×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अब तपाईंको सवारी साधनमा युरो-४ इन्धन : थाहा पाउनुस् यी जानकारी

काठमाडौं – नयाँ सम्झौताअनुसार भारतबाट शनिबारदेखि युरो–४ मापदण्डको पेट्रोल र डिजेल लोडिङ सुरु भएको छ । सो इन्धन सोमबारबाट बजारमा पठाउने आयल निगमले जनाएको खबर आजको नयाँ पत्रिकामा छ।
आयल निगमका प्रवक्ता सीताराम पोख्रेलले शनिबार भारतीय आयल कर्पोरेसन (आइओसी) को सबै डिपोमा युरो–४ मापदण्डको पेट्रोल र डिजेल लोडिङ भएको बताए । उक्त इन्धन निगमको डिपोसम्म आइतबार दिउँसो र साँझसम्म आइपुग्नेछ । ‘त्यसपछि सोमबारदेखि देशैभर युरो–४ मापदण्डको इन्धन पठाउन सुरु हुन्छ,’ उनले भने । हाल युरो–३ मापदण्डको इन्धन प्रयोगमा छ ।
युरो–४ इन्धनमा ५० पिपिएम सल्फर र ३५ प्रतिशत एरोबेटिक्स हुन्छ, जसले प्रदूषण नियन्त्रणमा सघाउ पुग्ने निगमले जनाएको छ । हाल खपत भइरहेको युरो–३ मा सल्फर एक सय ५० पिपिएम र एरोबेटिक्स ४५ प्रतिशत हुन्छ ।
बुधबारदेखि आयात : आयल निगमका अनुसार आइओसीको डिपोबाट बुधबारदेखि नै युरो–४ मापदण्डको इन्धन आयात सुरु भएको हो । तर, नियमित आएको छैन । ‘बुधबारदेखि युरो–४ को इन्धन आइओसीको केही डिपोले छिटपुट रूपमा दिएका हुन्,’ प्रवक्ता पोखे्र्रलले भने, ‘तर, सम्झौताअनुसार शनिबारदेखि आधिकारिक रूपमा आउन थालेको हो र अब नियमित रूपमा यही गुणस्तरको इन्धन आउँछ ।’ एक साताअघि मुम्बईमा भएको इन्धन खरिद सम्झौता नवीकरणमा १ अप्रिलदेखि युरो–४ मापदण्डको इन्धन आयात हुने व्यवस्था थियो ।
कहाँबाट आउँछ ? : आइओसीको बरौनी रिफाइनरीबाट विराटनगर, अमलेखगन्जसम्म इन्धन आउँछ । सिलगुढीबाट निगमको झापामा रहेको डिपोमा इन्धन आउँछ । त्यस्तै, रक्सोलबाट अमलेखगन्जसम्म र त्यहाँबाट काठमाडौं, जनकपुर र मन्थलीसम्म इन्धन ढुवानी हुन्छ । आइओसीको बेतालपुर डिपोबाट भैरहवा र पोखरामा तथा गोन्डा डिपोबाट नेपालगन्ज, सुर्खेत र दाङमा इन्धन पुग्छ । आइओसीको इलाहाबादमा रहेको बन्थारा डिपोबाट धनगढी र दिपायलमा इन्धन ढुवानी हुन्छ । सबै डिपोबाट युरो–४ इन्धन ढुवानी हुने निगमले जनाएको छ ।
युरो–४ को फाइदा : युरो–४ मापदण्डको इन्धन प्रयोग गरिएको सवारीसाधनबाट निस्कने धुवाँमा विषादीको मात्रा कम हुन्छ । सवारीसाधनको माइलेज क्षमता बढ्छ । यो इन्धनले इन्जिनको घर्षणलाई कम गरी इन्जिन बिगार्न दिँदैन र इन्जिनलाई अधिकतम क्षमतामा सञ्चालन गर्न मद्दत गर्छ, जसबाट सवारीसाधनको पावर र पफरमेन्स उत्कृष्ट हुन जान्छ । यसले इन्जिनको भित्री भागलाई सधैँ सफा राख्छ ।
युरो–४ उत्पादन गर्न तुलनात्मक रूपमा बढी प्रशोधन प्रक्रिया सञ्चालन गर्नुपर्छ । त्यसैले मूल्य बढी पर्न जान्छ । अहिले नेपाली बजारमा युरो–४ मापदण्डका धेरै नयाँ सवारीसाधन भित्रिसकेका छन् । विशेषगरी डिजेल इन्जिनयुक्त गाडीलाई धेरै फाइदा पुग्छ ।
युरो–४ मापदण्डको इन्धन प्रयोग भएको सवारीसाधनले धुवाँ कम फाल्ने भएका कारण वातावरण प्रदूषणमा कमी आउँछ । त्यस्तै सवारीसाधनको आयुसमेत बढ्छ । ‘युरो–४ मापदण्डको इन्धन प्रयोग भएको सवारीसाधनले प्रदूषण कम गर्ने, आयु बढी हुने हुन्छ । काठमाडौंजस्तो प्रदूषण बढी भएको सहरका लागि त युरो–४ को तेल नै ठीक हुन्छ,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने ।
मुख्य फाइदा : युरो–४ इन्धन प्रयोग गर्दा सवारीसाधनबाट निस्कने धुवाँमा विषादीको मात्रा कम हुन्छ । साधनको माइलेज बढ्छ ।
प्रतिलिटर ४१ पैसा महँगो : युरो–४ मापदण्डको पेट्रोल र डिजेलको मूल्य साबिकको भन्दा प्रतिलिटर ४१ पैसा महँगो परेको निगमका निमित्त नायव प्रबन्ध निर्देशक नागेन्द्र साहले जानकारी दिए । ‘मूल्यमा थोरै मात्रै अन्तर पर्छ,’ उनले भने, ‘त्यसको तुलनामा वातावरणमैत्री र माइलेजका हिसाबले धेरै गुणा फाइदाजनक छ ।’ आयात हुनेमध्ये ७० प्रतिशत इन्धन सवारीसाधनमा खपत हुने भएका कारण माइलेजका लागि फाइदाजनक हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: