×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

क्यानेडियन पिआरको पछि लाग्दा…, यसरी डुब्यो सपना र पैसा

काठमाडौं – महानगरीय अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको कार्यकक्षमा शुक्रबार दिउँसो दुई युवक हस्याङफस्याङ गर्दै प्रवेश गरे । एसपी ज्ञवालीले समस्या सोधेपछि उनीहरूले भने, ‘ठगियौँ सर, क्यानाडा जाने सपनामा बर्बाद भयौँ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।
ती दुई युवकलाई क्यानाडामा मासिक २८ सय क्यानेडियन डलरको जागिर र मासिक ५ प्रतिशत बोनस दिने आश्वासन दिइएको थियो । क्यानाडाको पिआर (स्थायी बसोबास अनुमति) पनि मिलाउने विश्वास दिलाइएको थियो । क्यानेडियन पिआरको सपना बोकेर उनीहरू केही दिनअघि दिल्ली उडेका थिए । दिल्ली गएपछि दलालहरूको चक्करमा फसेर काठमाडौं फर्किएका उनीहरूले प्रहरीमा उजुरी दिएका हुन् ।
कमजोर आर्थिक अवस्था भएका उनीहरूमध्ये एकले १८ लाख र अर्काले दलाललाई १६ लाख रुपैयाँ बुझाएका थिए । दलालहरूले धेरै सपना देखाएर आफूहरूलाई ठगेको उनीहरूले बताएका छन् ।
एसपी ज्ञवालीको कार्यकक्षमा दैनिक उनीहरूजस्तै युवाहरू क्यानाडाको सपनामा लाखौँ ठगिएर पुग्ने गरेका छन् । ‘केही वर्षअघि अमेरिका जान भनेपछि नेपालीहरू मरिहत्ते गर्थे, अहिले त्यस्तै अवस्था क्यानाडा जानका लागि छ,’ एसपी ज्ञवाली भन्छन्, ‘क्यानाडा जान भनेपछि आ“खा चिम्लिएर मान्छेहरूले पैसा फालेको देख्दा अचम्म लाग्छ । यसरी ठगिएको भन्दै हरेक दिन उजुरी आउने गरेको छ ।’ तुलनात्मक रूपमा भिसा केही सहज भएकाले क्यानाडा पठाउने भन्दै ठगी व्यापक भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
दम्पतीको ५१ लाख गुम्यो
सुनसरीका एक दम्पतीको क्यानाडा जाने सपनामा ५१ लाख गुमेको छ । उनीहरू पनि एक दलालमार्फत पिआर लिएर क्यानाडा जान खोजेका थिए । भिसा नै देखाएपछि लोभिएर उनीहरूले पैसा दिए । तर, त्यो भिसा नक्कली भएको खुलेपछि उनीहरू पनि प्रहरीमा पुगेका छन् । उनीहरूले ऋण गरेर नै दलाललाई पैसा बुझाएका थिए । भिसा नै आएपछि विश्वस्त भएर पैसा दिँदा आफूहरू फसेको उनीहरू बताउँछन् ।
एक वर्षयता क्यानाडाको सपनामा सयौँ व्यक्ति ठगिएको प्रहरी अधिकारीहरू बताउँछन् । राम्रो आर्थिक अवस्था भएका व्यक्तिहरूसमेत क्यानाडामा गएपछि सुख हुने भ्रममा ठगिएका छन् । इन्टरनेटमा आउने सबै कुरा विश्वास गर्ने प्रवृत्तिले धेरैजना ठगिएको एसपी श्याम ज्ञवाली बताउँछन् । सक्कलीजस्तै देखिने भिसा देखाएर संगठित गिरोहले ठगी गरेका हुन् । धेरैले गैरकानुनी बाटोबाट जाँदा समस्यामा पर्न सकिन्छ भन्नेसमेत ख्याल नगरी पैसा बुझाउने गरेका छन् ।
केही विदेशी विश्वास दिलाएर ठग्न नेपाल नै आउने गरेका छन् । गत फागुनमा प्रहरीले भारतीय मूलका क्यानेडियन नागरिक भेलेनटचेरी जेम्सकुटीलाई पक्राउ गरेको थियो । पुरानो बसपार्कस्थित भिसा एन्ड इमिग्रेसन सर्भिसमार्फत उनले ठगी गरेका थिए । मुख्य नाइकेहरू विदेशमै बस्ने र उनीहरूका एजेन्टले पनि योजनाबद्ध रूपमा ठग्ने भएकाले ठगीमा संलग्न धेरै फरार छन् ।
मुम्बई र दिल्लीमा गिरोह
प्रहरीका अनुसार क्यानाडा पठाउने नाममा ठगी गर्ने गिरोहका नाइकेहरू भारतको दिल्ली र मुम्बईमा छन् । उनीहरूले नेपालमा आफ्ना एजेन्टहरू फैलाएर ठगी गरिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
रवि लुथ्रा नामक भारतीय नागरिकको गिरोहले तीन सयभन्दा धेरैलाई ठगी गरिसकेको छ । सो गिरोहका राज भन्ने विजेन्द्रसिंह यादवलाई पक्राउ गरी अनुसन्धान भइरहेको, तर मुख्य नाइकेहरू फरार रहेको काठमाडौं परिसरका डिएसपी सिद्धिविक्रम शाहले बताए । सो गिरोहले नेपालीको सात करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
त्रिपुरेश्वरमा वे टु क्यानाडा इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक प्रकाश बज्राचार्यलाई मात्र सो गिरोहले करिब तीन करोड रुपैयाँ ठगी गरेको छ । गिरोहमा संलग्न गोपाल नेपाल, सुलभ क्षेत्री, नरेन्द्र पण्डित, प्रेरणा नायकलगायत पनि फरार छन् । पक्राउ परेका सिंहमाथि ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको डिएसपी शाहले बताए ।
क्यनाडापछि जापान र युरोप
क्यानाडापछि जापानमा पठाइदिने भनेर ठगीका घटना धेरै रहेको एसपी श्याम ज्ञवालीले बताए । जापान जान लाखौँ बुझाएका बैंकक तथा भियतनाम पुगेर फर्कने गरेका छन् । त्यस्तै, युरोपियन मुलुक पठाइदिने भनेरसमेत ठगी हुने गरेको छ । आफूहरूको उच्च व्यक्तिहरूस“ग चिनजान रहेको र कार्यक्रममा सहभागी हुन भिसा लगाउने भनेर विश्वासमा पारी ठगी हुने गरेको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: