मिडिया, सत्यता र नैतिकता (रोहन शर्माको विश्लेषण)
Powered by Blogger.
मिडिया, सत्यता र नैतिकता (रोहन शर्माको विश्लेषण)


यहाँ ब्रोकरले मिडिया चलाउँछन्, मिडियाले ब्रोकर कम्पनी चलाउँछन्, मिडिया आफै लगानीकर्ता छन्, लगानिकर्तानै मिडिया छन् । बजारलाई सकेसम्म आफु अनुकुल चलाउने प्रयास गरिन्छ । कतिपय मिडियाले लेखेको समाचार हेर्दा पुर्वाग्रहबाट अभिप्रेरित रहेको देखिन्छ । एकोहोरो रुपमा कुनै कम्पनी बिषेशको खेदो खन्ने त कुनैको बखान गर्दै बारम्बार बेमौसामी बाजा बजाउने मिडिया अहिले च्याउसरीनै छन् ।

चैत्रको तेस्रो हप्तातिर अगाडी एउटा अनलाईइन मिडियाले लेख्यो ,"चैत्रमा बजार नबढ्ने बैसाखमा मात्र बढ्ने' अन्तत चैत्रको अन्तिम हप्ता बजार उत्साहजनक रुपमा बढ्यो। अच्चम्म लाग्दो कुरा त यो छ कि मिडियाले कसरी ठोकेरै यो समय घट्ने, यो समय बढ्ने भन्ने थाहा पायो? के पुँजी बजारको चाबी ताला उसको हातमा छ ? नेप्सेको मिटर उस्को खल्तीमा छ ? 

राष्ट्र बैंक , बैंक र लगायतले तरलता धेरै हदसम्म सहज भैसकेको अभिब्यक्ती दिएको र आम सर्वसाधारणले धेरै हदसम्म तरलता सहज महसुष गरिसक्दा पनि एउटा नाम चलेको मिडियाले लेख्यो , "तरलता सँकट अझै गहिरियो।"

यस बिषयमा फेसबुक फोरममा एउटा कमेण्ट यस्तो थियो , "यसले चाहिं पक्कै आफ्नो सबै सेयर बेचिसकेछ!"
कालोलाई सेतो अनि सेतो लाई कालो बनाउन अहिलेको अवस्थामा धेरै गाह्रो छ। जसले यो प्रयास गर्छ उ स्वत पलायन भएर जान्छ। 

पछिल्लो समयमा कतिपय मिडियाहरुले लगानिकर्तालाई प्राबिधिक तथा आधारभुत तालिम दिने गरेको पाईन्छ। जुन सचेतनाको हिसाबले धेरै राम्रो काम हो। तर अहिले यो बिषयले ब्यवसायिक रुपनै लिएको पाईन्छ। बिज्ञापन हेर्दा लाग्छ "यहाँबाट तालिम लिने हो भने चाहिं करोडपती नै भईन्छ कि क्या हो" केहिले तालिम लाई सेवाभावको  रुपमा लिएका होलान् तर धेरैले यसलाई कमाउने भाँडोनै बनाईसकेका छन्। 

केहि समय अगाडी फेसबुकमा रामाईलो फोटो भेटियो, एउटा ब्युटी पार्लरको बोर्डमा यहाँ म:म चाउमिन पाईन्छ भन्ने लेखिएको थियो। अहिले बजारमा छुट्टै उदेश्यका साथ स्थापित कन्सल्टेन्सी, मिडिया हाउस, बिज्ञापन एजन्सीहरुले समेत ब्युटी पार्लरको सिको गर्दै "यहाँ सेयर तालिम दिईन्छ" भनेर नयाँ अनी सिकारु लगानिकर्ताको ध्यान तान्ने प्रयास गरेको पाईन्छ।

पछिल्लो समय आफुलाई अब्बल र पहुँच भएको देखाउने मिडियाको काईदा पनि गज्जबकै छ। आफ्नो समाचारलाई जष्टिफाई गर्न उनिहरु उच्च पदस्त ब्याक्तीको नामनै लिएर समाचार छाप्ने गर्दछन्। यदि कुनै कागजी होस् या काँचको मिडिया होस्, जसले ब्याक्तिगत पहुँचको आधारमा नियामक वा उच्च पदमा आसिन कुनै बरिष्ट ब्यक्तित्वको नाम लिएर कुनै समाचार लेख्छ भने त्यो ब्याक्तिगत स्वार्थबाट प्रेरित अनि ईन्साईडर ट्रेडिङनै हो एक हिसाबले। सार्वजनिक पद धारण गर्ने कुनै पनि जिम्मेवार ब्याक्तीले च्याउ मिडियालाई तत्काल कुनै सँवेदनशिल बिषयमा प्रतिकृया दिन्छ भने त्यो पनि ईन्साईडर ट्रेडिङनै हो मेरो बुझाईमा। सार्वजनिक पद धारण गर्ने ब्यक्तित्व ले दिने ब्याक्तिगत धारणालाई हामिले कुनै पनि हालतमा आधारिक मान्नु हुन्न।लगानिकर्ता सचेत होऔं।

केहि समय अगाडीको कुरा हो कुनै मिडियाद्वारा सञ्चालित प्राबिधिक बिश्लेशण सम्बन्धी तालिम लिएका एक व्यक्तिसँग म सँगको च्याटमा भन्दै थिए, "सर अबको ट्रेण्ड हेर्दा नेप्से ११५० बाट तल झर्ने देखियो। स्टप लस गर्नको लागी अझै पनि समय छ है बेचिहाल्नुस्, अस्ती सेमिनार भएको थियो ठुलै हस्तीहरुको जमाघट पनि भएको थियो। उनिहरु पनि बजार अझै घट्ने छ भन्दैछन्।" यस लगत्तै १३०० को आसपासमा रहेको नेप्से ३ हप्ताको अन्तरालमा १७०० को बिन्दु पार गर्‍यो। ३ दिन अगाडी उनले पुन म्यासेज पठाउँदै भने, "सर अब नेप्सेले २००० सजिलै पार गर्ने देखियो!"

केहि समय अगाडी आफुले लेखेको एउटा लेख याद आयो ," हाम्रो बजारको सन्दर्भमा प्राबिधिक बिश्लेशण आए आँप गए झटारो।"

अहिले बजारमा केहि यस्ता समुहहरु(प्राबिधिक तालिम प्राप्त) रहेका छन् ,उनिहरु प्राय सबै ब्रोकर कम्पनी चहार्छन्, अनि यो कम्पनीको सेयर खरिद गर्नु , यसलाई फाली हाल्नु, हाम्रो जर्नल अनुसार अब बजार यतातिर जान्छ, हाम्रो टिमले यो बेच्यो, यो किन्यो, आदी ईत्यादी। यस्ता कुराहरुले पुराना लगानिकर्तालाई त केहि फरक पार्दैन तर ब्रोकर कम्पनी डुलिरहने नयाँ अनि साना लगानिकर्ताको मनोबिज्ञानलाई भने धेरै हदसम्म प्रभाव पार्ने गर्दछ।

सार्वजनिक मिडियाहरुलाई अनुरोध:

☆चर्चित हुनको लागी मात्र लेख्छु भन्ने नसोच्नुहोस्, सत्य तथ्य घटनालाई दोहोरो अर्थ नलाग्ने र सर्बसाधारणले बुझ्ने सहज भाषामा लेख्नुहोस्।

☆ कुनै कम्पनी बिषेशलाई तोकेर यो किन्नु, यो बेच्नु भनेर पनि नभन्नुहोस्, कम्पनीको अवस्था अवसर चुनौतीलाई केलाईदिनुहोस्, ताकी निर्णय लगानिकर्ता आफैले लिन सकुन्।

☆ आफुले तालिम दिएका बिद्यार्थीहरुलाई अनुशासन सम्बन्धी पनि तालिम दिन सिकाउनुहोस्, ताकि भोलीका दिनमा बजारमा उनिहरु जिम्मेवार रुपमा प्रस्तुत होउन्, जसले गर्दा तपाईंहरुकै साख बढ्ने हो।

☆ तपाईंहरुले लेखेको कुरा कसैबाट प्रेरित वा कसैलाई बायस गरेको सर्वसाधारणले ठ्याक्कै थाहा पाउँछन्, तसर्थ सन्तुलित हिसाबले खबर सम्प्रेषण को प्रयास गर्नुहोस्।

☆ पहिले नै छाप्छु भन्ने उदेश्यले हतारमा लेख्दा लाख लाई करोड अनि करोड लाई अरब भनेर लेखिएका उदाहरणहरु धेरैछन्, गल्ती लेखेर सबैभन्दा पहिले छाप्दा कसरी फर्स्ट भइन्छ? तसर्थ छाप्नु अगाडी एकपल्ट प्रुफरिडिङ गर्नुहोस्। 

☆ पत्रकार बन्धुहरुलाई कहिले काहिं आफु सँलग्न मिडियाको दवाबपनि पर्न सक्छ, नचाहँदा नचाहँदैपनि लेख्नुपर्ने हुनसक्छ त्यस्तो अवस्थामा आफ्नो नैतिकता,पत्रकारिताको धर्म नबिर्सनुहोला। 

मिडिया क्षेत्रमा धेरै बुज्रुकहरु हुनुहुन्छ। मैले उहाँहरुलाई सिकाउन खोज्नु भनेको हत्केलाले घाम छेक्न खोज्नु बाराबरनै हो। तैपनी एउटा साधारण लगानिकर्ता र पाठकको हिसाबले भन्नु पर्दा अहिलेको तिब्र प्रतिस्पर्धाको अवस्थामा बिक्न र टिक्नको लागी फरक प्रस्तुतीका साथ समाचारमा सत्यता र बिचारमा नैतिकता त हुनैपर्छ।


Published Date : Saturday, April 15, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , ,

Loading...