कामना र सेवा विकास बैंकको साउन २० देखि एकीकृत कारोवार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - साउन २० गतेदेखि कामना विकास बैंक र सेवा विकास बैंकले एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्ज प्रक्रियामा रहेका यी बैंकलाई राष्ट्र बैंकले असार २० गते र कम्पनी रजिष्ट्रारको कार्यालयले साउन ११ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको थियो । एकीकृत भएपछि सम्पूर्ण कारोबार कामना सेवा विकास बैंकको नामबाट हुनेछ । यता, साउन २० को एकीकृत कारोबारको तयारी गर्न दुवै बैंकले साउन १९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द गर्ने भएका छन् । राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसँगै यी दुई बैंक मर्ज प्रकृयामा पुगेका हुन् । दुवै बैंकको गत जेठ २५ गते भएको विशेष साधारण सभाले १ः१ अनुपातमा स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गरेका थिए ।

मर्जपछि बैंकको केन्द्रीय कार्यालय पोखरा लेखनाथ–८ सिर्जनाचोकमा रहनेछ । हाल सेवा विकास बैंकको केन्द्रीय कार्यालय रहेको बुटवल अब कामना सेवा विकास बैंकको शाखा हुनेछ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कामना विकास बैंकको चुक्ता पुँजी ८० करोड ४३ लाख ७९ हजार रुपैयाँ रहेको छ । कामनाले असार ११ देखि साउन १५ गतेसम्म २४ लाख १३ हजार १३७.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ । हकप्रद बिक्रीपछि भने कामनाको चुक्ता पुँजी १ अर्ब ४ करोड ५६ लाख ९२ हजार ९६०.९५ पैसा हुनेछ । यस्तै सेवा विकास बैंकको पनि गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९४ करोड १८ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
प्रकाशित : Friday, July 28, 2017

recent

Popular Posts