देवःको खुद नाफा ३६.१३% ले घट्दा प्रति सेयर आम्दानी कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - चालु आर्थिक वर्षको पहिलो त्रैमासमा  देवः विकास बैंकले ३ करोड २३ लाख ७७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यही त्रैमासको तुलनामा ३६.१३% ले थोरै हो । बैंकले गत वर्ष ५ करोड ६ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  बैंकको २.९८% ले खुद ब्याज आम्दानी वृद्धि भएर १२ करोड ६ लाख ५२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद ब्याज आम्दानी ११ करोड ७१ लख ६० हजार रुपैयाँ थियो । निक्षेप ७ अर्ब ९६ करोडबाट ११ अर्ब ३५ करोड ३० लाख ३६ हजार रुपैयाँ पुर्याएको यस बैंकले १० अर्ब १६ करोड ८९ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ६४% ले बढेर १ अर्ब ४४ करोड ४९ लाख ८४ हजार रुपैयाँ पुर्याएको बैंकको जगेडा कोषमा भने ५० करोड ८७ लाख ८४ हजार छ । 

राष्ट्र बैंकले तोेकेको न्यूनतम चुक्ता पुँजी पुर्याउने अभियानमा रहेको देवः ले युनियन फाइनान्स र साझा विकास बैंकलाई एक्वायर गरेर बिहीबार (कात्तिक २३ गते) देखि एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । यस्तै, देवःले सहारा विकास बैंकलाई एक्वायर गर्ने तरखरमा पनि छ । बैंकले प्रथम त्रैमासमा प्रोभिजनमा ४ करोड १० लाख ४० हजार रुपैयाँ राखेको छ । देवःले खराब कर्जा भने घटाउँदै लगेको छ । गत वर्ष ३.४४% रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा १.७९% मा झरेको छ । कस्ट अफ फन्ड र निक्षेप अनुपात भने बढेर क्रमशः ८.०६% र ७६.५३% पुगेको छ । गत वर्ष कस्ट अफ फन्ड र निक्षेप अनुपात क्रमशः ३.९६% र ७३.८१% थियो । देवःको ८ रुपैयाँ ९६ पैसा (वार्षिक) मा झरेको छ । प्रतिसेयर नेटवर्थ भने १३५ रुपैयाँ २१ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २३ रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५ पैसा थियो । 
प्रकाशित : Sunday, November 12, 2017

recent

Popular Posts