गोर्खाज फाइनान्सको लिलामी सेयर भर्ने म्याद आइतबारसम्म

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - गोर्खाज फाइनान्सको संस्थापक समूहको ४ लाख २४ हजार ४२० कित्ता सेयर लिलामी भर्ने समय आइतबारसम्म मात्र हो । लगानीकर्ताले आइतबार कार्यालयसमय भित्र लिलामी सेयरमा आवेदन दिइसक्नुपर्नेछ । गोर्खाज फाइनान्सले असोज ४ गतेदेखि संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको थियो । 

लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । गोर्खाजले यसअघि साउन १० गतेदेखि १९ गतेसम्म संस्थापक समूहको ९ लाख ७९३ कित्ता र सर्वसाधारण समूहको १ लाख ५४ हजार ३९६ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस अवधिमा नबिकेको संस्थापक समूहको सेयर फाइनान्सले सर्वसाधारणले पनि भर्न पाउने गरी पुनः लिलामीमा ल्याएको हो ।

आवेदकले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा पुग्ने गरी फारम बुझाउनुपर्नेछ । बोलपत्र असोज २३ गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा खोलिनेछ । हाल गोर्खाजको चुक्ता पुँजी ७६ करोड २४ लाख हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १३ करोड ७५ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गोर्खाजको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९३ पैसा छ ।
प्रकाशित : Friday, October 06, 2017

recent

Popular Posts