सेन्चुरीले गर्यो प्रगति, खुद नाफा ४२.४१% ले वृद्धि
Powered by Blogger.
सेन्चुरीले गर्यो प्रगति, खुद नाफा ४२.४१% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सेन्चुरी कमर्सियल बैंकले १० करोड ५७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा गत वर्षको तुलनामा ४२.४१% ले धेरै हो । गत वर्ष सेन्चुरीले ७ करोड ४२ लाख ७४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यस्तै, बैंकले खुद ब्याज आम्दानीमा पनि ५२.१६% ले बढाएर ३३ करोड १९ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ । बैंकको सञ्चालन नाफा पनि गत वर्षको भन्दा धेरै भएको छ । सञ्चालन नाफा १२ करोड ३१ लाख ३१ हजार रुपैयाँबाट बढेर १३ करोड ५८ लाख ६९ हजार रुपैयाँ पुगेको छ । 

गत वर्ष सेन्चुरीको खुद ब्याज आम्दानी २१ करोड ८१ लाख ६० हजार रुपैयाँ मात्र थियो । निक्षेप ३१ अर्ब बाट बढोत्तरी गरेर ४५ अर्ब ३५ करोड १८ लाख ६१ हजार रुपैयाँ पुर्याएको यस बैंकले ४० अर्ब ८५ करोड ७८ लाख १३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । सेन्चुरीले सम्भावित जोखिमका लागि ११ करोड ५६ लाख ३९ हजार रुपैयाँ छुट्याएको छ भने २ करोड ५५ लाख ४८ हजार रुपैयाँ राइट ब्याक गरेको छ । बैंकको खराब कर्जा ०.३०% बाट बढेर १.७०% भएको छ । यस्तै, कस्ट अफ फन्ड ४.३४% बाट बढेर ८% भएको छ भने कर्जा निक्षेप अनुपात ७६.११% बाट बढेर ७८.४७% हुन पुगेको छ । सेन्चुरीको इक्विटीमा प्रतिफल ६.४३% छ । सेन्चुरीको चुक्ता पुँजी ५ अर्ब ४६ करोड ६ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

बैंकले साउन १६ गतेदेखि असोज २ गतेसम्म इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपश्चात कायम भएको चुक्ता पुँजीबाट १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता (४०%) हकप्रद सेयर बिक्री गरेको थियो । तर बैंकले यो हकप्रदलाई भने पहिलो त्रैमासमा पुँजीकृत गरेको छैन । यता, बैंकको भदौ २३ गते बसेको विशेष साधारण सभाले सेती फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रस्ताव पास गरिसकेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ४० पैसा रहेको छ । तर ४०% हकप्रद सेयर पुँजीकृत भइसकेपछि पुँजीको आकार अझै बढ्ने भएकाले त्यही अनुपातमा व्यापार फराकिलो बनाउनुपर्ने आवश्यकता छ । नत्र भने प्रतिसेयर आम्दानीमा सन्तुलनमा राख्न चुनौती हुनेछ । गत वर्ष भने सेन्चुरीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४६ पैसा (वार्षिक) रहेको थियो । यता, बैंकको रिजर्भ कोषमा १ अर्ब २२ करोड ३२ लाख ५८ हजार रुपैयाँ जम्मा भएको छ । चुक्ता पुँजीको आधारमा रिजर्भ कोष दर्बिलो बनाउनुपर्ने चुनौती पनि उत्तिकै छ ।

प्रकाशित मिति : Thursday, November 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...