छ । 
तर, यसबारे स्पष्ट रूपमा ग्राहकलाई जानकारी दिने गरिएको छैन । जब कि नेपाल टेलिकमको मिसकल अलर्टजस्ता सेवामा सेवाको समय सकिएको जानकारी आउँछ । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने ग्राहकबाट केबापत रकम काटिएको हो भन्ने जानकारी ग्राहकलाई दिनुपर्छ । तर, टेलिकमको हकमा थाहा नै नदिई सेवा सञ्चालन भइरहेको खण्डमा रकम काटिँदै आएको छ ।

प्रबन्ध निर्देशकसम्म पुग्छ कमिसन
स्रोतका अनुसार जनताबाट ठगिएको रकम टेलिकमका कर्मचारी, टेलिटक नेपालका प्रतिनिधि र टेलिकम प्रबन्ध निर्देशकले बाँडिचुँडी खाने गरेका छन् । जनताबाट उठेको रकममध्ये ५० प्रतिशत रकममात्र नेपाल टेलिकमको खातामा जम्मा हुने गरेको छ । बाँकी रकम टेलिटक नेपाल प्रालिले पाउने गरेको छ । यसरी जनताको ब्यालेन्सबाट चोरी गरिएको रकममध्ये टेलिटक नेपाल प्रालिले वार्षिक रूपमा करिब २५ करोड रुपैयाँ कमाउने गरेको छ भने उक्त रकमबाट टेलिकमका कर्मचारी तथा टेलिकम प्रबन्ध निर्देशकलाई समेत कमिसन बाँड्ने गरिएको छ ।
के भन्छन् टेलिकमकी प्रवक्ता ?
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै नेपाल टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले ग्राहकबाट पैसा चोरी हुने गरेको सत्य नभएको दाबी गरेकी छन् । उनले भनिन्, ‘नियमअनुसार पैसा काटिने हो । ग्राहकबाट रकम चोरी हुँदैन । झुक्किएर फोन लागेको भए पैसा भने काटिन्छ । त्यो नियमअनुसार कति पैसा काटिने हो भन्ने नियम टेलिकमको हो ।’ उनका अनुसार टेलिटक नेपाल प्राइभेट लिमिटेडलाई नियमअनुसार सम्झौता गरी काम दिइएको हो । उनी अगाडि भन्छन्, ‘टेलिकमले ग्राहकको पैसा चोर्छ भन्ने कुरा गलत हो । झुक्किएर अन्य सेवाका लागि नम्बर डायल हुँदा त पैसा काटिन्छ नै, त्यसमा अचम्म मान्नुपर्ने केही कारण छैन ।’ टेलिकमकै कर्मचारी मिलेर ग्राहकबाट ठगेको पैसा बाँड्ने गरेको कुरासमेत सत्य नभएको उनको दाबी छ ।
एकपछि अर्को प्रकरण बाहिर आउँदै
नेपाल टेलिकमभित्र हुने विभिन्नखाले घोटालाको यो पहिलो उदाहरण भने होइन । नेपाल टेलिकममा अख्तियारीको दुरुपयोग गर्दै विभिन्नखाले काम भइरहेको भन्ने गुनासो यसअघि पनि थुप्रैपटक आएको थियो । यसअघि टेलिकम प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र अहिलेकि महिला प्रबन्ध निर्देशकको कार्यशैली  चित्त नबुझेपछि टेलिकमकै कर्मचारीले समेत टेलिकमभित्र हुने गरेका विभिन्न घोटालाको पोल खोल्दै आएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: