सनराइज बैंकको खुल्यो सेयर लिलामी, लिलामी भर्नेलाई पनि बोनस

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - सनराइज बैंकले सर्वसाधारण र संस्थापक समूहको ७ लाख १० हजार ७ सय ४३ कित्ता सेयर आइतबारदेखि लिलामीमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक समूहको ७२ हजार ६१२ कित्ता र सर्वसाधारण समूहको ६ लाख ३८ हजार १३१ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । 

लगागनीकर्ताले बिक्री प्रवन्धक सनराइज क्यापिटलमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । आवेदकले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ र सोभन्दा बढी मूल्य राखी बोलपत्र पेस गर्नुपर्नेछ । संस्थापकतर्फ न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । यता, सर्वसाधारण समूहतर्फ भने न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने संख्यामा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । १० लाख रुपैयाँ भन्दा बढीको आवेदन दिनेले प्यान नम्बर अनिवार्य खुलाउनुपर्नेछ । बोलपत्र बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, काठमाडौंमा असोज २३ गते दिउँसो १ बजे खोलिनेछ । बैंकले यसअघि जेठ १६ गतेदेखि असार १९ गतेसम्म १०ः३ को अनुपातमा १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

हकप्रद निष्कासन गर्दा संस्थापक समूहको ७२ हजार ६१२ कित्ता र सर्वसाधारण समूहको ६ लाख ३८ हजार १३१ कित्ता सेयरमा आवेदन नपरेपछि बैंकले बाँकी सेयर लिलामीमा ल्याएको हो । चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने क्रममा रहेको सनराइजले १५% बोनस सेयर दिने घोषणा गरिसकेको छ । बैंकले यो लिलामी सेयरपछि कायम हुने चुक्ता पुँजीबाट १५% बोनस सेयर दिने जनाएको छ । यसआधारमा, हकप्रद तथा लिलामी भरेका सेयरधनीले समेत बोनस सेयर पाउनेछन् ।
प्रकाशित : Sunday, September 24, 2017

recent

Popular Posts