×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रोकिएन टेलिकमको बदमासी : सोझा नेपाली ठगेको कमिसन टेलिकमका हाकिमको खल्तीमा !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – गत शुक्रबार कोटेश्वर, काठमाडौँ बस्ने एक ठेक्कापट्टा व्यवसायीको मोबाइलमा ४४००००००१०२०१६ बाट एसएमएस आयो । बेलायतमा संचालन भएको कोकाकोला मोबाइल ड्रमा ७५०००० डलर अर्थात आजको विनिमय दरले हिसाव गर्ने हो भने सात करोड ९९ लाख २३ हजार सात सय पाँच रुपैयाँको चिट्ठा परेको भनी उक्त एसएमएसमा जानकारी दिइएको थियो ।
सोहि नम्बरबाट गत बैसाखमा काठमाडौँ निवासी प्रेम पौडेलको नेपाल टेलिकम पोष्टपेड नम्बरमा समेत यहि विवरणसहितको एसएमएसआएको थियो । ४४००००००१०२०१६ नम्बरबाट आएको उक्त एसएमएसमा झट्ट हेर्दा निकैनै खुसीको कुरा थियो । उक्त एसएमएसमा यसरी चिट्ठा परेकाले रकम प्राप्त गर्नका लागि दिइएको इमेल ठेगानामा सम्पर्क गर्नु भन्ने समेत उल्लेख थियो । तर यसरी विदेशको नम्बरबाट आएको यस्तो एसएमएस ठगी हो भन्ने उनलाई पहिलानै थाहा भएकाले माथिका दुइ पात्रलेनै कुनै प्रक्रियापनि अगाडी बढाएनन् । 
यस्तो एसएमएसका माध्यमबाट ठगिने नेपाली थुप्रै छन् । चिट्ठा परेको एसएमएस पठाउने र उक्त रकम नेपालसम्म ल्याईपुर्याउन केहि रकम आवश्यक पर्ने भन्दै नेपालीबाट पैसा असुल्ने गरिएको पाइएको छ । यस्ता प्रकृतिका आधा दर्जनभन्दा बढी उजुरीहरु प्रहरीकहाँ परिसकेको छ । तर तपाईंलाइ सुन्दा अचम्म लाग्न सक्छ नेपालमा विदेशी ठगहरुले गरिरहेको यो धन्दामा नेपाल टेलिकमको समेत साथ छ । मोटो कमिसन पाउने लोभमा टेलिकमका इन्जिनियरहरुले यो काममा साथ दिइरहेको टेलिकम स्रोतकै दावी छ । स्रोतका अनुसार यसरी नेपाली ठगिएको खण्डमा त्यसवापतको कमिसन टेलिकमका इन्जिनियरदेखि टेलिकमकि प्रबन्ध निर्देशक कामिनीराज भण्डारीसम्म पुग्छ ।   
टेलिकमकै बदमासीका कारण यस्तो हुन्छ 
नेपाल टेलिकमकै कर्मचारीको मिलेमतोमा कमिसनको लोभमा यस्तो अवैधानिक काम हुने गरेको छ । नेपालमा अन्तर्रा्ष्ट्रिय गेटवे प्रयोग गर्नु अवैधानिक मानिएपनि टेलिकमकै कर्मचारीहरु विदेशका यस्ता ठगहरुसँग मिलेर यस्ता एसएमएसहरु नेपाल पठाउन सहयोग गरिरहेको स्रोतको दावी छ । नेपाल टेलिकमको गेटवे प्रयोग गरी आउने यस्ता एसएमएस नियन्त्रण गर्न भन्दै नेपाल टेलिकमले महँगो शुल्कमा एसएमएस फायरवाल सिष्टम समेत जडान गरेको थियो । तर त्यस्ता एसएमएसबाट कोहि नेपाल ठगियो भने त्यसवापत पनि टेलिकमका कर्मचारीहरुलाई कमिसन आउने हुनाले नियोजित रुपमै कतिपय एसएमएस नेपालका नम्बरहरुमा पठाउन टेलिकमका कर्मचारीहरुले सहयोग गरिरहेको टेलिकमकै एक कर्मचारीले बताए ।
कसरी भित्रिन्छ एसएमएस ?
नेपाल टेलिकमको अन्तराष्ट्रिय गेटवे प्रयोग गरी यस्ता एसएमएसहरु नेपालमा आउने गरेका छन् । विदेशबाट आउने कुन एसएमएसलाई नेपालका नम्बरहरुमा पठाउने र कुन नम्बरलाई नपठाउने भन्ने ’फिल्टर’ गर्ने एसएमएस फायरवाल सिष्टम राखिएको हुन्छ । एसएमएस फायरवाल सिष्टमले जुन एसएमएसलाई नेपालमा भित्रिन दिन्छ, त्यो एसएमएस नेपाल भित्रिन्छ र जुन एसएमएसलाई उक्त फायरवाल सिष्टमले भित्रिन दिंदैन, उक्त एसएमएसहरु नेपाल भित्रिन पाउँदैनन् । नेपाल टेलिकमको तथ्यांक हेर्ने हो भने विशेषगरी फेसबुक र गुगलबाट आएका अन्तराष्ट्रिय एसएमएसहरु नेपाल भित्रिने गरेका छन् । तर यस्ता ठगीका एसएमएसहरु नेपाल भित्र्याउने काममा टेलिकमकै कर्मचारी लागि परेको स्रोतको दावी छ ।
प्रवक्ता र सह प्रवक्ताकै कुरा बाझियो
यस्ता एसएमएस नेपाल भित्र्याएर नेपाल टेलिकमकै कर्मचारीको मिलेमतोमा जनता ठग्ने काम भइरहेकोबारे हामीले सोधेको प्रश्नमा नेपाल टेलिकमकि प्रवक्ता वैद्यले नेपाल टेलिकमको गेटवे प्रयोग गरी आउन सक्ने एसएमएसलाई नियन्त्रण गर्न एसएमएस फायरवाल सिष्टम प्रयोग गरिएको र २०१५ डिसेम्बर १ देखि नै यस्ता एसएमएसमा नियन्त्रणमा आइसकेको दावी गरेकी गरेकी छन् । तर, प्रवक्ताले दाबी गरेको मितिपछि पनि यस्ता एसएमएस आएकोबारे प्रश्नको उत्तर दिँदै टेलिकमकै सहप्रवक्ता डिल्ली अधिकारीले भने त्यस्ता एसएमएस पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको स्वीकारेका छन् । 
सहप्रवक्ता अधिकारीले टेलिकमको गेटवे प्रयोग गरी आउने अनाधिकृत एसएमएस नियन्त्रणमा ल्याउन एसएमएस फायरवाल सिष्टम प्रयोग भएको भए पनि सबै एसएमएसलाई फिल्टर गर्न नसक्दा केही यस्ता एसएमएस अझै आउने गरेको बताएका छन् । यस्तै केही एसएमएस नेपाल भित्र्याएर ग्राहक ठगी गर्न राम्रै कमिसन खेलबारे जान्न खोज्दा आफूलाई थाहा नभएको बताए ।
टेलिकमको सहयोग बिना यस्ता एसएमएस भित्रिदैनन : प्रविधिविज्ञ
यता बिगत लामो समयदेखि इन्टरनेट सेख्युरिटि तथा प्राविधिक क्षेत्रमा काम गरिरहेकाहरुले भने नेपाल टेलिकमको सहयोग बिना यस्ता ठगीका एसएमएसहरु नेपालमा आउनै नसक्ने दावी गरेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै कोटेश्वरमा सफ्टवेर कम्पनी संचालन गरेर बसेका एक प्रविधिबिज्ञ भन्छन्, ’टेलिकममा फायरवाल सिष्टम प्रयोग गरिएको छ । कुन एसएमएस नेपाल भित्र्याउने वा नभित्र्याउने भन्ने कुरा त्यो फायरवाल सिष्टमलाई कसरी प्रयोग गर्ने भन्ने कुराले निर्धारण गर्छ । त्यसैले यो सरासर नेपाल टेलिकमको बदमासी हो ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: