×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘टिकेटिङ’मै गडबढी गरेर चन्द्रागिरीको ठगी, एकाउन्ट अफिसरले नै स्वीकारे कम्पनीको कर्तुत ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- चन्द्रागिरी हिल्स लिमिटेड । पछिल्लो समय विकसित भएको एउटा पर्यटकीय गन्तब्य । कुनै अरु कम्पनीसँग प्रतिष्पर्धा गर्ने नाममा धर्मको व्यापार गरिरहेको आरोप लागेको एउटा कम्पनी । खानादेखि टिकेटसम्म ठगी गर्ने एउटा ‘ठग’ कम्पनी । व्यापारिक घरानाले संचालन गरेको भएपनि सतहमै गिरेर काम गरेको आरोप लागेको एउटा कम्पनी । यसो त पैसा कमाउनका लागि भगवानको मुर्तिमाथि नै व्यापार गर्ने कम्पनीले पैसाका लागि अरुखाले ठगी गर्नु नौलो कुरा पनि होइन । तर राजश्वसँग जोडिएको एउटा महत्वपूर्ण तथ्य बाहिर आएको छ । ‘टिकेटिङ’ सिष्टममै खराबी गरेर चन्द्रागिरी हिल्स लिमिटेडले जनतालाई ठग्ने र भ्याट छली गर्ने गरेको रहस्य बाहिर आएको छ । हामी आधार विना बोलिरहेका छैनौं । कम्पनीले कर छल्ने गरेको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ ।
चन्द्रागिरीको ठगी धन्दाको प्रतिनिधि एउटा घटना :
२०७४ साल असोज २६ गते अर्थात १२ अक्टोबरका दिन ४ जनाको समूहसहित हाम्रो टिम चन्द्रागिरी घुम्नका लागि भन्दै पुग्यो । र त्यहि समूहका एक जनाले टिकट काटे । ४ जनाको ७०० रुपैयाँका दरले २८०० रुपैयाँको टिकेट काटियो । ३००० रुपैयाँ दिएर २०० रुपैयाँ फिर्ता लिई हामी केवलकार चढ्यौं । घुम्न भनेर निस्किएका हामीलाई टिकेटमा केहि गल्ती भयो कि भन्ने हेक्का नहुनु स्वाभाविक थियो । पर्यटक त्यसलाई नियालेर बस्ने कुरा पनि भएन । ४ जनाको टिकेट काटेर हामी केवलकार चढ्यौं । 
तर चन्द्रागिरीबाट फर्किंदै गर्दा बाटोमा हाम्रो समूहमध्येका एकले एउटा कुरा ख्याल गरेछन् । चन्द्रागिरी हिल्स लिमिटेडले हामीसँग २८०० रुपैयाँ लिएको थियो टिकेटवापत । तर हामीलाई ४ वटा टिकेट ७०० का दरले दिएको भएपनि एउटा टिकेट भने ५२५ रुपैयाँको मात्र दिइएको रहेछ । त्यो पनि २ महिना अघिको टिकेट । गुठ्खाका प्याकेटजस्तै सबै टिकेट एउटै पत्तामा थिए । पछि केवलकार चढ्ने बेलामा ती टिकेटहरु काटिएका थिए । ‘तिरेको ७००, टिकेट आयो ५२५ रुपैयाँ । १७५ रुपैयाँ कहाँ गयो ? कसले खायो ? हामी अचम्ममा पर्यौं । 
अझ अचम्मको कुरा त के थियो भने हामीलाई दिइएका दुइटा टिकेटका नम्बर एउटै थियो । ००१६४३९४ नम्बरका दुइवटा टिकेट हामीले पाएका रहेछौं । त्यो कसरी भयो ? अर्को अचम्मको विषय भयो । ७०० का दरले पैसा तिरेपछि हामीले ७०० कै टिकेट पाउनुपर्ने थियो । तर पाएनौं । केहि त पक्का गडबड देखियो । त्यसपछि हामीले यो कसरी भयो भन्ने कुरा खोतल्न लाग्यौं । यस विषयमा हामीले हामीले चिनेको चन्द्रागिरीमा काम गर्ने एक व्यक्तिसँग सोध्यौं । उनले चन्द्रागिरीको पोल खोले । चन्द्रागिरी हिल्स लिमिटेडले त सिष्टम नै बिगारेर यसरी लाखौँ रुपैयाँ छल्ने, र त्यसवापतको सरकारलाई बुझाउनु पर्ने भ्याट पनि छलीरहेको रहेछ । र त्यसपछि हाम्रो अनुसन्धान अझ अगाडी बढ्यो । 

सुचना अधिकारीले भने, ‘एकाउन्टमा बुझ्नुहोस्’
अर्थ सरोकारले चन्द्रागिरीको ठगीबारे समाचार लेख्दा कहिले तपाईंहरुलाई अन्य कम्पनीको विज्ञापन समेत बन्द गरिदिन्छौं भन्ने, कहिले आइएमइका एजेन्टहरुको सेन्टिमेन्ट बिग्रियो भने जे पनि हुन सक्छ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्ने र आफुलाई चन्द्रागिरी हिल्स लिमिटेडको सुचना अधिकारी बताउने राजु पौडेलसँग हामीले यसबारे जिज्ञासा राखेका थियौं । उनले यसबारे आफुले त्यसै भन्न नसक्ने र एकाउन्टमा फोन गरेर सोध्न आग्रह गरे । सधैंजसो आफुलाई सबै कुरा आउँछ भनेजसरी ‘टोपलीने’ पौडेलले यसपटक भने सभ्य रुपमा नै आफुलाई यसबारे थाहा नभएको र एकाउन्टमा बुझ्न भन्दै गोकुल खनाल क्षेत्री नामका कर्मचारीको नम्बर दिए ।
एकाउन्ट अफिसरले ठगी भएको स्वीकारे 
यसबारेमा हामीले राजु पौडेलले दिएको नम्बर अनुसार नै चन्द्रागिरी हिल्स लिमिटेडका एकाउन्ट अफिसर गोकुल खनाल क्षेत्रीलाई फोन गर्यौं । उनले ७०० रुपैयाँ तिरेर ५२५ को टिकेट दिनु ‘ब्लन्डर’ भएको स्वीकारे । ‘त्यस्तो त हुनै हुँदैन । यो त ब्लान्डर नै भयो । काउन्टरका केटाकेटीहरुले बदमासी गरेजस्तो छ । म बुझ्छु ।’ उनले भने । तर हामीसँग कुरा गर्दा गर्दै उनी चिप्लिहाले । आखिर ढाँटेको कुरा काटेर कहाँ मिल्थ्यो र ? हामीले प्रश्न गर्यौं, ‘हामी १२ अक्टोबरमा घुम्न गएका थियौं तर हामीलाई १८ अक्टोबरको टिकेट कसरी आयो ?’ उनले हामीलाई पर्यटकले कुनै टिकेट फिर्ता गरेको हुन सक्ने र त्यहि टिकेट तपाइहरुले पाएको होला भन्ने जवाफ दिए । तर उनको जवाफ सरासर गलत थियो । किनकि त्यसरी चन्द्रागिरी हिल्स लिमिटेडले टिकेट फिर्ता नै लिंदैन । एक पटक केबलकार नै नचलेर फिर्ता गरेको घटनापछि त्यस्तो टिकेट नै फिर्ता भएको घटना अभाएको छैन ।  फिर्ता गरेको नै भएपनि २ महिनासम्म त्यो टिकेट विक्री नहुने हुँदैन । अनि एउटै पत्तोमा त्यसरी जोडिएर फिर्ता भएको टिकेट आउने कुरा पनि भएन । अरु कसैले ४ वटै टिकेट फिर्ता गरेको रहेछ भनेर बुझौं भनेपनि हामीले तिरेको बिलमा २८००  रुपैयाँ नै उल्लेख छ । तर टिकेटमा हामी ठगियौं ।
एकाउन्ट अफिसरलाई एकाउन्टकै कुरा सोध्दा अझ खास कुरा निस्किन्छ भनेर हामीले सोध्यौं, ‘टिकेट एउटा मूल्यको छ, इन्भोइस अर्को मूल्यको, यसलाई कसरी ‘रेभिन्यू बुक’ गर्नुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘जुन दिन टिकेट विक्री हुन्छ, त्यहि दिन त्यो दिनको आम्दानी ‘बुक’ गर्छौं । तपाईंले पाएको टिकेटपनि उहिले नै बुक भइसकेको छ । ‘अनि टिकेट फिर्ता गर्नेलाई पैसा फिर्ता भयो त ?’ हाम्रो प्रश्नमा उनले भने कतिले टिकेट छोड्नुहुन्छ । जान पाइन भन्नुहुन्छ । उनले पैसा फिर्ताको कुरै गरेनन् । हामीले ‘पैसा नि ?’ भनेर फेरि सोध्यौं । उनले केहि पर्यटकहरुले टिकेट फिर्ता दिने र आफुहरुले लिने गरेको बताए । उनको कुरा सुन्दा यस्तो लाग्थ्यो कि कम्पनीले एउटा टिकेट दुइपटक बेचेको रहेछ ।
‘अनि हामीले पाएको टिकेट पूरानो हो भने हामीले किनेको ७०० रुपैयाँ बराबरको टिकेटचाहिं खोइ त ?’ हाम्रो प्रश्नपछी अक्मकिएर उनले भने, ‘तपाईंको कुरा ठिक हो । काउन्टरमा बदमासी भएको जस्तो छ । उनीहरुमाथि एक्सन लिइन्छ । म बुझेर तपाईंलाई फोन गर्छु ।’ त्यसपछि चंद्रागीरिले कसरीसम्म जनता र राज्य ठग्दोरहेछ भन्ने हामीले बुझीहाल्यौं । यो त प्रतिनिधि घटनामात्र हो । कम्पनीले दिनहुँ यसरी जनतालाई ठगीरहेको छ ।
यसरी भयो भ्याटछली !
हामीलाई दिइएको इन्भोइसमा टिकेटको मूल्य ७०० रुपैयाँ उल्लेख भएको छ । तर टिकेटको मूल्य ५२५ रुपैयाँ छ । ‘त्यहि टिकेटको कपिलाई ‘सपोर्ट डकुमेन्ट’को रुपमा प्रयोग गर्दै ‘भ्याट रिकन्सीलेसन’ गरिन्छ । र सो टिकेटको मूल्य ५२५ रुपैयाँ नै राखिन्छ । एउटा टिकेटमा १७५ रुपैयाँ जोगियो भने त्यस वापतको १३% भ्याट सरकारको ढुकुटीमा होइन चन्द्रागिरी हिल्स लिमिटेडको पोल्टामा जान्छ ।’ लामो समयदेखि कर अभ्यासमा रहेका एक करविज्ञले अर्थ सरोकार डटकमसँग भने । 
चन्द्रागिरी हिल्सका निर्देशक आफ्ना साथी भएको बताउँदै एक कर विज्ञ भन्छन्, ‘चन्द्रागिरी हिल्सका डाइरेक्टर मेरा साथी हुन् । त्यसैले मेरो नाम ‘कोट’ नगरीदिनुहोला । तर यो सरासर ठगी र छली दुवै हो । ‘रिकन्सीलेसनका नाममा भ्याट छली गर्ने एउटा तरिका पनि हो यो । तिरेकै रकम बराबरको टिकेट पाउनु पर्यटकको अधिकारमाथिको हवला पनि हो यो ।’ उनले भने । उनका अनुसार चन्द्रागिरी हिल्स लिमिटेडमात्र होइन देशमा यस्ता धेरै कम्पनी छन् जसले सिष्टममै समस्या देखाएर ठगी गर्छ । ‘कहिले सफ्टवेर बेस्ड सिष्टम भनेर आइएमइको चिट्ठामा धाँदली गर्ने, कहिले हाम्रो सिष्टम ठिक छ भनेर सिष्टम नै बिगारेर कर छल्ने प्रवृति चन्द्रागिरी हिल्समा मात्र होइन सो कम्पनी निकटको आइएमइ ग्रुपका थुप्रै कम्पनीहरुमा छ ।’ उनले भने ।
हेल्लो सरकारदेखि राजश्व अनुसन्धानसम्म उजुरी !
यसो त यसरी ठगिएको पत्ता पाउने हामी पहिलो भने होइन रहेछौं । यसरी ७०० तिर्दा ५२५ को टिकेट पाएर ठगीमा पारिएको भन्दै कम्पनीविरुद्ध हेल्लो सरकारदेखि राजश्व अनुसन्धानसम्म उजुरी परेको रहेछ । ‘तपाईं पत्रकारनै परेर मात्र हो । यस्तो केस थुप्रै पटक भइसकेको छ । यहि केसलाई लिएर राजश्व अनुसन्धानमा समेत उजुरी परेको थाहा पाएका छौं ।’ चन्द्रागिरी हिल्स लिमिटेड निकट स्रोतले भन्यो, ‘तर के गर्ने ? चन्द्र ढकालको पावरका अगाडी कसको पो के लाग्छ र ?’

चन्द्रागिरी हिल्स लिमिटेडका यी कर्तुतहरु पढ्न छुटाउनु भयो कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: