एकता प्रयासको ११ वर्षे कथाः दुई पार्टीको प्रेम र घृणाका साक्षी वामदेवका शब्द


तीन पार्टीबीचको एकता घोषणा निकै ठूलो प्रयासबाट सम्भव भएको हो । त्यसो त ०६३ सालमै मैले प्रचण्डजीलाई एमाले र माओवादीबीच एकताको प्रस्ताव राखेको थिएँ । त्यसवेला उहाँले भन्नुभो, ‘त्यसो भए तपाईंले आफ्नो पार्टीमा कुरा राख्नुस् र आउनुस् ।’ मैले प्रचण्डजीको प्रस्ताव तत्कालीन महासचिव माधवकुमार नेपालसमक्ष जस्ताको तस्तै राखेँ । उहाँले हुन्छ, लौ अघि बढ्नुस् भनेपछि मैले यही कुरा फेरि प्रचण्डजीलाई सुनाएँ । त्यसपछि प्रचण्डजीले भन्नुभो– एकता प्रस्तावबारे पहिले दुवै पार्टीबाट संस्थागत निर्णय गराऊँ । 

यो कुरा मैले महासचिव माधव कमरेडसमक्ष राखेँ । त्यसपछि केन्द्रीय कमिटी बैठकबाटै हामीले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न कम्युनिस्ट पार्टीहरूबीच एकीकरण गर्नुपर्छ भन्ने निर्णय नै गर्‍यौँ । यो निर्णयसहितको दस्ताबेज आदान–प्रदान पनि भयो । माओवादीसँग वार्ताका लागि म र विष्णु पौडेल रहेको दुई सदस्यीय वार्ता कमिटी बन्यो । पछि समितिमा अहिलेका महासचिव ईश्वर पोखरेल पनि थपिनुभयो र माओवादीसँग दुई–तीन चरण बैठकसमेत बस्यौँ । माओवादीको तर्फबाट पनि तीनजना हुनुहुन्थ्यो । दस्ताबेज तयारीका लागि समितिसमेत बनेको थियो । तर, एकताको सार्थक धरातल बन्न नसकेपछि समिति आफैँ भंग भयो । माओवादीको कार्यदलमा मोहन वैद्य पनि हुनुहुन्थ्यो । सिद्धान्त, विचार, कार्यशैली नमिलेसम्म एकता सम्भव छैन भन्ने वैद्य माओवादी कार्यदलमा हावी भएपछि धेरै वातावरण बिग्रियो ।

०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि माओवादीको नेतृत्वमा एमालेसहितको संयुक्त सरकार निर्माण भयो । सरकार बन्दा नै दुवै पार्टीबीच एकताको तहसम्म जानुपर्छ भन्ने कुरा भएको थियो । तर, त्यहीबीचमा प्रधानसेनापति रुक्माङगद कटुवाल प्रकरण आयो । प्रचण्डजीको राजीनामापछि सरकार गिर्दा एकतामा समस्या खडा भयो, सम्बन्धमा तिक्तता छायो । यद्यपि, त्यसपछि पनि एकताका निम्ति सामान्य प्रयत्नहरू नभएका होइनन् । तर, अघि बढ्न सकेन ।

यिनै शृंखला अघि बढ्दै जाँदा १२ वैशाख ०७२ को भूकम्पपछि फेरि पार्टी एकताको विषयले प्रवेश पायो । भूकम्पलगत्तै प्रचण्डजीलाई लाजिम्पाटमा गएर मैले फेरि एकताको प्रस्ताव राखेँ । भनेँ– तपाईंले प्रमुख प्रतिपक्षी दलको हैसियतमा भूमिका निर्वाह गरिराख्नुभएको छ, अब सबै मिलेर भूकम्पपीडितको पुनस्र्थापना र संविधान निर्माणमा एकताबद्ध हुने घोषणा गर्नुस् । उहाँले त्यस्तै घोषणा पनि गर्नुभयो । त्यो घोषणापछि मैले संविधान निर्माणका लागि प्रयत्न गरौँ भन्ने प्रस्ताव प्रचण्डजीलाई मात्रै होइन, तत्कालीन प्रधानमन्त्री सुशीलजी र पार्टी अध्यक्ष केपी ओलीसमक्ष पनि राखेँ । सबैले हुन्छ भने पनि कसैले प्रयत्न नगरेपछि म फेरि यही प्रस्ताव लिएर साउनमा प्रचण्डजीको निवास लाजिम्पाटमा पुगे“ । 

प्रचण्डजीसँग पहिले संविधान जारी गर्ने, संविधान कार्यान्वयनका लागि तीनवटै पार्टी सम्मिलित संयुक्त सरकार निर्माण गर्ने र आगामी निर्वाचनसम्म एमाले र माओवादीबीच पार्टी एकता पनि गर्ने गरी जाऔँ भन्ने प्रस्ताव राखेँ । उहाँ यो प्रस्तावमा सहमत हुँदै भन्नुभो– आ–आफ्ना विचार थाती राखेर भए पनि संविधान जारी गर्नका लागि म तयार हुन्छु । त्यसपछि अरू सबै पार्टीलाई सहमत गराउन प्रचण्डजी, हाम्रो पार्टी अध्यक्ष ओलीजी र सुशीलजी सक्रिय बन्नुभयो । अन्ततः मधेस आन्दोलन र टीकापुरजस्ता ठूला घटना भए पनि तीन पार्टी विचलित नभई क्रियाशील हुँदा संविधान जारी भयो । 

तर, संविधान घोषणापछि एमाले नेतृत्वमा सरकार गठन गर्ने विषयमा संविधान जारी हुनुअघि नै छलफल चल्यो । तर, कांग्रेसले एमाले नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट पा¥यो । त्यहीवेला सरकार गठनका विषयमा छलफल गर्न मैले फेरि प्रचण्डजीसँग छलफल गरेँ । कांग्रेसले समर्थन नगर्ने भएपछि पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउन एमाले, माओवादी केन्द्र मात्रै होइन, अरूलाई पनि सामेल गरेर सरकार बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भयो । तर, त्यो गम्भीर छलफलमा प्रचण्डजीले तीनवटा सर्त राख्नुभयो । पहिलो, सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने, दोस्रो आउने सबै निर्वाचनमा दुई पार्टी मिलेर चुनाव लड्ने । तेस्रो, दुई पार्टीबीच एकता गर्ने । यी तीन काम गर्ने सर्तमा केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने उहाँको सर्त थियो ।

लाजिम्पाटमा प्रचण्डले गरेको यो प्रस्ताव मैले सीधै पार्टी अध्यक्ष ओलीलाई जस्ताको तस्तै सुनाएँ । अरू साथीहरूलाई पनि जानकारी गराएँ । उहाँको मौखिक प्रस्तावलाई हामीले पनि मौखिक रूपमै जवाफ दिँदै भन्यौँ– आगामी दिनमा हुने सबै निर्वाचनमा मिलेर जाने र पार्टी एकता पनि गर्ने । दुई पार्टीबीच यो मौखिक समझदारीपछि नै उहाँले प्रधानमन्त्रीको उम्मेदवार केपी कमरेडलाई समर्थन गर्नुभयो र माओवादी सरकारमा सामेल भयो । तर, सरकार बनेपछि निर्वाचनमा कसरी जाने, पार्टी एकता गर्ने कि नगर्ने भन्नेजस्ता कुनै पनि विषयमा योजना बनेन, खासमा सार्थक छलफल भएन ।
०००
केपी कमरेडको सरकारले नौ महिना पार गर्न लाग्दैथियो । त्यहीबीचमा ०७३ वैशाखमा नहुनुपर्ने घटना भयो । माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र कांग्रेससँग मिलेर बनेको सरकारमा प्रचण्डजी प्रधानमन्त्री बन्नेसम्मको सहमतिमा हस्ताक्षर हुने स्थिति बन्यो । अन्तिम–अन्तिमवेला प्रचण्डजीले मलाई लाजिम्पाट बोलाउनुभयो । त्यहाँ उहाँले भन्नुभयो– कांग्रेसले मलाई समर्थन गरिसक्यो, तपाईंहरू (एमाले)ले पनि समर्थन गर्‍यो भने राष्ट्रिय सहमतिको सरकार बन्छ । मैले तत्काल जवाफ फर्काएँ– यस्तो हुनै नसक्ने कुरा तपाईंले किन सोच्नुभयो ? दोस्रो, एमालेले तपाईंलाई समर्थन गरोस् भन्नुको अर्थ एमालेले आफ्नो अध्यक्षको नेतृत्वमा बनेको सरकार विघटन गर्ने भन्ने हो । यस्तो त एमालेले सोच्न पनि सक्दैन । 

मैले उहाँको प्रस्तावलाई त्यहीँ ‘रिजेक्ट’ गर्दिएँ । तर लामो छलफलपछि हामी निष्कर्षमा पुग्यौँ– सरकार फेर्ने तर गठबन्धन नफेरि प्रचण्डलाई प्रधानमन्त्री बनाउने । बालुवाटार पुगेर प्रधानमन्त्रीलाई मैले त्यो रिपोर्ट गर्दै भनेँ– प्रचण्डजीको प्रस्ताव मान्ने हो भने गठबन्धनबाट उहाँ प्रधानमन्त्री बन्नुहुन्छ, अन्यथा गठबन्धन टुट्ने नै भयो ।

त्यसपछि फेरि एकपटक प्रचण्डजीसँग छलफल गरेर टुंगो लगाउने भन्दै बालुवाटारमै छलफलमा बसियो । त्यसवेला फेरि पार्टी एकताको प्रसङगले प्रवेश पायो । प्रचण्डजी प्रधानमन्त्री बन्ने, पार्टी एकता गर्ने, सबै निर्वाचनहरू मिलेर लड्ने समझदारी फेरि भयो । तर, प्रचण्डलाई प्रधानमन्त्री बनाएर गठबन्धन जोगाउने कुरामा हाम्रो पार्टीमा मतभिन्नता भयो । 

कमरेड झलनाथ, माधव र म प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि गठबन्धन जोगाउँदै एकताको दिशामा जानुपर्छ बरु नौ महिना माओवादीले नेतृत्व गरेपछि नेतृत्व एमालेले लिनुपर्छ भन्नेमा थियौं । यो कुरालाई बरु प्रचण्डजीले स्वीकार गर्नुभो । तर हाम्रै पार्टीमा सहमति भएन । त्यहा“बाट विषय भा“डियो । बजेट पारित भएको केही दिनमै माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरायो र नयाँ किसिमले राजनीतिक घटनाक्रम विकास हुँदा पार्टी एकताको प्रसंग अपुरो रह्यो । 
०००
उतारचढावबीच गत फागुनबाट फेरि एकताको विषय अघि बढ्यो । फागुनमा मैले प्रचण्डजीलाई भेटेर सिधै पार्टी एकताको कुरा गरेँ । त्यसभन्दा पहिले नारायणकाजी श्रेष्ठको निवासमा उहाँ र मबीच छुट्टै कुरा भएको थियो । यो कुरा अध्यक्ष ओलीलाई रिर्पोटिङ गरेको थिएँ । वार्ताबीचमा वैशाखको पहिलो साता पार्टी एकीकरणसम्म जाने निष्कर्ष निकालियो । पार्टी अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा मिलेर जानेगरी वार्ता चलाउन मलाई निर्देशन दिनुभयो । वार्ताको दौरानमा एमालेबाट म र माओवादीबाट नारायणकाजी खटिनुभएको थियो । हामीबीच चुनावमा मिलेर जाने र पार्टी एकता गर्ने सहमति भयो । 

यी दुई विषय टुंगो लागेपछि प्रचण्डजीलाई जानकारी गराउँदै दुई पार्टीका अध्यक्ष बसेर सबै कुरा टुंगो लगाउन भनियो । तर अध्यक्षसहितको बालुवाटारको पछिल्लो बसाई परिणाममुखी हुन सकेन । खासमा उहाँहरुको बसाई मुख्य विषयभन्दा पनि अन्य विषयमा अल्झिएछ । तर, त्यसपछि पनि हार मानिनँ । पहिलो चरणको निर्वाचनका लागि उम्मेद्वारी मनोनयन सुरु हुन लागेको थियो । वैशाख दोस्रो साता चार महानगरपालिकामध्ये एमाले र माओवादीले २-२ ओटा लिएर तालमेलसहित जाने सहमति भयो । यही कुरा अध्यक्षलाई रिर्पोटिङ गरेँ । तर उहाँले दुईओटा हुँदैन, ललितपुर महानगर दिँदा सहमति हुन्छ भने गरौं भन्नुभो । तर प्रचण्डजीले ललितपुर होइन, एउटा दिँदा भरतपुर हुन्छ भने सहमति गरौं भन्नुभो । त्यहाँ हामीले उम्मेद्वार बनाइसकेकाले फिर्ता लिने स्थिति हुन्न भन्ने अडान हाम्रो अध्यक्षले जानकारी गराएपछि त्यसपटकको प्रयास पनि त्यहीँ टुंगियो । 
०००
मैले प्रयत्न जारी राखेँ । असार १४ मा दौस्रो चरणको निर्वाचनपछि प्रचण्डजी र म फेरि लाजिम्पाटमा बस्यौं । वार्ताहरुमा पहिले तालमेल गरेर एउटै चुनाव चिन्ह्बाट चुनावमा लड्ने र त्यसपछि संयुक्त सरकार संचालन गर्ने दौरानमा मात्रै पार्टी एकता गर्ने भन्दै आएका थियौं । तर त्यो बसाईंमा भने कमरेड प्रचण्डले भन्नुभो–असोज २ मा निर्वाचन आएको छ, हामी सरकारमा पनि छौं, अहिले नै एमालेसँग तालमेल गर्ने, एकताको घोषणा गर्ने भन्दा त्यसपछि यी सबै काम गर्दा नैतिकरुपमा पनि उपयुक्त हुन्छ । त्यसैले हामी प्रदेन नं २ को निर्वाचनको प्रतीक्षामा बस्यौं ।

असोज २ को निर्वाचनपछि हामी गम्भीर छलफलमा बस्यौं । निर्वाचन सम्पन्न भएको तीन दिनपछि ५ असोजमै वार्ता सुरु भयो । त्यो बैठकमा प्रचण्डजी, म र जनार्दन शर्मा थियौं । त्यो बैठकबाटै हामीले पहिले पार्टी एकताको घोषणा गरेर मात्रै चुनावमा तालमेल गरेर जाने अन्तिम निष्कर्ष निकाल्यौं । त्यसअघिसम्म एउटै चुनाव चिन्ह लिएर लड्ने कुरा भएको थियो । तर बैठकमा प्रचण्डजीले भन्नुभो–एउटै चुनाव चिन्ह लिएर जाने, सरकारमा पनि सामेल भइरहने, प्रमुख प्रतिपक्षीसँग पनि मिलेर जाने कुराले हामी नैतिक रुपमा कमजोर हुन्छौं । 

त्यसोभए पार्टी एकता घोषणा गरौं, त्यसपछि त चुनावमा एउटै चुनाव चिन्ह्बाट जाने कुरामा पनि नैतिकताको प्रश्न उठ्नेछैन । त्यही दिन मोडालिटी बनाइसकेपछि दुई अध्यक्षको बैठकमा प्रचण्डले प्रस्ताव राख्नुभो–पार्टी एकताको घोषणा गर्ने, एउटै चुनाव चिन्ह लिएर चुनावी तालमेल गर्ने । हाम्रो अध्यक्षले पनि त्यो प्रस्तावलाई समर्थन गर्नुभो ।

त्यसपछि उहाँहरुले सहमति लिपिबद्ध गर्न हाम्रोतर्फबाट विष्णु पौडेल र प्रचण्डजीले जनार्दन शर्मालाई खटाउनुभयो । दुई पार्टीका अध्यक्ष र मस्यौदाकारबीच छुट्टाछुट्टै वार्ता चल्न थालेपछि मलाई अध्यक्षले वार्तामा खटाउनुभएन । यद्यपि, उहाँहरुबीचको निरन्तर प्रगति विवरण लिएर मैले कमरेड प्रचण्डसँग छुट्टै कुराकानी गरिरहेको थिएँ । यही क्रममा गत १२ गते मंगलबार अष्टमीको दिनबाट दुई दिन अध्यक्षहरुबीच ललितपुरस्थित एक घरमा आमनेसामने गम्भीरतापूर्वक कुराकानी भयो । 

अरु बैठक पनि राती–बिहान निरन्तर हुँदै गए । १४ गते टिकाको राति दुई अध्यक्षको बैठकले मस्यौदा फाईनल गर्‍यो । भोलिपल्ट बालकोटस्थित अध्यक्षको निवासमा बसेको स्थायी समिति बैठकले एकताको मस्यौदालाई सर्बसम्मत अनुमोदन गर्‍यो । अध्यक्षले ‘ड्राफ्ट’ पढेर सुनाउनुभो । हामी सबैले हात उठाएर समर्थन जनायौं । कर्तलध्वनी बज्यो । सबै साथीहरु खुशी हुनुभो । सायद स्वतन्त्रता हुन्थ्यो भने बैठकमै साथीहरु नाच्नुहुन्थ्यो । राष्ट्र समृद्धीको यूगमा प्रवेश गर्‍यो, हामी समाजवादसम्म पुग्छौं भन्ने खुशीको अभिव्यक्ति सबै साथीहरुले प्रकट गर्नुभो ।

१६ गते साँझ माओवादीको सचिवालय बैठकले पनि एकताको प्रस्ताव पारित गर्‍यो । १७ गते ललितपुरस्थित एक घरमा अन्तिम छलफल भयो । पहिले हामीले एउटै निर्वाचन चिन्ह्बाट लड्ने सहमति गरेका थियौं । तर उहाँहरुले निर्वाचन आयोग, कहाँकहाँ सम्पर्क गर्नुभो । निर्वाचन ऐनको व्यवस्थाबमोजिम जाने भन्नेथ्यो, तर त्यो कानुन अनुसार चुनाव चिन्ह् लिने म्याद भदौ २७ गते नै सकिएको रहेछ । यो कुरा उठेपछि आ–आफ्नो चिन्ह लिएर भए पनि तालमेल गरेर जाने, चुनाव सकिएपछि एकताको सबै काम सम्पन्न गर्ने भन्ने अन्तिम समझदारी भयो । बेलुकी ५ बजे राष्ट्रियसभा गृहमा पत्रकार सम्मेलन गरेर ६ बुँदे समझदारी सार्बजनिक गर्‍यौं ।
(शुरोजंग पाण्डेसँगको सम्वाद ) नयाँ पत्रिकाबाट
प्रकाशित : Thursday, October 05, 2017
,

recent

Popular Posts