सपोर्ट माइक्रोफाइनान्सको आइपीओमा १३४ गुणा बढी आवेदन, ७% लाई मात्र सेयर

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सपोर्ट माइक्रोफाइनान्सको आइपीओमा माग भन्दा १३४ गुणा बढी आवेदन परेको छ । अहिलेसम्मको विवरण अनुसार यो आइपीओमा २ लाख ३६ हजार ९३२ जना लगानीकर्ताको २ अर्ब २४ करोड २५ लाख ६४ हजार १०० रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कमल नेपालले बताएका छन् ।

उनका अनुसार अझै केही बैंकबाट विवरण आउँन बाँकी नै रहेकाले आवेदकको संख्या र रकम अझै बढ्नसक्ने छ । कम्पनीले निष्कासन गरेको १ लाख ८० हजार कित्ता आइपीओमध्ये कर्मचारीलाई ३ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरुलाई ९ हजार कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको १ लाख ६७ हजार ४०० कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएको हो । यसमा १० कित्ताको दरले सेयर दिँदा १६ हजार ७४० जनाले मात्र सेयर पाउने हुँदा बाँकी २ लाख २० हजार १९२ जना आवेदको हात खाली हुने भएको छ । यसआधारमा, जम्मा ७% आवेदकले मात्र सेयर पाउने भएका छन् ।

सपोर्टले असोज १८ देखि २३ गतेसम्म १ करोड ८० लाख रुपैयाँ बराबरको निष्कासन गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यस आइपीओमा २% सेयर कर्मचारीको लागी र ५% सेयर सामूहिक लगानी कोषहरुको लागी छुट्याईएको छ । आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम ९०० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । हाल कम्पनीले पाँचथर, तेह्रथुम, धनकुटा भोजपुर, खोटाङ, सुनसरी, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लामा आफ्नो कारोबार सञ्चालन गरिरहेको छ । सपोर्टको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ४८ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रकाशित : Tuesday, October 10, 2017

recent

Popular Posts