लक्ष्मी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - लक्ष्मी बैंकको सर्वसाधारण समूहको ३ लाख ९४ हजार ९३९ कित्ता सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन हो । शुक्रबार कार्यालय समयसम्म मात्र लिलामीमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । लिलामीको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ वानेश्वर काठमाडौंमा पुग्नेगरी फारम बुझाउनु पर्नेछ । बोलपत्र असार २५ गते बिहान ९.३० बजे अनमोल क्याटरिङ सर्भिस थापागाँउ काठमाडौंमा खोलिनेछ । बैंकले लिलामीमा सेयर नपरेको पैसा सेयर बाँडफाँट भएको तेस्रो दिनदेखि लक्ष्मी क्यापिटल मार्केट नयाँ वानेश्वर काठमाडौंबाट फिर्ता गर्नेछ । लक्ष्मी बैंकको बिहीबारको बजार मूल्य ३९० रुपैयाँ छ ।

८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन प्रयासरत रहेको लक्ष्मीले वैशाख ३ गतेदेखि जेठ ७ गतेसम्म १००% हकप्रद सेयर बिक्री खुला गर्दा नबिकेको सेयर लिलामीमा ल्याएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लक्ष्मीको चुक्ता पुँजी ३ अर्ब ३ करोड ९२ लाख २९ हजार रुपैयाँ रहेको छ । बिक्री भइसकेको हकप्रद र लिलामीमा बिक्री हुने सेयर हिसाब गर्दा बैंकको चुक्ता पुँजी ६ अर्ब ३१ करोड ८० लाख ६० हजार ६०० रुपैयाँ पुग्छ । यो चुक्ता पुँजीमा असार १३ गतेको साधारण सभाबाट पारित १८.२९% बोनस जोड्दा भने चुक्ता पुँजी ७ अर्ब ४७ करोड ३६ लाख ३ हजार ८८३ रुपैयाँ हुनेछ । तेस्रो त्रैमासमा बैंकले ५६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लक्ष्मीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ६ पैसा छ ।
प्रकाशित : Friday, July 07, 2017

recent

Popular Posts