×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लागूऔषधको कारोबार सेयरतिर

काठमाडौं – पुतलीसडकस्थित प्रिमो सेक्युरिटिजबाट गत वर्षको भदौ १४ मा करिब ५७ लाख रुपैयाँको सेयर खरिद भयो । विभिन्न ३ कम्पनीका झन्डै ५ हजार कित्ता सेयर ५३८९५ ग्राहक नम्बर उल्लेख गरी पुष्पा अग्रवालको नाममा खरिद भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड उच्च स्रोतले बतायो । गत वर्षको असार २ देखि असोज २७ गतेसम्म पुतलीसडकको त्यही ब्रोकर कम्पनीबाट २ करोड ७८ लाख रुपैयाँको सेयर खरिद भएको छ । ग्राहक नम्बर ५२११० उल्लेख गरिएको उक्त सेयर श्रुति अग्रवालको नाममा खरिद भएको छ । 
…………………………..
स्टक एक्सचेन्जबाट भएको कारोबारको अभिलेख पछ्याउँदै जाँदा केही महिनाअघि चर्चामा रहेको विवादास्पद लागूऔषध प्रकरणमा मुछिएको औषधि कम्पनीको नाम भेटियो । प्रिमो सेक्युरिटिजबाटै एसआर ड्रग ल्याबरोटरीले २०७२ चैतदेखि २०७३ असारसम्म विभिन्न कारोबार गरेको देखिन्छ । उसले दुईवटा बिमा कम्पनीको ५६ सय कित्ता सेयर बेचेर झन्डै एक करोड रुपैयाँ आर्जन गरेको स्टक एक्सचेन्ज स्रोतबाट प्राप्त अभिलेखमा देखिन्छ । 
……………………………….
प्रिमो सेक्युरिटिजबाट नै सुधा अग्रवालको नाममा विभिन्न मितिमा ४ करोड ६४ लाख रुपैयाँको सेयर बिक्री भएको छ । शंकाको घेरामा रहेको सन ग्लो इन्भेस्टमेन्ट नामको अर्को कम्पनीबाट ५४ लाख ४६ हजार रुपैयाँ सेयर बिक्री भएको देखिन्छ । त्यसैगरी अर्का ‘शंकास्पद व्यक्ति’ भिवान अग्रवालका नाममा २ करोड ५८ लाख रुपैयाँको सेयर खरिद भएको छ । 
………………….
गतवर्ष प्रहरीको लागूऔषध अनुसन्धान ब्युरोले काठमाडौंको एसआर ल्याबरोटरी, ललितपुरको आर्या फर्मास्युटिकल्स र धादिङको टौरस फर्मास्युटिकल कम्पनीमा एकसाथ छापा मार्‍यो । त्यस क्रममा उनीहरूले औषधि बनाउन आयात गरेको लागूऔषधको कच्चा पदार्थ अन्यत्र बिक्री गरेको पत्ता लाग्यो । ब्युरोका अनुसार औषधि बनाउने भन्दै नेपाल भित्र्याइएको प्रिक्रसर केमिकल्स लागूऔषध कारोबारीलाई बेचेर औषधि उत्पादक कम्पनीहरूले चार अर्बभन्दा धेरै अवैध आर्जन गरेको देखिन्छ । यति गम्भीर मुद्दामा ब्युरोले उनीहरूको खातामाथि समेत सतही अनुसन्धान गरेर औपचारिक प्रक्रिया त पूरा गर्‍यो, तर उजुरीमै समावेश भएको उनीहरूको ठूलो कारोबारको विवरण नष्ट गरियो । मुद्दा कमजोर बनाएको आरोपमा सरकारी वकिलहरू कारबाहीमा परे । तर मिलेमतोमा प्रहरीकै अनुसन्धान निकै फितलो भएको हाल खुल्दै गएको छ । 
कारोबार नै हेरिएन 
एउटै सेयर ब्रोकर कम्पनीबाट बारम्बार कारोबार गरेका व्यक्तिमध्ये केहीको नाम गतवर्ष लागूऔषध विवादमा मुछिएको कम्पनी र सञ्चालकको नामसँग हुबहु मिल्छ । औषधि उत्पादक एसआर ड्रग आफैं सेयर कारोबारमा संलग्न भएको देखिन्छ । श्रुति अग्रवाल एसआर ड्रगकी सञ्चालक हुन् । प्रहरीको लागूऔषध अनुसन्धान ब्युरो स्रोतका अनुसार पुष्पा, सुधा लगायतसमेत एसआरकै सञ्चालकका नजिकका नातेदार हुन् । 
सेयर कारोबारमा नाम जोडिएकी पुष्पा सञ्जय अग्रवालकी श्रीमती र सुधा मधुसूदन अग्रवालकी श्रीमती हुन् । अर्का कारोबारी भिवान श्रुति तथा अमित अग्रवालका छोरा हुन् । ठूलो संख्यामा सेयर लगायतका लगानी र कारोबार हुँदासमेत मिलेमतोमा यो तथ्य लुकाएको भेटिएको छ । यीबाहेक आयाम, आशिष तथा स्वातीको नाममा समेत सेयर रहेको प्रहरी स्रोतले बतायो । लागूऔषधको विवादमा मुछिएपछि यी सञ्चालकले आफ्नो र कम्पनीका नाममा भएका सबै सेयर बेचिसकेका छन् । अनौठो त के छ भने औषधि उत्पादक कम्पनीहरूले आफ्नो आम्दानी सेयरमा लगानी गरेको सूचना प्रहरीको अनुसन्धान ब्युरोलाई नभएको होइन । स्रोतका अनुसार ब्युरोले आफूले पाएको यस्तो सूचना लुकाएकै कारण यो मुद्दा कमजोर हुन पुग्यो ।
‘लागूऔषधमा भएको अनियमितता, तिनका सञ्चालकको नामावली र उनीहरूले गरेको लगानीको विवरणसमेत हामीकहाँ उजुरीका रूपमा आएको रहेछ,’ उच्च प्रहरी अधिकारीले कान्तिपुरसित भने, ‘तर ब्युरोका तत्कालीन उच्च अधिकारीकै मिलेमतोका कारण उनको आदेशमा लागूऔषध अनुसन्धान ब्युरोमा आएको सम्पत्ति र लगानीको विवरण नष्ट गरियो । अन्यत्र उनीहरूको सम्पत्ति र कारोबार खोजेजस्तो गरेर केही नभेटिएको भनी आरोपपत्र तयार गरियो ।’ 
एसआर, आर्या र टौरस कम्पनीका सञ्चालकमध्ये केही एकअर्कामा साझेदार छन् भने अरू नजिकका नातेदार हुन् । तीमध्ये एसआर र टौरसका सञ्चालकहरूको ठूलो कारोबार प्रहरीकै मिलेमतोमा लुकाइएको हो भने केही सरकारी वकिलकै मिलेमतोमा मुद्दासमेत कमजोर बनाइयो । 
सञ्चालक तथा कम्पनीकै खाताको विवरण हेर्ने हो भने कारोबार अत्यन्त अपत्यारिलो देखिन्छ । अर्बौंको परिमाणमा कच्चा पदार्थ खरिद गरेको एसआर कम्पनीको खातामा २ लाख ८१ हजार रुपैयाँमात्रै मौज्दात देखिएको थियो । जब कि उसले करोडौंमा गरेको सेयर कारोबार प्रहरीको ब्युरोले आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छैन ।
त्यस्तै सञ्चालकहरूको विभिन्न बैंक खातामा रहेको एकमुष्ट रकमसमेत अपत्यारिलो छ । अमितको ५ वटा खातामा जम्मा ६२ हजार रुपैयाँमात्रै मौज्दात भेटिएको छ । मधुसूदनको खातामा करिब ४ लाख तथा सञ्जयकुमार गुप्ताको खातामा एक लाख रुपैयाँ फेला परेको छ । आशिष अग्रवालको खातामा १८ लाख १४ हजार ९ सय ७८ मात्रै भेटिएको छ । प्रहरीले उनीहरूको सम्पर्क र सञ्जालमा रहेकाहरूको कारोबार र अन्य प्रमाणहरू संकलन नै नगरी केबल सञ्चालकहरूको खाता विवरण मात्रै उल्लेख गरेको हो । 
भिडियो पनि गायब 
‘स्युडोइफ्रिडन’ को अवैध कारोबारमाथिको अनुसन्धान ब्युरोले बारा सिमरामा फ्याक्ट्री रहेको आर्या फर्माबाट सुरु गरेको थियो । दोस्रो चरणको अनुसन्धानमा मात्रै ब्युरोले एसआर र टौरसमा छापा मारेको थियो । यसबीचमा प्रहरीले सुराकीका आधारमा कमलपोखरी सिटी सेन्टर नजिकै आर्या फर्मा ल्याब प्रालिका सञ्चालक दिलीप पण्डितलाई पनि पक्राउ गरेको थियो । पण्डितकै सूचनाका आधारमा ब्युरोले पवन सांघाईले ललितपुरमा सञ्चालन गरेको प्लास्टिक फ्याक्ट्रीबाट ४ सय ७१ किलो ८८ ग्राम लागूऔषध बरामद गर्‍यो । अन्य कम्पनीमा छापा मार्दा पनि प्रहरीले पण्डितले दिएका सूचनाको उपयोग गरेको थियो । 
पण्डितले बयान फेर्ने आशंकामा ब्युरोले उनको बयान भिडियोमा समेत रेकर्ड गरेको थियो । स्रोतका अनुसार उक्त भिडियो बयानमा पण्डितले औषधि व्यवस्था विभागका केही उच्च अधिकारीका साथै अन्य केही सरकारी अधिकारीहरू ‘स्युडोइफ्रिडिन’ को अवैध कारोबारबारे जानकार रहेको बताएका थिए । उनले ती अधिकारीसँगकै मिलेमतोमा ठूलो परिमाणमा कच्चा पदार्थ भित्र्याउन सफल भएको तथ्यसहितको बयान दिएका थिए । 
सुरुमा ब्युरोले उक्त बयानलाई अनुसन्धान प्रतिवेदनमा राख्ने र त्यसका आधारमा थप अध्ययन गर्ने योजना बनाएको थियो । तर पछि एकाएक भिडियो रेकर्ड गायब बनाइयो र प्रहरी प्रतिवेदनमा त्यसबारे कुनै उल्लेख भएन । ब्युरोकै उपल्ला अधिकारी उक्त भिडियो कहाँ छ भन्नेबारे आफूलाई थाहा नभएको बताउँछन् । घटनाको छानबिन गरिरहेका महान्यायाधिवक्ता कार्यालयका एक अधिकारी आवश्यक परे प्रहरी अनुसन्धानकै विषय पनि छानबिन हुने बताउँछन् । ‘पक्कै केही गडबड देखिन्छ,’ छानबिन समितिका एक सदस्यले भने, ‘अहिलेको हाम्रो छानबिन सरकारी वकिलको भूमिकामा केन्द्रित छ, तर घटनाको प्रकृति हेर्दा प्रहरी अनुसन्धानसम्म पुगेर छानबिन हुनुपर्ने देखिन्छ ।’ 
अनेकन स्वार्थको सिकार बनेको यो गम्भीर मुद्दामाथि उच्च प्रहरी अधिकारीहरूको पनि स्वार्थ बाझिएको छ । स्रोत भन्छ, ब्युरोमा जिम्मेवारी बदली भएलगत्तै यो मुद्दालाई फेरि ब्यँुताउने प्रयास भएको थियो । त्यस क्रममा ब्युरोले सादा पोसाकका केही प्रहरी अधिकारी परिचालन गरी औषधि उत्पादक कम्पनी सम्बद्ध मान्छेमाथि निगरानी पनि बढाएको थियो । तर समयक्रममा प्रहरी आफूले ब्युँताउन खोजेको अनुसन्धानबाट केही समयपछि फेरि पछाडि हट्यो । 
सरकारी वकिलहरू पनि
लागूऔषध दुरुपयोगको मुद्दा कमजोर बनाएको आरोपमा महान्यायाधिवक्ता कार्यालयले तीन सरकारी वकिलहरूमाथि कारबाही प्रक्रिया अघि बढाए पनि एकजना मात्रै त्यसको सिकार बने । काठमाडौंका सहन्यायाधिवक्ता टेकबहादुर घिमिरेलाई मन्त्रिपरिषद्ले नै गरेको निलम्बन सर्वोच्च अदालतले यथास्थितिमा राखेको छ भने उनलाई महान्यायाधिवक्ता कार्यालयले डोटी सरुवा गरेको छ । 
तर उस्तै आरोपमा मुछिएका अरू दुईजनामाथि भने खासै कारबाही हुन सकेन । ललितपुरका सरकारी वकिल ईश्वरीप्रसाद बञ्जाडे पनि विवादमा परेका थिए । स्पष्ट नाम, ठेगाना खुलेका व्यक्तिलाई समेत उनले ‘नामथर, ठेगाना, बाबु/बाजेको नामसमेत खुली नआएको’ भनी उल्लेख गरेर उन्मुक्ति दिएको भेटिएको थियो । रतनलाल संघाई र मोहित हलानसहित आठ जनालाई प्रतिवादी बनाएको आर्या फर्मा ल्याबको लागूऔषध मुद्दामा शंकरलाल हलानका बारे उनले द्वैध अर्थ लाग्ने विवरण उल्लेख गरेका छन् । 
‘शंकर हलानको प्रस्ट नामथर, ठेगाना, बाबु/बाजेको नामसमेत खुली नआएको हुँदा पछि यकिन खुलेका बखत पूरक अभियोगपत्र पेस गरिने’ आरोपपत्रमा भनिएको छ । तर आरोपपत्रकै अभियुक्तहरूको नाममा भने ‘दुगरमल हलानको नाति, शंकरलाल हलानको छोरा, पर्सा वीरगन्ज उपमहानगरपालिका–१३ आदर्शनगर ठेगाना भएको आर्य फर्मा ल्याब प्रालिका डाइरेक्टर भनी नागरिकता नम्बरसहित मोहित हलान’ को विवरण उल्लेख थियो ।
धादिङको धार्केमा पनि उही सञ्चालकहरूको टोरस नामक औषधि उत्पादक कम्पनीको मुद्दा कमजोर बनाएको आरोपमा धादिङका सरकारी वकिल कार्यालय प्रमुख उपन्यायाधिवक्ता दयाशंकर अधिकारी विवादमा परे । प्रहरीको लागूऔषध ब्युरोले धादिङ प्रहरीमार्फत मधुसूदन बाहेकका चार जना नै टोरस कम्पनीमार्फत रासायनिक पदार्थ दुरुपयोग गरी लागूऔषधका रूपमा प्रयोग गरेको आरोपमा मुद्दा चलाउन राय दिएकोमा अधिकारीले चारमध्ये तीन जनालाई मात्रै मुद्दा चलाएका थिए । ‘गतवर्षको लागूऔषध रसायन दुरुपयोग घटनामा प्रहरीदेखि सरकारी वकिलसम्म कसैले पनि आफ्नो जिम्मेवारी सही रूपमा निर्वाह नगरेको देखिन्छ,’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘प्रहरीको व्यवहारमाथि अनुसन्धान भएको छैन भने सरकारी वकिलमाथि अरू अनुसन्धानसमेत बीचैमा रोकिएका छन् ।’ – कान्तिपुरबाट साभार 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: