×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पशुपतिनाथमा कथित ‘बाबा’हरुको ठगीधन्दा, सजिलै लुटिन्छन् जनता, मासिक लाख बढी कमाइ !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भगवानमाथि आस्था राख्नेहरु भगवान् को मुर्तिमा मात्र होइन, अनेकौं खालका जीवित व्यक्ति माथिपनि भगवाननै सरह आस्था राख्छन् । टोल- टोलमा भेटिने माताहरुदेखि गल्ली गल्लीमा भेटिने कथित ज्योतिष, बाबा वा यस्तै नामले परिचितहरुमाथि आस्था राख्नेहरुको जमातपनि बेग्लै छ काठमाडौँमा । अरु त अरु विभिन्न वहानामा पशुपतिमा आएर बसेका कथित बाबाहरु, वा भनौं जोगीको भेषमा ठगी गर्न पल्किएकाहरुमाथिपनि आस्था राख्ने मानिसहरु भेट्न पाइन्छ काठमाडौँमा । 
साउनमा फष्टाएको ठगीधन्दा, महिनाको लाख बढी कमाइ !
साउन लागेदेखिनै पशुपतिमा बसेका अनेकौं खालका बाबाहरुलाई ‘दशैं’ आएको छ । उनीहरु कुनै न कुनै बहानामा जनता ठगीरहेका छन् । उदाहरणला लागि यी जोगीलाई हेर्नुहोस् । शिरमा पिपलको पात राखेर हातमा पनि पिपलकै पात बोकेर बसेका छन् यिनी । अगाडी खरानीपनि राखेका छन् । आफुलाइ ढोग्न आउनेहरुलाई यीनले खरानी लगाईदिन्छन्, र पिपलको पातले टाउकोमा केहि झारफुक गरेजस्तो गरी मन्त्र पढेजस्तो गर्छन् । सोझा जनताहरु फसिहाले । र सफल भयो उसको व्यापार । यति गरिसकेपछि केहि पैसा जोगीलाई दिनै पर्यो । यो एक वा दुइजनासँगमात्र होइन धेरैसँग यो सिलसिला चल्ने गर्छ । एक जनाबाट १० देखि सय रुपैयाँ । दिनमा थुप्रै मानिसहरुसंग यसैगरी पैसा असुल्छन् यी ठग बाबा । दिनको औसत ३५०० कमाइ । अर्थात महिनाको झन्डै एक लाख रुपैयाँ । यिनको ठगी व्यापार चलिरहेको छ । यिनी त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता ठग कथित बाबाहरु धेरै छन् काठमाडौँमा। 

सजिलै ठगीन्छन् नेपाली, विदेशीलाई ‘रेट’ नै बेग्लै !

आफ्नो जीवनमा अनेक खालका दुख भएका नागरिकहरु यस्ता कथित बाबासँग सजिलै ठगीन्छन् । अझ साउनको सोमबारको दिन त यिनीहरुको कमाइ पत्याईनसक्नु हुन्छ । साउनको सोमबार ५० रुपैयाँदेखि ५०० रुपैयाँसम्म दिने भक्तजनहरुपनि फेला पर्छन् । अझ पर्यटकका लागि उनीहरुको रेट बेग्लै छ । उनीहरुसँग बसेर फोटो खिचेको ३०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म लिने गरेका छन् उनीहरुले । पर्यटकहरुलाई त कतिपय ठग बाबाहरुले रेट नै भनेर फोटो खिच्ने गरेका छन् । र उनीहरुले सोहि अनुसार पैसा लिने गरेका छन् । विशेषगरी हरेक महिनाको सोमबार, साउनभर, तीज, शिवरात्री लगायतका पर्वहरुमा यिनीहरुको कमाइ पत्याईनसक्नु हुन्छ । न यिनीहरुले यत्रो मोटो रकम कमाएवापत कर तिर्नुपर्छ, न पशुपति क्षेत्र विकास कोषमा बुझाउनुनै पर्छ । 
कहाँ जम्मा छ यति ठुलो रकम ?
अर्को प्रश्न उब्जिन सक्छ, यति ठुलो आय हुने जोगी बाबाहरुले पैसा कहाँ राखेका छन् होला । अचम्मको कुरा त के हो भने यिनीहरु आफुसँग धेरै पैसा राख्दैनन् । जोगी बाबा अनुसार पैसा राख्ने आ-आफ्नै ठाउँ छन् । कतिपय जोगी बाबाका ठेकेदार हुन्छन् र उनीहरुले यो रकम राखीदिन्छन् । पशुपतिमा माग्न लगाएर आफु अचम्मको व्यापार गरिरहेका ठेकेदारहरुको जमात पनि सानो छैन काठमाडौँमा । केहि यस्ता ठग बाबाहरु भने जति कमाएपनि बचाउँदैनन् । दिनभर कमाएको रकमले राती रक्सी पिउने बाबाहरुपनि छन् । यतिसम्मकि दिनभर बाबाको भेषमा हिंड्ने तर रातमा आफ्नै घर वा डेरा पुग्नेहरु पनि छन् । पशुपतिमा यतिसम्मका ढोंगी बाबाहरु पनि छन् कि दिनभर बाबाको भेषमा जनता ठग्ने र रातभर शुर र सुन्दरी खोज्दै हिंड्ने । तर सुन्दा पनि अपत्यारिलो लाग्ने भएकाले यो तथ्यको कसैलेपनि खोजी गरेको छैन ।
साँचो अर्थका जोगीहरु पनि छन् 
यसो त पशुपतिमा सबै ठगहरु मात्र होइनन्, साँचो अर्थमा सबैकुरा त्यागेर भगवानमा लिप्त हुनेहरु पनि छन् । तर यिनीहरुले आफुलाई शक्तिमान ठान्दैनन् । आफुसँग हुँदै नभएको शक्ति देखाउने प्रयास गर्दैनन् । अरुलाई ठग्दैनन् । दिनरात भगवानको किर्तनमा व्यस्त हुन्छन् र मागेको भिक्षाबाट गुजारा चलाउँछन् । ठग बाबाहरुका कारण यिनीहरुलाई पनि मर्का परेको छ । सबैले सबैलाई एउटै टोकरीमा राखेर हेरिदिंदा उनीहरुको अस्तित्व नै धरापमा परेको छ।    


साउन सन्दर्भका यी सामाग्रीहरु छुटे कि ?

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: