एभरेष्ट बैंकको ३५ हजार ८४१ कित्ता फेरि असोज २० देखि लिलामीमा
Powered by Blogger.
एभरेष्ट बैंकको ३५ हजार ८४१ कित्ता फेरि असोज २० देखि लिलामीमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - एभरेष्ट बैंकले सर्वसाधारण समूहको ३५ हजार ८४१ कित्ता सेयर असोज २० गतेदेखि लिलामीमा ल्याउने भएको छ । यसअघि एभरेष्टले भदौ २५ देखि असोज १ गतेसम्म सर्वसाधारण समूहको २ लाख ५३ हजार ७९७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । जसमा २ लाख १७ हजार ९५६ कित्तामा मात्र आवेदन परेको थियो । 

३५ हजार ८४१ कित्ताका लागि आवेदन नपरेपछि बैंकले पुनः लिलामीमा ल्याउन लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी यसमा निवेदन दिनुपर्नेछ । यो लिलामीमा आवेदन दिने अन्तिम म्याद असोज २७ गते तोकिएको छ । लगानीकर्ताले लिलामीको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडांै पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । बोलपत्र असोज २९ गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।

यसअघि पर्याप्त आवेदन नपरेपछि एभरेष्टको यस लिलामीमा १०० रुपैयाँ भाउ तोक्नेले पनि सेयर पाउन सफल भए । जबकी यही लिलामीमा अधिकतम १३ सय रुपैयाँ भाउ तोकेर पनि लिलामी भर्नेहरु पनि थिए । लिलामी सेयर असोज २ गते बाँडफाँट गरिएको थियो । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन प्रयासरत रहेको एभरेष्टले असार १८ गतेदेखि साउन २२ गतेसम्म १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यतिबेला बिक्री नभएपछि बैंकले लिलामीमा ल्याएको हो । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एभरेष्टको चुक्ता पुँजी ५ अर्ब ७४ करोड १० लाख ९५ हजार रुपैयाँ छ । हकप्रद र बाँकी सेयर लिलामीमा बिक्री गरिसकेपछी भने बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५२ लाख ३४ हजार ४०० रुपैयाँ पुग्नेछ । चौथो त्रैमासमा बैंकले १ अर्ब ९८ करोड १६ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एभरेष्टको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ९९ पैसा छ ।

प्रकाशित मिति : Tuesday, September 26, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...