×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जाडो मौसममा सखरखण्ड खानुका फाइदै-फाइदा, हेर्नुहोस् मात्र ८० ग्राम खाए पनि के हुन्छ ?

सखरखण्ड वनस्पतिको जरा हो, जुन ‘स्टार्च’ले भरिएको हुन्छ तथा स्वाद गुलियो हुन्छ । यसको बोक्रा पातलो र बाहिर खैरो वा हलुका कफी रङको हुन्छ र भित्र रातो रङको हुन्छ ।
यो विभिन्न रङको हुन्छ। यो कतै सुन्तला रङमा पाइन्छ भने कतै सेतो, बैजनी, पहेँलो वा नौनी ध्यू रङको पनि हुन्छ । नेपालमा कुनै भूभागमा यसलाई सखरखण्ड भनिन्छ भने कतै सुठुनी र तराईमा अलुवा पनि भनिन्छ ।
सखरखण्ड सफा गरेर बोक्रैसहित वा बोक्रा हटाएर काँचै वा उसिनेर वा पोलेर खान सकिन्छ । यसको पात पनि खान हुन्छ ।
सखरखण्डमा पाइने पोषक तत्व
सखरखण्ड फाइबर, भिटामिन बी र सीसँगै आइरन, क्याल्सियम, सेलेनियमजस्ता खनिजले भरिपूर्ण हुन्छ । यसबाहेक सखरखण्डमा बिटा–क्यारोटिन भन्ने पोषक तत्व प्रचूर मात्रामा पाइन्छ, जुन ‘एन्टिअक्सिडेन्ट’ हो । हामीले खाएको बिटा–क्यारोटिन शरीरमा भिटामिन एमा परिणत हुन्छ । ८० ग्राम सखरखण्डले नै हामीलाई पर्याप्त पोषण दिन्छ ।
के सखरखण्डले क्यान्सरको जोखिम घटाउँछ ?: क्यान्सर लगायत अन्य रोगको जोखिम घटाउने कुनै एउटा विशेष खानेकुरा वा ‘सुपरफुड’ छैन । किनभने क्यान्सर हुने सम्भावन भोजनसँग गाँसिएको छैन । तर, हामीले स्वस्थकर र पोषणयुक्त भोजन गरे क्यान्सरको जोखिम घट्ने विभिन्न अध्ययनले देखाएका छन् ।
फलफूल र सागसब्जीमा प्रचूर मात्रामा एन्टिअक्सिडेन्ट र ‘कम्पाउन्ड्स’ पाइन्छ, जसले हाम्रो शरीरलाई ‘फ्रि ¥याडिकल’ले गर्ने हानीबाट बचाउँछ । विभिन्न अध्ययनले सखरखण्डको बोक्रामा पाइने दुर्लभ एन्टिअक्सिडेन्ट र विशेषगरी वैजनी रंगको सखरखण्डले शरीरमा हुने ‘अक्सिडेसन’ प्रक्रिया न्यून गर्ने भएकाले क्यान्सरको जोखिम घटाउन सघाउने देखाएका छन् ।
एसिया महादेशमा गरिएको एउटा अध्ययनले अत्यधिक मात्रामा भिटामिन ए पाइने खानेकुरा (सखरखण्डको पातसमेत) ले फोक्सोमा क्यान्सर हुने जोखिम घटाउने देखाएको छ ।
सखरखण्ड पाचनमा सहायक: सखरखण्डमा पाइने अत्यधिक फाइबरले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्ने पोषणविद्हरू बताउँछन् । अहिलेसम्म जनावरमा मात्र अनुसन्धान गरिए पनि सखरखण्डमा पाइने ‘फाइटोस्टेरोल’ले पाचन प्रणालीको सुरक्षा गर्ने र पेटको तथा सानो आन्द्राको अल्सरबाट जोगाउन उपयोगी हुने संकेत पाइएको छ । स्वास्थ्य खबरका अनुसार यसले ‘इबुप्रोफिन’जस्ता एनएसएआइडिएस (नन स्टेराइडल एन्टिइन्फ्लेमेटरी ड्रग्स) औषधिको प्रयोगबाट हुने नकारात्मक असरसमेत न्यून पार्छ ।
के सखरखण्डले टाइप टु मधुमेहबाट जोगाउन सहयोग गर्छ ?: सखरखण्डले टाइप टु मधुमेह व्यवस्थापनमा सघाउने वा उपयोगी छ÷छैन भन्नेबारे अझै धेरै अनुसन्धान हुन बाँकी छ । तर, यसबारे भएका केही अनुसन्धानले भने सामान्य मात्रामा सखरखण्ड र यसका पातको उपयोगले टाइप टु मधुमेहका रोगीलाई रगतमा चिनीको मात्रा नियन्त्रणमा सघाउने देखाएका छन् ।
के सखरखण्डले आँखा स्वस्थ राख्छ ?: जर्नल अफ फुड एन्ड न्युट्रिसन रिसर्चले गरेको एउटा अध्ययनले वैजनी रङको सखरखण्डमा मात्र पाइने ‘एन्थोसाइनिन’ नामको एन्टिअक्सिडेन्ट आँखाका लागि लाभदायक रहेको पत्ता लगाएको थियो ।
के सखरखण्ड सबैले खान हुन्छ ?: सखरखण्ड सन्तुलित भोजन÷आहारका लागि सर्वोत्तम खानेकुरा हो । यसमा पाइने अधिकांश तत्व हाम्रो स्वास्थ्यका लागि उपयोगी भए पनि एउटा तत्व ‘अक्जालेट’ले भने क्याल्सियम र अरु खनिज तत्वलाई ढिक्का पार्ने वा जमाउने काम गर्छ । भोजनमा अक्जालेटको मात्रा धेरै भए मिर्गौलामा पत्थरी हुने सम्भावना हुन्छ । त्यसैले मिर्गौलामा पत्थरी हुने सम्भावना भएका व्यक्तिले भने धेरै सखरखण्डको उपभोग गर्नु हुँदैन ।
पकाउँदा सखरखण्डको पोषण कति घट्छ ?: सखरखण्ड पकाएर खाँदा यसमा पाइने बिटा–क्यारोटिनको मात्रा घट्छ । उसिन्दा भने यसको बिटा–क्यारोटिनको मात्रा धेरै घट्दैन । तर, पकाउँदा यसमा पाइने भिटामिन सीको मात्रा भने वृद्धि हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: