निर्वाचन, नेता र जनता

  • भुवन रोका 
गणतान्त्रिक मुलुक नेपालमा हुन् गईरहेको स्थानीय निर्वाचनमा के फरकपन पाउनुभयो ? के पार्टीका घोषणा पत्रमा नयाँपन छ ? के नेताको भोट माग्ने शैलिमा फरकपन छ? के बिभिन्न पार्टीका कार्यकर्ताहरुबीच एक-अर्कामा सम्मानको भावना छ ? केही देखिदैन नयाँपन । 

गणतान्त्रिक नेपालमा स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा ती पुरानै शैलीका निर्वाचनभन्दा फरक र नयाँपन केही देखिएको छैन् । लोकतन्त्रमा आफ्ना प्रतिनिधिहरु चुन्ने उन्नत प्रविधिनै निर्वाचन हो । यसको माध्यमबाट उत्कृष्ट प्रतिनिधि चुनेर बिकासका सम्भावनाहरुलाई साकार रुप दिन आतुर हुन्छन् हरेक क्षेत्रका जनता । त्यसैले पनि निर्वाचन, नेता र जनता एकअर्कामा समन्धित छन् । 

निर्वाचनले धेरै कुरा लिएर आउंछ सधै । कहिले नआउने नेताज्युलाई गाऊँको घरघरमा लिएर आउंछ निर्वाचन, संगै आउछ घोषणापत्र । बिकासको काल्पनिक सपना बोकेर आउंछ निर्वाचन । बृद्धहरुको भत्ता बनेर आउछ निर्वाचन । बेरोजगारीलाई रोजगार बनेर आउछ निर्वाचन। किसानलाई मंसीर बनेर आउछ निर्वाचन । पिडीतलाई राहत, महिलाहरुलाई समानता, सर्बहाराको मुक्ति, बिद्यार्थीहरुलाई निःशुल्क शिक्षा, खोलाहरुमा पुल, हिमालमा हवाईमार्ग, पहाडमा सडकमार्ग र मधेशमा रेलमार्ग, देशमा शान्ति अनि बिकास, भ्रष्टचार र भ्रस्टचारीको बिनास, सिमानामा पर्खाल आदी आदी बनेर आउछ निर्वाचन ।

नेताज्युहरुपनि मायालाग्दो बनेर आउछन् मानौ महिना दिनदेखि पानीपनि पिउन नपाएको जस्तै । सामान्य पोशाकमा गाऊँघरका उकाली ओरालीहरुमा च्यातीयको रुमालले पसीना पुछ्दै गाऊँलेहरुसंगै हातेमालो गर्दै हिडीरहेका हुन्छन् मानौ बर्षौदेखि त्यो बाटोमा लगातार डुलिरहेका छन् । गाऊँको धारामा पानी बनेर आउछन् नेताहरु । भोका र नागांको लागी खाना र नाना बनेर आउछन् नेताहरु । बुढाबुढीलाई नमस्कार, केटाकेटीहरुलाई प्रोत्साहन, युवालाई प्रतिबद्धता, विधवालाई सपना, टुहुरालाई अभिभावकत्व, महिलालाई बिभिन्न कोटा आदी आदी बोकेर आउछन् नेताहरु निर्वाचनमा ।

जनतापनि रमाउंछन्  जब निर्बाचनमा नेताहरु असीमित आशा र भरोसा बनेर आउंछन् । जिन्दाबादको नारामा जिन्दाबाद थप्दै फिता चुडिएको चप्पल फ्याट्ट फ्याट्ट पडकाउदै विस्व युद्धका सैनिकजस्तै नेताको पछि लागिरहन्छन् जनताहरु । आफ्नो नेताको निम्ति आफन्त र साथिभाईसंगैपनि लड्न पछि पर्दैनन् जनताहरु । नेता ज्युको सेवामा तछाड मछाड गर्दै भोज भतेरको आयोजना गर्छन् जनताहरु । फेरिपनि निर्दोष छन् जनताहरु, मात्र बिकास र शान्तिको असीमित आशा र भरोसामा बाँचेका छन् जनताहरु । 

अन्तत: चुनाव सकिन्छ, नेताहरु हराउछन्, घोषणा पत्र कुहिन्छ अनि जनता पुरानै जिवन शैलीमा फर्कन्छन् । बि. स. २००७ सालमा प्रजातन्त्रको स्थापना पश्चात बि. स. २०१५ सालदेखि हुदै आएको आम निर्बाचन होस वा स्थानीय निर्वाचन, अहिल्यसम्मका सबै निर्वाचनहरुको साझा परिणाम निरासाभन्दा केही उपलब्धि छैन् । न कुनै पार्टीले आफ्नो घोषणापत्र अनुसार कार्य गर्न सकेका छन् न त नेताले बाढेका सपना पूरा गर्न सकेका छन् न त जनताले नै राम्रा प्रतिनिधी चुनान सकेका छन् । फेरिपनि जनतामा विस्वास छ कुनै न कुनै दिन कुनै न कुनै नेताले त बिकास गर्लान की भनेर त्यसैले त निर्वाचनमा भोट हालिरहन्छन् जनताहरु । स्थानीय चुनावको मुखैमा उभिएको छ देश यो निर्वाचनको प्रकृति हेर्दा पुरानै संस्कार हाबी भएको देखिन्छ जसले बिकासका सम्भावनाहरुलाई साकार रुप दिने लक्षण देखिदैन । 

अन्तमा: यो स्थानीय निर्वाचनमा जनताको भुमिकामा नयाँपन हुनुपर्छ । निकै बुद्दीमानीपूर्वक आफ्नो मतको प्रयोग गर्न जरुरी छ । यो अन्तिम अवसर हो आफ्नो गाऊँ, नगर र देशको बिकास गर्ने । एक गलत भोटले हामी अबिकसित देशका नागरिक बनिरहनेछौँ भने एक सहि भोटले संमृद्ध नेपाल निर्माणमा सहयोग पुग्छ । अकल्पनीय अठोट र नोटमा भोट नसाटी सवल, सक्षम, सृजनशील र ईमान्दार नेता छानौँ । 

(लेखक नयाँ शक्ति पार्टीको प्रवासी संगठन अन्तराष्ट्रिय नेपाली समाज जापानका प्रवक्ता हुन् । )
प्रकाशित : Tuesday, May 09, 2017

recent

Popular Posts