×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सहकारी सञ्चालक फरार भएपछि सर्वसाधारणको ७ करोड डुब्ने अवस्था !

धनुषाको जनकपुरस्थित एक सहकारी संस्था एक्कासि बन्द भएपछि रकम बचत गर्ने सर्वसाधारण बिचल्लीमा परेका छन् । सर्वसाधारणबाट बचतका लागि दैनिक रूपमा उठाइँदै आएको करिब ७ करोड रुपैयाँ उठाएर सहकारी बन्द गरी सञ्चालक फरार भएपछि निक्षेपकर्ता बिचल्लीमा परेका हुन् ।
एउटै सहकारी फरक नाममा सञ्चालन
संस्था विनासूचना बन्द भएपछि बचत गरेको करोडौँ रुपैयाँ डुब्ने त्रासले सर्वसाधारण चिन्तामा परेका छन् । धनुषा र महोत्तरीका विभिन्न पाँच स्थानमा फरक–फरक नामले सञ्चालनमा रहेको सहकारी सञ्चालकबीचको विवादले बन्द भएको हो । घटना सार्वजनिक भएलगत्तै बचत रकम माग गर्दै सर्वसाधारण दैनिकजसो विभिन्न निकाय धाउन थालेका छन् । संस्थाले धनुषाको जनकपुरमा सहारा पञ्चकन्या बचत, क्षीरेश्वरनाथ नगरपालिकामा शाखा कार्यालय, यदुकोहा नगरपालिकामा सहारा बचत, महोत्तरीको बर्दिवास नगरपालिकामा पञ्चकन्या बचत र महोत्तरीकै गोनरपुरामा पञ्चकन्या बचत नाम गरी पाँच स्थानमा बचतको नाममा सर्वसाधारणसँग पैसा उठाउँदै आएको देखिएको छ ।
धनुषामा रहेको संस्था बन्द भएपछि खुल्यो रहस्य
५ चैतमा धनुषाको यदुकोहास्थित सहारा बचतले अचानक कार्यालय बन्द गरी सबै कर्मचारी गायब भएपछि सर्वसाधारणले पैसा डुबाउन खोजेको खुलासा भएको थियो । ६ चैतमा यदुकोहाका स्थानीयले संस्थामा बचत गरेको पैसा फिर्ता पाऊँ भनी इलाका प्रहरी कार्यालयमा सहकारी सञ्चालक पुनम साहविरुद्ध निवेदन दिएपछि उनी पक्राउ परेकी छन् । सर्वसाधारणबाट रकम असुल्ने सहकारी सञ्चालकमाथि कारबाहीका साथै बचत फिर्ता पाउनुपर्ने माग स्थानीयको छ । ०६६ मा सहकारी डिभिजन कार्यालय जनकपुरमा सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था नामले सहकारी दर्ता भएको थियो । संस्था सञ्चालक समितिमा जनकपुरका मनोजकुमार शर्मा र कृष्णकुमार साहलगायत छन् ।
सर्वसाधारणको पैसाबाट छोराछोरीलाई डाक्टरी अध्ययन
५ वर्षदेखि अडिट नगराएको संस्थाले सर्वसाधारणसँग उठाएको पैसाले सञ्चालक पुनम साहले आफ्ना छोराछोरीलाई मेडिकल पढाइरहेको रहस्य खुलेको छ । यद्यपि, यसको पुष्टि छानबिनपछि खुल्ने सरकारी निकायको भनाइ छ ।  नयाँ पत्रिकामा खबर छ । जिल्ला सहकारी संस्थाका धनुषा अध्यक्ष ध्रुवनारायण यादवले सहकारी सञ्चालकको बचाउ गरेका छन् । सर्वसाधारणको पैसा डुब्नुमा सञ्चालकको गल्ती नभएको दाबी गर्दै उनले भने, ‘सर्वसाधारणले संस्थाको गतिविधिमा निगरानी नराखी पैसा बचत गर्नु गलत हो ।’
सञ्चालकमाथि छानबिन गर्दै प्रहरी
डिभिजन सहकारी कार्यालय प्रमुख रवीन्द्रकुमार यादवले सर्वसाधारणको पैसा डुबाउने सहकारीलाई कारबाही गर्ने निकाय प्रहरी भएको जानकारी दिए । उनले भने, ‘सञ्चालकले पैसा लिएर भागेको खण्डमा त्यसलाई प्रहरीले कारबाही गर्नुपर्छ ।’ जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मनोजकुमार यादवले सहकारीले सर्वसाधारणको रकम ठगी गरेको विषयमा छानबिन भइरहेको बताए । सञ्चालक पुनम साहको नाममा रहेको जायजेथा जमिन बेचेर बचतकर्ताको पैसा तिर्न उनका परिवारसँग छलफल भइरहेको उनको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: