×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

टेन्सबर्ग बीयरको ठगी : नक्कली ‘स्टिकर’ टाँसेर खुलेआम बिक्री, आन्तरिक राजश्व विभाग मौन !

स्रोत नखुलेको सम्पत्ति जम्मा गरेको कारण विवादमा तानिएका शंकास्पद व्यक्ति तेजेन्द्र खड्काले बुटवलमा टाइगर ब्रुअरीको कारखाना खोलेर सञ्चालनमा ल्याएको टेन्सबर्ग बियरमा राजस्वको नक्कली ‘स्टिकर’ टाँसेर बजारमा निर्बाध बिक्रीवितरण भइरहेको छ । कमजोर आर्थिक हैसियतका खड्काले त्यति ठूलो कारखाना कसको लगानीमा खाले भनेर आशंका गरिएको बेला उनले राजस्वकै नक्कली ‘स्टिकर’ प्रयोग गरेपछि यसमा उच्च सरकारी अधिकारीको संरक्षणमा अवैध लगानी लगाइएको आशंका गरिएको छ ।
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको सहयोगमा खड्काले नक्कली ‘स्टिकर’ लगाएर बियर बजारमा लगेका हुन् । शर्मा कर फछ्र्योट आयोगको नाममा गरिएको अनियमितताका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पर्नुअघि नै खड्काले नक्कली ‘स्टिकर’ प्रयोग गरेको कारण यसमा शर्माको संरक्षण र सहयोग देखिएको हो । शर्मा हिरासता परेपछि विभागको कार्यवाहक महानिर्देशक बनेकी चन्द्रकला पौडेल, अन्तःशुल्क शाखाका राजेन्द्र पौडेल र रामकुमार खतिवडाले पनि उक्त नक्कली ‘स्टिकर’ प्रयोगबारे खड्कालाई कारबाही गर्न सकेनन् । यसले पनि उक्त कारखानामा ठूलाको संरक्षणमा शंकास्पद लगानी लगाइएको आशंका गर्नेहरुलाई बल पुग्न गएको हो । ‘नक्कली ‘स्टिकर’ प्रयोग गरेको देखिएको छ’, विभागका एक कर्मचारीले भने, ‘उच्च अधिकारीहरु नै चासो दिँदैनन् भने हामीले मात्र कसरी कारबाही गर्ने कुरा आएन ।’
खड्काले टेन्सबर्ग बियरमा ४० यूपीको ३७५एमएल परिमाणको मदिराको ‘स्टिकर’ बजारमा बिक्री गरेका हुन् । टेन्सबर्ग बियर ६५० एमएल हुन्छ । ३७५ एमएलको ‘स्टिकर’ लगाएर ६५० एमएल बेच्दा नै आधा राजस्व छली भएको छ । त्योभन्दा पनि ठूलो कुरा के हो भने आन्तरिक राजस्व विभागमा बियरको ‘स्टिकर’को अभाव नभईकन नै कर्मचारीसँगको मिलेमतोमा खड्काले टेन्सबर्ग बियरमा मदिराको ‘स्टिकर’ लगाएर बेचेको हुनसक्ने आशंका गरिएको छ । किनकि यस अवधिमा अन्य बियरमा यसरी मदिराको ‘स्टिकर’ लगाएर बिक्री भएको भेटिएको छैन ।
टाइगर बु्रअरीले लण्डन आइस स्ट्रोङ प्रिमियम, टाइगर स्ट्रोङ र टेन्सबर्ग प्रिमियम बियर उत्पादन गर्ने गरेको छ । केही वर्षसम्म भारतको नेपाली सीमावर्ती क्षेत्रमा दारुका बाक्सा बोक्दै हिँड्ने एक जना सामान्य मजदुर तेजेन्द्र खड्काले भारतबाट कालोधन भित्र्याएर बुटवलमा टाइगर ब्रुअरी कारखाना स्थापना गरेका थिए । उनले बियर फ्याक्ट्री सञ्चालनका लागि नेपाल बंगलादेश बैंकबाट कर्जा लिएका छन् ।
कर्जा मिलाइदिएबापत बैंकको कर्पोरेट अफिसको प्रमुख निरज लम्सालको सिफारिसमा ललितपुरको सातदोबाटोमा रहेको सेलिना ट्रेडर्सलाई टाइगर ब्रुअरीका उत्पादनको उपत्यकाको डिष्ट्रिब्युटर (वितरक)को जिम्मा दिएका छन् । सेलिनाले काठमाडौंमा अनामनगरको सर्वदा इन्टरप्राइजेजलाई सहवितरकको जिम्मा दिएको छ । चन्द्रकला, राजकुमार र राजेन्द्र पौडेलसँगको मिलेमतोमा खड्काले टेन्सबर्ग बियरमा ह्विस्कीको ‘स्टिकर’ लगाएर बिक्री गरेका हुन् ।
यस सम्बन्धमा सम्पर्क गर्नखोज्दा विवादास्पद सम्पत्तिका मालिक तेजेन्द्र खड्कासँग सम्पर्क हुनसकेन । तर उनको कम्पनीका जीएम सुबोध राणासँग फोन सम्पर्क भए पनि केही पनि बताउन चाहेनन् । उनले पछि फोन गर्छु भनेर राखिदिए । खड्काले ट्रेडमार्क चोरी गरेको भनी परेका उजुरीमाथि पनि कुनै कारबाही भएको छैन । उनी कर्मचारी प्रशासनमा कालोधन खर्च गरेर आफूअनुकूलको निर्णय गराउन सफल हुँदै आएका छन् र आर्थिक वर्षको अन्त्यमा राज्यको सबै ध्यान हिसाबमिलानतिर गएको बेला नक्कली ‘स्टिकर’को धन्दा गरेर सबैलाई छक्याउन सफल भएका छन् । नक्कली ‘स्टिकर’ को बारेमा विभागका अधिकारीहरु बोल्न चाहँदैनन् । ‘यस विषयमा प्रतिक्रियाको नाममा जबर्रजस्त नाम छाप्ने काम नगर्नुहोला’, विभागका एक अधिकारीले भने । – आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: