×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छैंसठ्ठी हजार बढि पर्यटक भित्रिए इलाम, अधिकांशको रोजाईं कन्याम

  • बिनय तिम्सीना / अर्थ सरोकार डटकम 
इलाम – गत आर्थिक वर्षमा ६६ हजार बढी पर्यटकले इलामको भ्रमण गरेका छन् । इलाम भित्रिने पर्यटक मध्ये अधिकांशको रोजाइ भने कन्याम हुने गरेको छ । आर्थिक वर्षमा २९ हजार ८ सय २९ जना महिला र ३६ हजार ४ सय ७० जना पूरुष गरी कुल ६६ हजार २९९ जनाले इलामको भ्रमण गरेको पर्यटन सूचना केन्द्र जोरकलश इलामले जनाएको छ । सूचना केन्द्रमा दर्ता गराएर इलाम छिर्ने पर्यटक मध्ये गत आवमा २४ हजार ५२ जनाले कन्यामको मात्र भ्रमण गरेका छन् । 
पर्यटकहरुले इलामको कन्याम, पाथिभरा, पशुपतिनगर, इलाम सदरमुकाम, फिक्कल श्रीअन्तु करफोक र माइपोखरी भ्रमण गरेको सूचना केन्द्रले जनाएको छ । त्यसैगरी पर्यटकहरु फिदिम ताप्लेजुङ र तेह्थुम जानलाई पनि इलामकै बाटो प्रयोग गर्ने गरेका छन् । 
सूचना केन्द्रका सूचना अधिकृत गगन घिमिरेले उपलब्ध गराएको तथ्याङ्क अनुसार पशुपतिनगर १७ हजार १९२, इलाम सदरमुकाम १७ हजार ५५६, फिक्कल ४ हजार ३३२ जनाले भ्रमण गरेका छन् । तथ्याङ्क अनुसार अन्तुमा भने केही कम पर्यटक गएका छन् । गत आर्थिक वर्षमा ७ सय ४४ जनाले मात्र अन्तु क्षेत्रको भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ । यस बाहेक करफोक र माइपोखरी तर्फ पनि पर्यटक जाने गरेका छन् । गत आर्थिक वर्षमा १ सय ५४ जना विदेशी पर्यटकले इलाम भ्रमण गरेका छन् पर्यटन सूचना केन्द्रका अधिकारी घिमिरेका अनुसार भारतका ७८ जना बेलायतका १७ जना फ्रान्सका १५ जना तथा अमेरीका र जापानका बा¥ह बा¥ह जनाले इलामको भ्रमण गरेका छन् । 
त्यस्तै दक्षिण कोरियाका ८, क्यानडाका ५, ताइवानका ६, अर्जेन्टिनाका १ जनाले पनि इलाम भ्रमण गरेका छन् । पर्यटन सूचना केन्द्रमा चारपांग्रे सवारी साधनमा ब्यानर लगाएर आएका पर्यटक मात्र दर्ता हुने गरेको सूचना अधिकृत घिमिरेले बताए । त्यस बाहेक मोटरसाइकल र अन्य निजी तथा सार्वजनिक सवारी साधनमा पनि पर्यटक इलाम भित्रिन सक्ने सम्भावना रहेको छ । 
तथ्याङ्कले देखाए अनुसार मंसिर महिनामा धेरैजनाले इलाम भ्रमण गर्ने गरेका छन् । गत आर्थिक वर्षको साउनमा २ सय १२ जनाले इलाम भ्रमण गरेका थिए भने भदौमा ११३९ जना, असोजमा १ हजार ५३४ कार्तिकमा १६ हजार एक सय ४७, मसिरमा सबैभन्दा बढी २२ अजार ४६० पौषमा १४ हजार ४७५, माघमा ३ हजार ०७३ फागुनमा १ हजार ९ सय ७२ चैत्रमा २ हजार ५ सय ५२ बैशाखमा ८ सय ८३ जेठमा १ हजार ५ सय १९ र असारमा ३ सय ३३ जनाले इलाम भ्रमण गरेका थिए । 
अघिल्लो आर्थिक वर्षमा भने १४ हजार ८ सय ४० जनाले मात्र इलाम भ्रमण गरेको रेकर्ड रहेको छ । सूचना केन्द्रमा सबै पर्यटकको गाडी दर्ता गराउने गरेमा सही सूचना आउन सक्ने अधिकृत घिमिरेले बताए । प्राय पर्यटकहरुले इलामलाई बाटो बनाएर भारतको दार्जिलिङ्ग जाने गरेको पनि उनले बताए । जिल्लाको पर्यटकीय स्थानहरुको अझ प्रचार प्रसार गर्न सकेमा इलामको पर्यटन विकासमा सहयोग पुग्ने विस्वास लिइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: