×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘आइएमई पे’ र ‘आइएमइ पे वालेट’को ‘गैरकानुनी’ लोगो प्रचारमा, नियामक निकाय रमिते !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ‘नेपालको कानुन, देव नै जानुन्’, यो चर्चित नेपाली उखान हो । ‘सानालाई ऐन, ठुलालाई चैन’ यो अर्को चर्चित नेपाली उखान हो । र यो उखान अहिलेको कर्पोरेट बजारमा सबैभन्दा बढी लागु हुने कम्पनी भनेकोचाहिं पक्कै पनि आइएमइ ग्रुप हो । गल्ती हुनु सामन्य हो, तर गल्ती दोहोर्याउनु वा सुधार नगर्नु अटेरीपनको हद हो । त्यसमाथि पनि कानुन हेर्ने हो भने विधिशाश्त्रले स्पष्टसँग कानुन नजानेर गल्ती गर्न पाईदैन र त्यो क्षमाको विषय हुँदैन भनेर स्पष्ट भनेको छ । आइएमइ ग्रुपका ‘टाउके’हरुलाई पनि अव विधिशास्त्र पढाउनु पर्ने भएको छ ।

प्रसङ्ग ‘आइएमइ पे’को गैरकानुनी लोगोको हो । कम्पनीले आइएमइ पेको आफ्नो लोगोमा प्रयोग गरेको ® चिन्ह प्रयोग गर्न योग्य नै नभई रजिष्टर्ड ट्रेडमार्क चिन्ह राखेर गैरकानुनी दावी गरेको छ । नेपालको प्रचलित कानुन अनुसार उद्योग विभागमा ट्रेडमार्क दर्ताका लागि आवेदन दिएपछि करिव एक बर्ष TM चिन्ह मात्र राख्न पाइन्छ । उक्त प्रक्रियाका बीचमा कसैको दावी विरोध नपरेको खण्डमा मात्र ® चिन्ह प्रयोग गर्न पाइन्छ । तर प्रचलित कानुनको धज्जी उडाएर ठुलो हुनुको दादागिरी प्रस्तुत गर्दै आइएमइ ग्रुपले आइएमइ पेको लोगोमा गैरकानुनी ट्रेडमार्क प्रस्तुत गरेको छ । अझ आइएमइ पेमा मात्र कहाँ हो र ? कम्पनीले आइएमइ पे वालेटको लोगोमा पनि यस्तै गैरकानुनी ट्रेडमार्क दावी गरेको छ ।


‘गल्ती’ होइन ‘बलमिच्याई’ 
यसो त कम्पनीको यो गल्ती वा थाहा नभएर गरेको गल्ती पनि होइन । यो त सरासर बलमिच्याइ हो । आइएमइ ग्रुपकै अर्को कम्पनी आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडले यस्तै गैरकानुनी काम गरेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि कम्पनीले उक्त काम सच्याएको थियो ।   त्यतिबेला नै कम्पनीले अन्य लोगोमा प्रस्तुत भएका गैरकानुनी ट्रेडमार्क चिन्ह हटाउने अपेक्षा सबैको थियो । तर ‘आइएमइ ग्रुप कानुन भन्दा माथि छ’ भन्ने शैलीमा कम्पनीले यस्तो दादागिरी देखाएको हो । स्रोतका अनुसार कम्पनीका ‘टाउके’हरुले ‘म मिलाउँला, सबै तिर गएको लोगो परिवर्तन नगर्नू’ भन्ने ‘ आदेश दिएपछी आइएमइ पेले आफ्नो लोगोमा रहेको गैरकानुनी चिन्ह यथावत राखेको थियो ।

भएको के हो ? हुनु पर्ने के हो ?
हालका लागि कम्पनीले आइएमइ पे वा आइएमइ वालेटको आफ्नो लोगोमा ® चिन्ह राख्नै पाउँदैन । कम्पनीले प्रयोग गरेको यो लोगोमा  उसले रजिष्टर्ड चिन्ह राख्ने हैसियत वा अनुमति पाएको छैन । ट्रेडमार्क दर्ता नै नभई कुनै लोगोमा ® चिन्ह राख्नु अन्तराष्ट्रिय रुपमै वौद्धिक सम्पत्तिमाथिको हस्तक्षेपको रुपमा मानिन्छ । अन्तराष्ट्रिय अभ्यासमा यस्तो काम गर्नेलाई कारवाही समेत गर्ने चलन छ । नेपालमा पनि दर्ता प्रक्रियाको झन्डै एक बर्षपछी मात्र यो चिन्ह आफ्नो लोगोमा राख्न पाइन्छ । अझ कतिपय देशमा त दर्ता भएको ७ बर्ष पछी मात्र TM को ठाउँमा ® चिन्ह प्रयोग गर्न पाइन्छ । नेपालको हकमा यो अवधि झन्डै १ बर्षको छ । नेपालमा पनि पावर र पैसाको राज नचल्ने हो भने आइएमइ पेको यो कदमका लागि उद्योग विभागले कारवाही गर्नुपर्ने हो । रजिष्टर्ड ट्रेड मार्क चिन्हको दुरुपयोग गरेमा कस्तो कारवाही गर्ने भन्ने विषयमा नेपालमा समेत स्पष्ट कानुन छ ।

तर यसअघि पनि  आइएमइ जनरल इन्सुरेन्सले गरेको गैरकानुनी काम विरुद्ध विभागले खास कारवाही प्रक्रिया अगाडी बढाउन सकेन । कम्पनीले झारा टार्ने काम मात्र गर्यो । अहिले पनि काठमाडौँका विभिन्न ठाउँहरुमा कम्पनीले गैरकानुनी लोगो सहितको ब्यानर झुन्ड्याएको छ । गैरकानुनी लोगो सहितका होर्डिङ बोर्डहरु ठाउँ ठाउँमा राखिएका छन् । तर कम्पनीले यसमा खास वास्ता गरेको छैन । वास्ता गरेको छैन भन्दापनि नेपालको कानुनको धज्जी उडाएर विधिको शासनभन्दा हामी माथि छौं भन्ने दावी गरिरहेको छ ।       

यसरी नेपालको कानुन मान्ने हो भने ट्रेडमार्क दर्ताको प्रक्रिया सुरु गरेर दावी विरोधका लागि दर्ता भएको खण्डमा एक बर्षसम्म कम्पनीले आफ्नो लोगोमा TM चिन्ह राख्न पाउँछ । त्यो बीचमा कसैको दावी विरोध पर्यो भने उसले उक्त लोगो गुमाउनुपर्छ । कसैको दावी विरोध परेन भने TM लेखेको एक बर्षपछी उसले ® चिन्ह प्रयोग गर्न पाउँछ । तर आइएमइ पे उक्त चिन्हका लागि योग्य नै नभई ® चिन्ह चिन्ह राखेर लोगो सार्वजनिक गरेको छ । जुन सरासर गैरकानुनी हो ।
उद्योग विभागका कर्मचारी भन्छन्,’ हाकिम सापसँग कुरा मिलिसक्यो होला, हामीले के गर्नु सर ?’
यसबारे कम्पनीलाई लाइसेन्स दिने नेपाल राष्ट्र बैंकलाई पनि हामीले सोधेका थियौं । नेपाल राष्ट्र बैंकका कर्मचारी लोगोमा प्रयोग भएको चिन्ह बारे उद्योग विभागले हेर्ने भन्दै पन्छिए ।  त्यसपछि हामीले यसबारे बुझ्न हामीले उद्योग विभागमा समेत सम्पर्क गर्यौं । ट्रेडमार्क दर्ता साखाका एक कर्मचारीले नियम विपरित काम गर्नेलाई कारवाही गर्न सकिने व्यवस्था भएको भन्दै आइएमइ पे र आइएमइ वालेटमा प्रयोग भएका ट्रेडमार्क चिन्ह गैरकानुनी रहेको स्पष्ट पारे ।

‘यसअघि आइएमइ जनरल इन्सुरेन्स कम्पनीको हकमा पनि तपाईंले यहि प्रश्न सोध्नु भएको थियो । समाचार पनि हाल्नुभयो । विभागमा पनि यसको राम्रै चर्चा भयो । अहिले कम्पनीले अनाधिकृत रुपमा ट्रेडमार्क चिन्ह राखेर नै बोर्डहरु ठाउँ-ठाउँमा राखेको छ । तर हाकिमसापसँग कुरा मिलिसक्यो होला, हामीले के गर्नु सर ?’ उनले अर्थ सरोकार डटकमसँग गुनासो पोखे । ‘त्यसरी लोगो बनाउने बितिकै ® चिन्ह राख्न पाउने भए त हाम्रो के काम छ र ? यहाँ कतिपय कम्पनीहरुले ® चिन्ह नपाएर तनाव भोगिरहेका छन् । कति अदालतीय प्रक्रियामा गएका छन् ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै ती कर्मचारीले यसअघि पनि दुखेको पोखेका थिए ।

यसबारे प्रतिक्रिया लिन खोज्दा कम्पनीका सम्बन्धित व्यक्ति हामीसँग सम्पर्कमा आउनै चाहेनन् । आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडको लोगोमा गैरकानुनी चिन्ह राखेर ‘कर्पोरेट अपराध’ गरेको विज्ञापन डिजाइन र रिलिज गर्ने कम्पनीका मालिक फोन स्वीच अफ गरेर बसेका छन् । यता फोन अफ गरेर मिडियालाई झुक्याउने र अर्कोतर्फ भटाभट  गैरकानुनी लोगो प्रयोग भएका बोर्डहरु ठाउँ-ठाउँमा झुन्ड्याईएका छन् । सोहि कम्पनीकै मिलेमतोमा आइएमइ पे को काम गर्ने एजेन्सी पनि यस्तै गलत धन्दा गरिरहेको छ । यसो त कम्पनीका हाकिम नै बदमास भएपछी एजेन्सीको यो बाध्यता पनि हो ।

(हामी यस प्रकरणमा निरन्तर फलोअपमा छौं ।)      

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: