×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्र बैंकले कारवाही गरेका व्यक्ति बढुवा भएपछि नेपाल ग्रामीण बिकास बैंकमा यस्तो लफडा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पाँचवटा ग्रामीण विकास बैंक गाभिएर बनेको नेपाल ग्रामीणविकास बैंकमा बढुवालाई लिएर लफडा निम्तिएको छ । केहि दिनअघि अधिकृत स्तरको बढुवाका लागि प्रकाशित भएको नतिजामा राष्ट्र बैंकले कारवाही गरेका व्यक्ति र विभिन्न राजनीतिक संगठनमा लागेका व्यक्ति हावी भएको भन्दै लफडा निस्किएको हो । खुला परिक्षामा ५० प्रतिशत र गोप्य अंकमा ५० प्रतिशत गरी प्रकाशित गरिएको नतिजामा गोप्यतर्फ निकै ठुलो रकमको चलखेल भएको भन्दै कर्मचारीहरु कानुनी प्रक्रियामा समेत अगाडी बढेपछी यो घटनाले ठुलो रुप लिएको बैंकका कर्मचारीहरुको भनाइ छ । प्रकाशित नतिजामा राष्ट्र बैंककै केहि कर्मचारीहरुकोसमेत मिलेमतोमा पैसाको चलखेल गरी नतिजा प्रकाशित भएको भन्दै केहि कर्मचारीहरुले समूहगत रुपमा मुद्धा हालेपछि यो घटना झन् चर्चामा आएको बुझिएको छ ।
भएको के हो ?
ग्रामीण बिकास बैंकका एक कर्मचारीले दिएको जानकारी अनुसार अनुभव र शैक्षिक योग्यतामा सिनियर रहेका हरुलाई फेल गरिएको छ भने कम योग्यता र अनुभव भएकाहरुलाई बढुवा गरिएको छ । ‘बढुवामा मनलाग्दी भएको छ । यसअघि खराव ऋण प्रवाह गर्ने, अरुको पैसा खाने लगायतकालाई बढुवा दिईएको छ भने सच्चा र इमान्दार कर्मचारीहरुलाई बढुवामा फेल गराइएको छ । ‘बैंकका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने।
‘बढुवामा गर्दा बदनियत देखिएको छ । रविन्द्र बराल, मोतीराम अधिकारी लगायतका व्यक्ति बढुवाको विषयलाई लिएर ठुलै रकमको चलखेलमा लागेका छन् । यहाँसम्मकी यसअघि नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका गिरिराज हिमाललगायतकालाई समेत बढुवा गरिएको छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकका एक कर्मचारीले भने, ‘नेपाल राष्ट्र बैंकले कारवाही गरेका व्यक्तिचाहिं योग्य हुने र अरुचाहीं फेल हुने यो कस्तो परिक्षा हो ?’ उनले परिक्षाको नतिजा प्रकाशित गर्दा मोटो रकमको चलखेल समेत भएको आरोप लगाएका छन् ।
यता मोतीराम अधिकारीले भने आर्थिक चलखेल भएको कुरा गलत भएको बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘रकम चलखेल भएको कुरा गलत हो । फेल भएका साथीहरु रिसाउनु सामान्य हो । रिसाएकै भरमा उहाँहरुले गलत आरोप लगाउनुभएको हुनसक्छ ।  रकम चलखेल भएको भए त्यसको प्रमाण पेश गर्न म चुनौती दिन्छु ।’
यता गिरिराज हिमाललेसमेत आफु कुनैपनि कारवाहीमा नपरेको स्पष्ट पारेका छन् । ‘जागिर खाएदेखि मलाइ कुनैपनि दाग लागेको छैन । कसैले केहि भन्यो भन्दैमा त्यसको पछी लाग्नु गलत हो । यसबारेमा प्रमाण भए देखाउन चुनौती दिन्छु ।’ उनले भने ।
बुटवलका कर्मचारीहरु आन्दोलनमा !
बैंकका कर्मचारीले दिएको जानकारी अनुसार यता बढुवामा मनपरी भएको भन्दै बुटवलमा नतिजा निस्किएकी दिन कर्मचारीहरुले आन्दोलन गरेका थिए । उनीहरुले कार्यालय घेराउ गरी सम्बन्धित व्यक्तिहरुलाई नियन्त्रणमा लिन खोजेपनि रविन्द्र बराल र मोतीराम अधिकारी त्यहाँबाट भागेको कर्मचारीहरुको भनाइ छ । कुल ९७ कर्मचारीमध्ये मध्यमान्चल क्षेत्रमा १५ जनाको नाम निस्किएको छ । पस्चिमान्चलका कर्मचारीहरुले समेत मुद्धा हालेका छन् ।
यता मोतीराम अधिकारीले मोतीराम अधिकारी र रविन्द्र बराल भागेको भन्ने कुरा गलत भएको बताएका छन् । ‘म उक्त दिन यहि कार्यालयमै बसेर काम गरेको छु । सत्य तथ्य बुझेरमात्र समाचार लेखिदिनुहोला ।’ उनले भने ।  साथै उनले यस कुरामा कुनैपनि मुद्धा नपरेको दावी गरेका छन् । ‘कुनैपनि मुद्धा कतै परेको छैन । यो सामान्य बढुवाको कुरा हो । यसमा मुद्धा हाल्नुपर्ने केहि छैन । पुनरावेदनको मौका समेत दिइने हुनाले यस कुरामा मुद्धा हाल्नुपर्ने कुरा केहि पनि छैन ।’ अधिकारीले भने ।

(यसअघि यो समाचारमा अजयकुमार झाको नाम भुलबस् प्रकाशित भएकोमा सच्याईएको छ । थप विवरण र कागजी प्रमाणसहितको फलोअप हामी आगामी अंकमा प्रकाशन गर्नेछौं ।)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: