×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तपाईंको पसिना चुस्ने कम्पनीदेखि होसियार ! यसरी पनि आफ्ना सोझा ग्राहक ठग्दो रहेछ आइएमइ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आफुलाई नेपालको नम्बर वान रेमिट्यान्स कम्पनी भएको दावी गर्ने आइएमइभित्रका कर्तुतहरु एक- एक गरी सार्वजनिक हुन थालेको छ । आइएमइका नाममा हुन्डीको कारोबार, एउटालाई पठाएको रकम अर्कैले झिकेको घटना, ‘सब-एजेन्ट’ लिन दलालहरुले गरेको असुली लगायतका समाचार अर्थ सरोकार डटकमले ब्रेक गरेपछि आइएमइले विना कारण जनतासँग गैर कानुनी रुपमा थप शुल्क लिएर जनता ठग्ने गरेको तथ्य फेला परेको छ । 
कुनैपनि बाहानामा थोरै रकम भन्दै थुप्रैसंग रकम असुलेर मोटाउन पल्केका आइएमइका कतिपय एजेन्टहरुले गर्दा आइएमइमा राम्रो काम गर्ने एजेन्टहरु पनि बदनाम हुन थालेका छन् । अर्कोतर्फ त्यस्ता गलत काम गर्ने एजेन्टहरुलाई आइएमइकै केहि उपल्लो तहका कर्मचारीले संरक्षण गर्दा राम्रो काम गर्ने आइएमइका एजेन्टहरु पनि बदनाम हुन थालेका छन् भने जनमानसमा नै आइएमइ ठग कम्पनी हो भन्ने भान परिसकेको छ । हुन पनि थोरै रकमको बहानामा आइएमइमा लुट धन्दा मौलाएको छ ।


विना कारण अतिरिक्त शुल्क, नाम ५ रुपैयाँको तर खेल लाखौँको !
कृष्ण सुनुवारले आफ्ना आफन्तले दुबईबाट पठाएको पैसा आइएमइको आधिकारिक एजेन्ट ग्रीन एसिया ट्राभल एण्ड टुर्सबाट पैसा निकाले । तर पैसा निकाल्दा उनलाई थप ५ रुपैयाँ शुल्क लाग्ने बताइयो । हुन त ५ रुपैयाँ ठुलो कुरा पनि भएन । तर त्यो सरासर गैरकानुनी असुली थियो । आइएमइमार्फत नेपाल पठाउँदा उनका आफन्तले दुबईमा नै शुल्क तिरिसकेका थिए । कुरा ५ रुपैयाँको भएपनि यो सरासर लुट हो भन्ने ठानी उनले आईएमइको फेसबुकमा यस्तो लुटबारे जानकारी गराए । तर खास सुनुवाई भएन । कुरा ५ रुपैयाँको भन्दापनि सिष्टमको हो । यसरी प्रत्येक व्यक्तिबाट ५ रुपैयाँ असुल्ने हो भने सम्झनुहोस् त कति रुपैयाँ आइएमइका नाममा ठगी भइरहेको छ । ‘५ रुपैयाँ त हो नि !’ भन्ने बहानामा कतिसम्म लुट भइरहेको छ आइएमइमा !
कृष्ण सुरुवार र ग्रीन एसिया ट्राभल एण्ड टुर्स त एउटा प्रतिनिधि पात्र मात्र हुन् । आइएमइका थुप्रै एजेन्टहरुमा यसरी गैरकानुनी असुली भइरहेको छ । तर थोरैमात्र बोल्ने गरेका छन् । हुन पनि लाखौँ रुपैयाँ झिक्दा ५ रुपैयाँको मतलव कसैले पनि गर्दैन । त्यहि कमजोरीको फाइदा उठाउँदै आइएमइका नाममा लुट धन्दा भइरहेको छ । यसरी आइएमइका कर्मचारीले लिएको अतिरिक्त शुल्क सिष्टममा पनि छिर्दैन । जसका कारण आइएमइले कर समेत छली गरिरहेको छ । पछिल्लो समय काभ्रे, भक्तपुर, ललितपुर, जनकपुर, विराटनगर लगायतका ठाउँमा आइएमइका नाममा सरासर यसरी अतिरिक्त शुल्क लाग्ने गरेको ग्राहकको गुनासो छ ।
‘कतिपयले ५ रुपैयाँ, कतिपयले १० रुपैयाँ लिने गरेका छन् । त्यो पनि मान्छे हेरीहेरी । अलि सोझा-सिधा मान्छे देखियो भने त १०० रुपैयाँ समेत लिने गरेको छ आइएमइले । अनि कसैले किन पैसा लिएको भनेर झपार्यो भने पैसा फिर्ता समेत दिने गरिएको छ ।’ काभ्रेको एक एजेन्टबाट पैसा निकालेका सुमन नेपाल भन्छन्, ‘किन यसरी पैसा लिएको भन्ने प्रश्न गर्दा यो एक्स्ट्रा चार्ज हो भनियो । मैले प्रतिवाद गरेपछि पैसा फिर्ता दिइयो । फिर्ता दिनु नै थियो भने किन लिइयो ? सोझाहरुमाथि आइएमइले लुट मछ्चाईरहेको छ ।’ उनका अनुसार कतिपय ग्राहकहरुलाई त आइएमइका कर्मचारीले दशैं खर्च भन्ने जस्तो तल्लो स्तरको जवाफसमेत दिने गरेका छन् भने कतिपयले ५ रुपैयाँमा पनि कति किचकिच गरेको भनेर समेत जवाफ दिने गरेका छन् । 

फोटोकपिका नाममा शुल्क अशुली
देवराज पराजुलीले आइएमइमा पैसा निकाल्न जाँदा फोटोकपी बाहिरबाट गरेर ल्याउन भनियो । सब एजेन्ट दिंदा कति न गुणस्तरको नौटंकी रच्ने आइएमइले छानी छानी आफ्ना र जागिर- काम नपाएकाहरुलाई सब एजेन्ट दिँदा यस्तो समस्या निस्किएको छ । यसरी बाहिरबाट फोटोकपी गरेर ल्याउन भनिएपछी देवराजले पनि सामाजिक संजालमा आइएमइ प्रयोग नगर्ने भन्दै आक्रोश पोखे ।
जनकपुरकि नयना जेसवाल (उनकै आग्रहमा नाम परिवर्तन) को पीडा अलि फरक छ । जनकपुरमा रहेको एक आइएमइको एजेन्टले त सोझो देख्ने बित्तिकै ग्राहकसंग नागरिकता फोटोकपि गरेको भन्दै १० रुपैयाँ लियो । उक्त एजेन्टले ग्राहक हेरी हेरी ५ रुपैयाँदेखि १० रुपैयाँसम्म नागरिकता फोटोकपि गरेवापत रकम लिने गरेको ग्राहकहरुको गुनासो छ । ‘आफ्नै ठाउँ भएकाले ५-१० रुपैयाँमा किचकिच गर्ने कुरा पनि भएन । बाहिर फोटोकपी गर्दा पनि पैसा लाग्छ । तर प्राय एजेन्टहरुमा फोटो कपि गरेको पैसा लाग्दैन । तर जनकपुरका केहि एजेन्टहरुले यसरी खुलेआम ठगी गर्ने गरेका छन् ।’ जैसवालले अर्थसरोकार डटकमसँग भनिन् ।
कारणनै विना पनि शुल्क अशुली
यता आइएमइका केहि बदमास कर्मचारी र आफुलाई कमिसन दिने एजेन्ट भएकाले केहि पनि नगर्ने प्रधान कार्यालयको नीतिका कारण कतिपय एजेन्टहरुले त विना कारण नै अतिरिक्त शुल्क लिने गरेका छन् । यस्तो शुल्क ५ रुपैयाँदेखि १०० रुपैयाँसम्म हुने गरेको छ । थुप्रै ग्राहकसंग यसरी पैसा असुल्दा आइएमइका कर्मचारीहरुले मोटो रकम असुल्ने गरेको बुझिएको छ । यसरी जम्मा भएको रकम आइएमइका कर्मचारीहरुले बाँडेर लिने गरेका छन् । कतिपय एजेन्टहरुमा जसले पायो त्यसले पैसा असुल्ने गरेका छन् । 
‘कम्प्लेन गर्ने ठाउँ नै छैन । कसलाई भन्ने ? ५-१० रुपैयाँका लागि कति किचकिच गर्ने ? तर सरासर लुट भइरहेको छ । नेपालको नम्बर वान रेमिट्यान्स कम्पनी भएको दावी गर्ने कम्पनीले सरासर जनता ठगीरहेको छ। ‘ आइएमइका एक ग्राहकले अर्थ सरोकार डटकमसंग भने । उनका अनुसार यसबारे आइएमइको प्रधान कार्यालयमा उजुरी गर्छु भन्दा ‘तँलाई यहाँ बस्ने मन छ कि छैन ?’ भन्ने सम्मको धम्की आउने गरेको छ । 

प्रश्न सोध्न खोज्दा उल्टै पत्रकार थर्काउँछन् आइएमइका प्रतिनिधि 

यता हामीले यसबारे आइएमइ रेमिट्यान्स कम्पनीका पीआर अफिसर राजु पौडेलसँग बुझ्न खोज्दा उनले आइएमइका बारे निरन्तर समाचार आइरहेकाले यसले राम्रो नगर्ने चेतावनी दिंदै उनले आफ्ना ६००० एजेन्टहरुलाई प्रयोग गरेर जे पनि गर्न सक्ने धम्की दिने गरेका छन् । ‘तपाईंले आइएमइ ग्रुपका बारेमा निरन्तर समाचार लेखिरहनुभएको छ । हाम्रा एजेन्टहरुको सेन्टिमेन्ट बिग्रिएको छ । हाम्रा ६००० एजेन्सीहरु तपाईं विरुद्ध प्रयोग भए भने जे पनि हुन सक्छ । विचार गर्नुहोला ।’ पौडेलले अर्थ सरोकारकर्मीलाई धम्क्याउँदै भनेका छन् । उनले केहि सच्याउन सक्ने गल्ती हुने र केहि नहुने बताउंदै भने, ‘केहि सच्याउन सक्ने गल्ती हुन्छन् । त्यसलाई ठुलो इस्यु बनाउनु पनि राम्रो होइन । यो तपाईंसँग मेरो अन्तिम कुराकानी हुन सक्छ । भोलि तपाईंलाई केहि भइहाल्यो भने हामी जिम्मेवार हुने छैनौं ।’ उनले धम्कीपूर्ण भाषा प्रयोग गर्दै भने ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: