×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भूकम्पको ३१ महिनामा २२ अपार्टमेन्टलाई ‘ग्रिन सिग्नल’

काठमाडौं – १२ वैशाख ०७२ मा गएको विनाशकारी भूकम्पबाट प्रभावित काठमाडौं उपत्यकामा निर्माणाधीन तथा निर्माण सम्पन्न भई प्रयोगमा आइसकेकामध्ये २२ वटा अपार्टमेन्टले बस्नका लागि योग्य (ग्रिन सिग्नल)को अनुमति (स्वीकृति) पाएका छन् । भूकम्प गएको ३१ महिना (२ वर्ष ७ महिना)को अवधिमा ती अपार्टमेन्ट बस्न योग्य भएको सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय काठमाडौंले जानकारी दिएको हो । यो कुल अपार्टमेन्टमध्ये ४३ दशमलव १३ प्रतिशत हो ।
‘भूकम्पले प्रभावित कुल ५१ वटा अपार्टमेन्टमध्ये अझै २९ वटाले सञ्चालन योग्यको अनुमति लिन बा“की रहेको छ,’ डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजनल इन्जिनियर लीला खतिवडाले भने । डिभिजन कार्यालय काठमाडौंले भूकम्पले पारेको असर न्यूनीकरण तथा रोकथामका विभिन्न परीक्षण र मापदण्ड पूरा गरेका अपार्टमेन्टलाई बस्न योग्य अनुमति दिने गरेको छ । ‘बस्नका लागि स्वीकृति पाएका सबै अपार्टमेन्टले आवश्यकताअनुसार मर्मत, पुनस्र्थापना र रेट्रोफिटिङ गरी देखिएका कमजोरी सुधार्दै भूकम्प प्रतिरोधी मापदण्ड पूरा गराएका छौँ,’ सिनियर डिभिजनल इन्जिनियर खतिवडाले नया“ पत्रिकासँग भने ।
भूकम्पअघि प्रयोगमा आइसकेका तथा निर्माणाधीनमध्ये बा“की २६ वटा अपार्टमेन्ट मर्मत, पुनस्र्थापना, रेट्रोफिटिङलगायत प्रबलीकरणको विभिन्न प्रक्रियामा रहेको कार्यालयले जानकारी दिएको छ । तर, अन्य ३ वटा अपार्टमेन्ट भने प्रबलीकरणको कुनै पनि प्रक्रियामा नआएको सिनियर डिभिजनल इन्जिनियर खतिवडाले जानकारी दिए । तिनीहरूमा सिग्नेचर पहिलो, सिग्नेचर दोस्रो र बागमती अपार्टमेन्ट रहेका छन् ।
भूकम्पको असरपछि अहिलेसम्म गरिएका विस्तृत क्षति मूल्यांकन (डिटेल ड्यामेज इभ्यालुएसन)अन्तर्गतका सबै परीक्षण पास भएका २२ वटा अपार्टमेन्टले बस्नका लागि योग्यको स्वीकृत पाएका हुन् । भूकम्पछिको विस्तृत क्षति मूल्यांकन अध्ययनमा ६ वटा अपार्टमेन्टमा भने कुनै किसिमको सुधारको आवश्यकता नदेखिएको डिभिजन कार्यालय काठमाडौंले जानकारी दिएको छ । तिनीहरूमा धुम्बाराही अपार्टमेन्ट (ओरियन्टल), दी कम्फर्ट हाउजिङ (टिसिएच), भाटभटेनी अपार्टमेन्ट, इन्द्रेणी अपार्टमेन्ट (पहिलो), इन्द्रेणी अपार्टमेन्ट (दोस्रो) र सनराइज अपार्टमेन्ट रहेका छन् ।
यसरी बनाइन्छ बस्न योग्य
विस्तृत अध्ययन मूल्यांकन गर्ने परामर्शदाताले भवनको पूर्ण अध्ययन गर्छ र सुझाबसहितको प्रतिवेदन दिन्छ । त्यसलाई डिभिजन कार्यालयले ‘भेरिफाइ’ गर्छ । त्यसरी भेरिफाइ गर्दा दोस्रो चरणसम्मको ड्यामेज हो भने मर्मत र पुनस्र्थापना गर्न भवन निर्मातालाई सिफारिस गर्ने गरिएको छ । सिफारिसअनुसार काम भए–नभएको जाँच गर्न नन डिस्ट्रक्टिभ टेस्ट (एनडिटी) गर्ने गरिएको छ । यसरी पटक–पटक टेस्ट गर्दा पनि असफल देखिएमा तेस्रो चरणको ड्यामेज भएको मानिन्छ र त्यस्ता भवनलाई रेट्रोफिटिङमा लैजानुपर्छ । साथै, अपार्टमेन्ट धनीले ‘रेट्रोफिटिङ क्यापासिटी डिजाइन’ पेस गर्नुपर्छ । निर्माण गरेपछि भवनको क्षमता के–कति हुन्छ र त्यस्तो भवन प्रयोगमा आउँदा कतिसम्मको तौल बहन गर्न सक्छ भनेर गरिने काम नै रेट्रोफिटिङ क्यापासिटी डिजाइन हो । यस्तो अवस्थामा पुगेका भवनको रेट्रोफिटिङ र ड्यामेज भएको पार्टस्को रि–डिजाइनमा पेस गरिएका आधारमा निर्माण गर्ने गरिन्छ । रेट्रोफिटिङ र ड्यामेज भएको पार्टस्को रि–डिजाइन गरेर निर्माण गर्दा नयाँ निर्माणभन्दा बढी लागत लाग्ने अवस्थामा भवनलाई भत्काउनु उत्तम मानिन्छ ।
स्वीकृति नपाएका अपार्टमेन्ट असुरक्षित
डिभिजन कार्यालय काठमाडौंले हरेक अपार्टमेन्टलाई डिटेल ड्यामेज इभ्यालुएसनका सम्पूर्ण प्रक्रिया पूरा गरेपछि मात्र बस्नका लागि उपयुक्त मानिने जानकारी दिएको छ । स्वीकृति नपाएका भवन बस्नका लागि नभई पस्नका लागि मात्र उपयुक्त रहेको डिभिजन सिनियर डिभिजनल इन्जिनियर लीला खतिवडाको भनाइ छ । विज्ञहरूद्वारा गरिने अपार्टमेन्टको मूल्यांकनले घरको वास्तविक अवस्था पत्ता लगाउनुका साथै भवनको हरेक पार्टस्, ज्वाइन्ट्सलगायतका विषयमा के–कस्तो क्षति भएको हो भनेर म्यापिङ गर्ने काम गरिन्छ । यस्ता कठिन परीक्षण पार गरेपछि मात्र त्यो भवन बस्नका लागि सुरक्षित मानिन्छ । कतिपय अपार्टमेन्ट भूकम्प जानेबित्तिकै गरिएको ‘¥यापिड भिजुअल एसेसमेन्ट’का भरमा नै रहेका छन् । त्यसलाई आधार मानेर प्रयोग गर्नु गलत रहेको उनीहरूको भनाइ छ । भूकम्पलगत्तै गरिएको ¥यापिड भिजुअल एसेसमेन्ट विशेष गरी मानिसको जिउज्यानको सुरक्षाको हिसाबले मात्र मूल्यांकन गरिएको कार्यालयको भनाइ छ ।
अधिकांश अपार्टमेन्ट पहिलो र दोस्रो सिरिजमा
भूकम्पले प्रभावित अधिकांश अपार्टमेन्ट पहिलो र दोस्रो सिरिजमा परेका छन् । जुन तेस्रो सिरिजको तुलनामा कम जोखिमयुक्त मानिन्छ । सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय काठमाडौंले अहिलेसम्म मूल्यांकन गरेका भवनमध्ये अधिकांश पहिलो र दोस्रो सिरिजमा परेका छन् ।
ड्यामेज तीन प्रकारको
१. एम सिरिज ड्यामेज : ‘संयुक्त आवास भवन निर्माण स्वीकृति तथा अनुगमन कार्यविधि २०७०’ अनुसार यस चरणको क्षतिमा भित्ता (वाल)मा मात्र क्र्याक (क्षति) भएका भवनहरू पर्छन् । यस प्रकारका क्षतिलाई सामान्य तरिकाले मर्मत गर्न सकिने हुन्छ । साथै, यस सिरिजमा शून्य दशमलव ५ मिलिमिटरदेखि ५ मिलिमिटरसम्मको क्र्याक भएका वालहरू पर्छन् । यस्तो क्षतिलाई मर्मत गर्न ठूलो लागत लाग्दैन ।
२. एसडी सिरिज ड्यामेज : यस वर्गमा पर्ने भवनको संरचना क्र्याक (स्ट्रक्चरल ड्यामेज) भएको हुन्छ । क्र्याक भएको पार्टस् (भाग)लाई पुनस्र्थापना (रि–स्टोर) गर्न सकिन्छ । उदाहरणका लागि बिमको ज्वाइन्टमा भएको क्र्याकलाई यस वर्गमा राखिएको छ ।
३. एसएफ (स्ट्रक्चरल फेलियर) सिरिज ड्यामेज : भवनको संरचना नै काम नलाग्ने अवस्थामा पुगेका अपार्टमेन्टलाई यो वर्गमा राखिन्छ । यस वर्गमा परेका भवनको भूकम्प प्रतिरोधी क्षमता जाँच गर्नुपर्छ । त्यसबाहेक रेट्रोफिट (टेवा पर्खाललगायत) अथवा भत्काउनुपर्ने पनि हुन सक्छ । यस वर्गमा परेका भवन रेट्रोफिट गर्दा वा अन्य सुरक्षाका मापदण्ड अपनाउँदा नयाँ निर्माणको भन्दा बढी लागत लाग्ने अवस्थामा भत्काउने गरिन्छ । – नयाँ पत्रिका
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: