×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्ना क्यासिनोको १२ करोड राजस्व नतिरी इम्पेरियल क्यासिनो चलाउन होटल अन्नपूर्णलाई लाइसेन्स दिएको खुलासा !

होटल अन्नपूर्णकी कार्यकारी सञ्चालक सृजना राणा र उनका पति समेत रहेका होटलका अध्यक्ष कपिल राणाले सरकारी स्वामित्व समेत रहेको होटललाई पारिवारिक रुपमा सञ्चालन गर्दै अन्नपूर्ण इन्टरनेशनल प्रालिको नाममा सञ्चालित अन्ना क्यासिनोले तिर्नुपर्ने १२ करोड राजस्व नतिरी क्यासिनोको भवन नै भत्काएर क्यासिनो इम्पेरियल सञ्चालन गर्ने तयारी गर्दैगर्दा लेनदेनमा असहमति भएपछि घटना सार्वजनिक हुनपुगेको छ ।
होटल अन्नपूर्णमा सञ्चालित अन्ना क्यासिनोले तिर्नुपर्ने रोयल्टी गत असारमै ११ करोड ९६ लाख १५ हजार १ सय ७५ रुपैयाँ थियो । सो रोयल्टी नतिर्ने बहाना बनाउन सृजना राणाले महाभूकम्पपछि क्यासिनो अन्ना सञ्चालन गरेको भत्काएर त्यहाँका काठपात र सरसामान आफ्नो निजी काममा प्रयोग गरेकी थिइन् । क्यासिनो अन्नाले तिर्नुपर्ने सो रकम महिनैपिच्छे बढ्दै गएको छ । 
तर उनले सो रकम नै नतिरी जीवनबहादुर शाही पर्यटनमन्त्री भएपछि गत कात्तिकमा धिरेन मोक्तानको नाममा र भारतीय नागरिक आशिष पटेलको लगानीमा क्यासिनो इम्पेरियल सञ्चालन गर्न प्रि—लाइसेन्स लिएकी थिइन् । होटल अन्नपूर्णको कुमारी रेष्टुरेन्ट भएको ठाउँमा साततले भवन बनाएर २० वर्षका लागि क्यासिनो सञ्चालन गर्न दिने प्रस्तावमा सहमति हुन नसकेपछि पटेल र सृजना राणाबीच अहिलेको कफीशप भएको भवनामा इम्पेरियल क्यासिनो सञ्चालन गर्ने सहमति भएको थियो ।
सो सहमतिपछि मन्त्री जीवनबहादुर शाहीकी क्यासिनोप्रेमी श्रीमतीमार्फत कुरा मिलाएर क्यासिनो सञ्चालनको प्रिलाइसेन्स दिलाइएको थियो । कफीशपभन्दा तल अण्डरग्राउण्डमा दमास ज्वेलरी शप रहेको छ । क्यासिनो सञ्चालन गर्ने प्रि—लाइसेन्स लिएपछि सृजनाले दमास ज्वेलरीलाई ठाउँ छाड्न पत्र काटेकी थिइन् । सहमतिविपरीत आफूलाई उठाउन लागेपछि त्यसका सञ्चालक नवराज नेपाल अदालत गएका थिए तर उनले बहाल सम्झौताअनुसार भाडा चुक्ता गरेको नपाइएपछि मुद्दा हारेका थिए । 
कफीशपभन्दा माथिल्लो तलामा रहेको कुमारी बैंकलाई पनि त्यहाँबाट सरेर अन्नपूर्ण आकेर्डमा ठाउँ दिने सहमति भइसकेको थियो । तर होटल अन्नपूर्ण आफैँले चलाउँदै आएको र केही समयअघि मात्र योजनाबद्ध रुपमा अन्न क्यासिनो परचक्रीलाई टाँसो लगाइएको र त्यहाँका मजदुरहरुले अहिलेसम्म आफूले पाउनुपर्ने करोडौँ रुपैयाँ ज्याला नपाएको समाचार आर्थिक दैनिकले खुलासा गरेपछि त्यसको सन्देश पटेलसमक्ष पुगेको थियो । संसार बदल्ने तागत राख्ने मजदुरसँग सृजनाले आफूलाई दुरुपयोग गरेको सुइँको पाएपछि पटेलले विभिन्न बहाना निकाल्दै क्यासिनो इम्पेरियल सञ्चालन गर्ने प्रक्रिया आलटाल गर्नथालेका थिए ।
पटेललाई यसअघि यसैगरी होटल याक एण्ड यतीमा कब्जा गरेर रोयल क्यासिनो सञ्चालन गर्दै आएका सुरेन्द्र सिंहले १२ करोड रुपैयाँ ठगेका थिए र सोही रकमले रोयल क्यासिनोले तिर्नुपर्ने १८ करोड रोयल्टीमध्ये १० करोड रुपैयाँ तिरिएको थियो । 
भारतका एक धनाढ्य पटेललाई सुरेन्द्र सिंहले ठगेको भन्दा पनि ठूलो चक्रव्यूह बनाएर ठग्ने योजना बनाएर सृजना राणा अघि बढेको थाहा पाएपछि गत फागुन नै पटेल पछि हटेका थिए र गत चैतमा उनीहरुबीच वैमनश्य नै भएको थियो । सो विवादपछि सृजनाले धिरेन मोक्तानको नाममा क्यासिनो इम्पेरियल खोल्न लिइएइको प्रिलाइसेन्स रद्द गराउन पर्यटन मन्त्रालयमातहतका निकायमा निवेदन दिएपछि उक्त विवाद सतहमा आएको हो । राणाले मोक्तानको नामको प्रि—लाइसेन्स रद्द गराएर बाबा श्रेष्ठलाई क्यासिनो सञ्चालन गर्न दिनलागेको बुझिएको छ । श्रेष्ठ केही वर्षदेखि श्रीलंका बस्दै आएका थिए र हालै मात्र नेपाल फर्किएका छन् ।
सृजनाले आफ्ना परिवारका सदस्यहरु र आफन्तहरुलाई समेत सेयर सदस्य बनाएर आशिष पटेलसँग साझेदारीमा सञ्चालन गर्नलागेको क्यासिनो इम्पेरियल सञ्चालनमा नआउँदै विवाद भएपछि त्यसको लाइसेन्स रद्द गर्ने प्रक्रिया अघि बढाएकी हुन् । १२ करोड रोयल्टी तिर्नुपर्नेमा रकम नतिर्न र छल्नकै लागि पहिलेको क्यासिनो अन्ना बन्द गरेकै होटल अन्नपूर्णलाई इम्पेरियल क्यासिनो सञ्चालन गर्न अनुमति दिइएको समाचार प्रकाशनमा आएपछि पर्यटन मन्त्रालय नै राजस्व मार्ने मतियार बनेको खुलासा हुनपुगेको छ ।
अन्ना क्यासिनो होटलको स्वीकृतिमा सञ्चालन भएको थियो । क्यासिनोले तिर्नुपर्ने राजस्व नतिरी भागेपछि सरकारले सो रकम होटललाई तिराउनु असान्दर्भिक देखिँदैन । होटल अन्नपूर्णमा सञ्चालन भएको र हाल बन्द गरिएको अन्ना क्यासिनोको सन्दर्भमा त त्यो अनिवार्य जस्तै हुन जान्छ । जानिफकारहरुका अनुसार अन्ना क्यासिनो होटल अन्नपूर्णले नै सुरु गरेको थियो र पछि मात्रै अन्य व्यक्तिलाई टाँसो लगाएर आफू उम्किएको थियो । 
टाँसो लगाइएका व्यक्तिहरुले रोयल्टी नतिरेपछि सो तिर्ने दायित्व पनि होटल अन्नपूर्णकै हुन्छ र पहिलेको बक्यौता कर १२ करोड रुपैयाँ नतिरेसम्म सोही होटलमा अर्को क्यासिनो सञ्चालन गर्न अनुमति दिनु उपयुक्त हुँदैन तर यो यथार्थता हुँदाहुँदै पनि सृजना राणाले तत्कालीन मन्त्री जीवन बहादुर शाहीलाई पट्याएर इम्पेरियल क्यासिनो सञ्चालन गर्ने प्रि—लाइसेन्स लिएकी थिइन् । अहिले ती व्यक्तिसँगको मनोमालिन्यपछि त्यसलाई खारेज गर्ने प्रक्रिया अघि बढाए पनि त्यसका पछाडि नयाँ क्यासिनो खोल्ने योजना लुकेको छ । उही होटलमा सञ्चालन गरेर राजस्व तिर्ने करोडौँ रुपैयाँ बक्यौता हुँदाहुँदै त्यसलाई थाती राखेर अर्को क्यासिनो सञ्चालन गर्न अनुमति दिने तयारीले पर्यटन मन्त्रालयका अधिकारीहरु आफैँ अनियमितताको मतियार बनेको पुष्टि हुँदै गएको छ । – आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: