सेयर बजारमा उत्साहित गृहिणी

  • श्रद्धा अर्याल
कुनै समय श्रीमान्को मात्र आस गरी घरखर्च चलाउनुपर्ने राधिका शर्मा अहिले सेयरबाट प्राप्त प्रतिफलबाट नै आफ्नो घर–व्यवहार चलाउँछिन् । काठमाडौं, पुतलीसडकस्थित निभ सेक्युरिटिजमा भेटिएकी राधिका धेरैका लागि उदाहरण नै बनेकी छन् । बिहान पारिवारिक कामकाज सकेर ११ देखि ३ बजेसम्म उनी सेयर ब्रोकर कार्यालयमा हुन्छिन् । ३ वर्ष पहिले ३० हजार रुपैयाँ लगानी गरी सेयर बजारमा पाइला राखेकी राधिकाको सेयर बजारमा अहिले ३० लाख रुपैयाँभन्दा बढीको लगानी छ । राधिकाले सेयर तालिम पनि लिएकी छन् । पुरुषको मात्र बाहुल्य रहेको सेयर कारोबारमा सेयर बजारको अवस्था नियाल्दै समयानुसार महिला पनि अघि बढ्नुपर्ने राधिकाको धारणा छ ।

सधैंजसो पुरुषमात्र देखिने सेयर ब्रोकर कार्यलयहरूमा हिजोआज महिला लगानीकर्ताको उपस्थिति बाक्लिन थालेको छ । घरको कामधन्दा सिध्याएर महिला लगानीकर्ताहरू ब्रोकर कार्यालयमा पुग्ने गर्छन् । राधिका जस्तै दुई सन्तानकी आमा शोभा विष्ट पनि दिउँसो ब्रोकर कार्यालयमा पुग्ने गर्छिन् । शोभा दुई वर्षअघि एक निजी कम्पनीको जागिर नै छाडेर सेयर बजारतिर आकर्षित भएकी हुन् । शोभाले निजी कम्पनीमा काम गर्दा धेरै समय दिएर पनि मासिक रूपमा आउने तलब थोरै भएको कारण जागिर छाडेको बताइन् । उनको भनाइमा समयमै कार्यालय पुगेर काम गर्दा पनि हाकिमको स्याबासी नपाउने त्यहीमाथि घरपरिवारलाई आवश्यक समय दिन नसक्नु नै जागिरे जीवनको दु:खद् पाटो भएको थियो । त्यति मात्र होइन, सेयर बजारमा प्रवेश गरिसकेपछि विभिन्न बैंक तथा वित्तीय संस्थाको सूचना हेर्ने, समाचार हेर्ने र पढ्ने बानीसमेत बसिसकेकाले त्यसले आफ्नो व्यक्तिगत बौद्धिकतासमेत बढेको उनको अनुभव छ । २२ लाख रुपैयाँ बराबर लगानीको हिसाब राखेकी शोभाको सुरु लगानी २ लाखमात्र थियो । 

कतिपय महिला सेयर लगानीकर्ता श्रीमानले सेयर बजारमा समय दिन नसक्दा आफूले नै त्यसबारे अध्ययन गरी बजारमा प्रवेश गरेको बताउँछन् । सेयर बजारमा प्रवेश गर्नुअघि सेयरबारे अध्ययन गर्नुपर्ने, कम्पनी विश्लेषण गरेरमात्रै लगानी गर्नुपर्ने महिला लगानीकर्ताको सल्लाह छ । त्यसैगरी सुरुमा सेयरमा लगानी गर्दा प्राथमिक सेयर बजारबाट मात्रै दोस्रो बजारमा प्रवेश गर्नुपर्ने उनीहरू सुझाउँछन् । यसले गर्दा जोखिम बहन गर्नसक्ने क्षमताको विकास हुन्छ । यसले महिलाको आत्मविश्वास र सशक्तीकरणमा थप बल पुगेको छ । घरायसी कामकाज गर्ने गृहिणीमात्र होइन, बेरोजगार महिलासाथै सरकारी जागिरबाट पेन्सन भएका महिला र निजी क्षेत्रमा कार्यरत महिला नै किन नहुन्, सबैको सेयर बजारप्रति आकर्षण बढेको छ ।

तुलनात्मक रूपमा हेर्ने हो भने महिला शिक्षाले समाज सुधारमा परिवर्तन ल्याएको छ । यो समयमा ठ्याक्कै भन्नुपर्दा धेरै यस्ता उदाहरण छन्, जसमा महिला र पुरुष बराबरी रूपमा प्रस्तुत भएका छन् । पारिवारिक रूपमा पनि गृहिणीको सोचले नै एउटा परिवारमा खुसी छाउन सक्छ । श्रीमान्को आम्दानीलाई सही स्थानमा खर्च गर्नु र बचत गरी सन्तानको भविष्यका लागि सञ्चित गर्न गृहिणीकै प्रमुख भूमिका मानिन्छ । राधिका शर्मा र शोभा विष्टको भनाइमा परिवारलाई पहिले त सही विचारले डोर्‍याउँछ, अनिमात्र बाँंकी कुरा आउँछ । उनीहरूलाई पनि सेयर बजारमा भित्र्याउन श्रीमान्को बौद्धिक तथा सहयोगी सोचले निकै प्रभाव पारेको हो । 

सेयरबाट आएको नाफालाई पुन: सेयरमै लगानी गरी पुँजी वृद्धि गरिएको अनुभव लगानीकर्ताको छ । त्यो बाहेक पनि लगानीकर्ता महिलाले भैपरी आउने घरायसी काम र अन्य कामका लागि गतिलो आधार बनाएका छन्, सेयरबाट आर्जित हुने प्रतिफललाई । चाहे त्यो पैसा छोराछोरीको स्कुल, कलेजको मासिक शुल्क बुझाउन होस् या विवाह, व्रतबन्ध जस्ता कर्मका काम नै किन नहोस् । 

महिला लगानीकर्ताको यो उल्लासमय सहभागिताले उनीहरूको आत्मविश्वास बढ्नुका साथै उनीहरू आर्थिक रूपमा सबल बनेका छन् । कतिपय महिलाले घर खर्चकै केही पैसा बचाएर लगानी गरेका छन् भने केहीले श्रीमान्ले भने बमोजिम पुँजी लगानी गरेका छन् । कोही घरजग्गा धितो राखी बैंकबाट ऋण लिएर पनि सेयर बजारमा प्रवेश गरेका छन् । कतिपयले भने फुर्सदको समय सदुपयोग गर्दै सेयर बजारमा प्रवेश गरी यसलाई रोजगारीकै रूपमा समेत लिएका छन् । पुँजी बजारमा महिलाको सहभागिताले उनीहरू सबै क्षेत्रमा कर्मठ छन् भन्ने उदाहरण दिएका छन् । महिलालाई पुँजी बजारमा प्रवेश गराउन सरकारी स्तरबाट नै विभिन्न जनचेतनामूलक कार्यक्रम हुनसके उनीहरू चुलो–चौकोमा मात्रै सीमित हुनपर्दैन थियो । यसले परिवारको आम्दानी र महिलाको बौद्धिक विकासमा पनि टेवा पुर्‍याउने थियो । 

सेयर बजारमा लगानी गरेपछि गुमाउन कोही चाहँदैन । तर नगुमाउनका लागि बजार विश्लेषण हुनु अत्यन्त आवश्यक छ । हुन त बजार सधंै बढ्छ भन्ने निश्चित नभएझैं सधंै घट्छ भन्ने पनि हुँदैन । तर लगानीकर्ताले आफ्नो मार्जिन राखेर मात्र बजारमा प्रवेश गर्‍यो भने ऊ जोखिमबाट मुक्त भई नाफा आर्जन गर्न सक्छ । सेयर बजारमा प्रवेश गरेपछि धैर्य र संयमतासाथै सही समयमा सही निर्णय गर्नसक्ने क्षमतासमेत हुनु जरुरी छ । हिजोआज चियागफदेखि, रेस्टुरेन्ट होस् या विभिन्न सरकारी तथा निजी कार्यालय नै किन नहोस्, जताततै सेयर बजारको चर्चा हुन्छ नै । कुन सेयर किन्ने, कसले के दिँदै छ ? कुन किन्दा ठीक हुन्छ ? अबको राजनीतिले सेयर बजारलाई कस्तो प्रभाव पार्ला भन्ने जस्ता अनेकन गफगाफ हुने गर्छन् । यो सेयरप्रति देखिएको आकर्षण नै हो । तर आकर्षण मात्रै हेर्ने होइन कि त्यसको नकारात्मक पक्षसमेत केलाउनुपर्ने हुन्छ । सेयरमा लगानी गर्दा त्यसको मार्जिन विन्दु, दीर्घकालीन लगानी साथै पोर्टफोलियो लगानी, सेयर किन्ने कम्पनीको त्रैमासिक र वार्षिक रिपोर्ट समीक्षा गरेर मात्र बजारमा प्रवेश गरियो भने पक्कै पनि यो बजारले निराश बनाउँदैन ।

सेयर बजारमा लगानी गर्दै आएका ठूला लगानीकर्ताहरूले महिला लगानीकर्तालाई आफ्नो क्षमताले भ्याउनेगरी आफ्नो आर्थिक अवस्था बुझेर मात्र लगानी गर्न सुझाउँछन् । कतिपय महिला बजार घटने बित्तिकै आत्तिएर बजारबाट निस्कने प्रवृत्ति भएकाले धैर्य हुनुपर्ने उनीहरूको सुझाव छ ।

सेयर बजारमा सधैं फाइदा हुन्छ भन्ने छैन । तर बजारको उतार–चढावलाई नियाल्दै बजारमा प्रवेश गर्ने र निस्कने बाटो पनि आफैंले रोज्नुपर्ने हुन्छ । अन्यथा नराम्रो परिणामको सामना बाहेकको अर्को विकल्प छैन । सेयर बजारमा लाग्नुअघि पत्रपत्रिकामा आएका कम्पनी विश्लेषण, आफूले किन्न लागेको कम्पनीको रिपोर्ट, विभिन्न समाचारमूलक सामग्री, वित्तीय बजारको निरन्तर अध्ययन पनि गर्नुपर्ने लगानीकर्ताहरूकै सुझाव छ । अरूको लहलहैमा लागी नाफामात्र हुन्छ भनी सेयर बजारमा प्रवेश गर्दा निराश बन्न पुगेका धेरै लगानीकर्ता हामीमाझ नै छन् । सेयर बजारमा महिला लगानीकर्ताको सहभागिता उल्लेख्य बढेको छ । लगानीकर्ताको रूपमा मात्रै नभई, सेयर ब्रोकर कार्यालयकै सञ्चालकको रूपमा समेत महिलाको सहभागिता छ । - (कान्तिपुर राष्ट्रिय दैनिकबाट साभार)
प्रकाशित : Wednesday, May 10, 2017

recent

Popular Posts