×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपालमा आउने पर्यटकलाई खर्च गर्ने ठाउँकै अभाव, साधारण पर्यटकको दैनिक खर्च ४० डलर मात्रै !

नेपालमा आएर विदेशी पर्यटकहरुले दैनिक गर्ने खर्चको अवस्था कमजोर रहेको पाइएको छ । पर्यटकीय क्षेत्रहरुमा भौतिक पूर्वाधारको विकास नहुनुले पर्यटकहरुले गर्ने दैनिक खर्च अन्य देशको तुलनामा कम हुने गरेको पर्यटन विभागले जनाएको छ ।
पर्यटकन विभागका अनुसार अहिले नेपालमा आउने पर्यटकहरुले दैनिक ५० देखि ६० अमेरिकी डलरको हाराहारीमा खर्च गर्ने गरेका छन् । विभागको यो तथ्याङ्क सबैखाले पर्यटकको औसत खर्च हो । नेपालमा हिमाल आरोहणको लागि बाहेक आउने पर्यटकको दैनिक खर्च भने झनै कमजोर रहेको छ । विभागका अनुसार अहिले साधारण घुम्न आउने पर्यटकहरुले ३० देखि ४० डलरको हाराहारीमा मात्रै दैनिक खर्च गरिरहेका छन् । यो दक्षिण एसियाली मुलुकहरुमा गरिने खर्चमध्ये सबैभन्दा कमजोर हो ।
अहिले दक्षिण एसियामा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै गएको भुटानमा दैनिक रुपमा पर्यटकले दुई सय ५० डलर खर्च गर्ने गरेका छन् । त्यस्तै भारत, माल्दिभ्सलगायतका देशमा विदेशी पर्यटकले दैनिक दुई सय डलर खर्च गर्ने गरेका छन् । पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालका अनुसार नेपालमा भौतिक पूर्वाधारको अवस्था कमजोर तथा सोहीअनुकूलको पर्यटकीय वातावरण समेत निर्माण नहुँदा पर्यटकहरुले खर्च गर्न पाएका छैनन् । पर्यटकीय स्थान नै नहुँदा यसो हुन गएको पर्यटन विभागको निष्कर्ष छ । केही वर्षयता तुलनात्मक रुपमा पर्यटकको खर्चदर बढे पनि अहिलेको अवस्था सन्तोषजनक नभएको उनले बताए । पर्यटकीय स्थलहरुमा नै भौतिक पूर्वाधार नभएकोले पर्यटकको खर्च कम हुने गरेको हो । पर्यटनका दृष्टिले नेपालका प्राकृतिक सम्पदा सर्वोत्कृष्ट रहे पनि भौतिक निर्माणको पक्ष निकै कमजोर छ । यस्तै, मनोरञ्जनका लागि समेत आवश्यक भौतिक सम्पदाहरुको विकास गर्न नसक्दा स्वाभाविक रुपमा पर्यटकहरु भित्र्याउन नसकिएको ढकालले बताए ।
सोही कारण लामो समय नेपाल घुम्ने गरी पर्यटक आउँदैनन् भने आएका पर्यटकको बसाइ समेत कम हुने गरेको विभागको भनाइ छ । नेपालमा आउने पर्यटकहरुको बसाइ सरदर १३ दिनको रहेको छ । युरोपेली तथा अमेरिकी पर्यटकहरु नेपालमा विशेष गरी विदा मनाउन गरेका छन् । तर उनीहरुले सबै विदा नेपालमा नै नमनाउने गरेको विभागले बताएको छ । नेपालमा ३÷४ दिन बिताएर भारत तथा अन्य मुलुकमा जाने गरेको विभागको ठहर छ । नेपालमा घुम्नलायक स्थानहरु धेरै भए पनि प्रचारप्रसारको अभाव तथा भौतिक सेवा सुविधा नहुँदा पर्यटकहरु चर्चामा आएका केही स्थानहरुमा मात्रै जाने गरेका छन् । लुम्बिनी, पोखरा तथा उपत्यकाका केही स्थानमा केही दिन अवलोकन गरे पनि पर्यटकहरु बाहिरिने गरेका छन् । नेपालमा पर्यटकहरुको बसाइ १३ दिनको हुनुमा हिमाल आरोहणमा आउने पर्यटकका बसाइले लामो हुने गरेकोले सरदर बसाइमा धेरै देखिएको विभागका प्रवक्ता ढकालले बताए  । हिमाल आरोहणको लागि बाहेक आउने साधारण पर्यटकहरु प्रायः चार दिनमात्रै नेपाल बस्ने गरेका छन् । नेपाल र भारतको प्राकृतिक बनोट उस्तै भएको र भारतमा पर्यटकको लागि सेवा सुविधा नेपालको तुलनामा राम्रो भएको कारण यहाँ आउन चाहने पर्यटकहरुको रोजाइ अहिले भारत हुनथालेको उनको भनाइ छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१६ मा एक जना पर्यटकले नेपालमा दैनिक पाँच हजार चार सय रुपैयाँ अर्थात् ५३ अमेरिकी डलर खर्च गरेका छन् । सन् २०१६ मा पर्यटकले नेपालमा गर्ने दैनिक खर्चमा उच्च गिरावट आएको हो । तथ्यांकअनुसार भूकम्पले थलिएकै वर्ष सन् २०१५ मा नेपाल आएका पर्यटकको प्रतिदिन खर्च ७० डलर (झण्डै सात हजार रुपैयाँ) थियो । मन्त्रालयका अनुसार सन् २०१५ मा भ्रमण गर्नेभन्दा बढी भूकम्पपछिको राहत र उद्धारका लागि विदेशी नागरिक नेपाल आाएका थिए । उनीहरूको बसाइ अवधि लामो थियो भने खर्च पनि बढी थियो । सोही कारण पर्यटकको बसाइ अवधि सामान्य र प्रतिदिन प्रतिपर्यटक खर्च सन् २०१५ मा उच्च दरले बढेको थियो । सन् २०१६ मा भने आमपर्यटकले नेपालमा गर्ने खर्चको औसत देखिएको हो । नेपालमा पर्यटकले खर्च गर्ने मुख्य क्षेत्र होटेल खाना, यातायात रोयल्टी (पर्वतारोहण), पदयात्रा, निषेधित क्षेत्रमा प्रवेश अनुमति, राष्ट्रिय निकुञ्ज आदि नै हुन् । नेपालमा पर्यटकलाई लोभ्याउने कुनै भौतिक सुविधाको वातावरण सरकारले मिलाउन नसकेको पर्यटन व्यवसायीहरुले आरोप लगाउने गरेका छन् । आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: