टेलिकमको ५५% नगद लाभांश पाउन यस्तो गर्नुपर्ने भयो, पुस ३० मा एजीएम हुँदै



काठमाडौं - नेपाल टेलिकमको लाभांश पाउन सेयर डिम्याट गर्नुपर्नेछ । कम्पनीले हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीलाई सेयर डिम्याट गर्न आग्रह गरेको छ । सेयर डिम्याट गरिसकेपछि मात्र कम्पनीले घोषणा गरेको ५५% नगद लाभांश खातामा जम्मा हुनेछ । लाभांश पाउन डिम्याट खातामा बैंक खाता पनि अद्यावधिक गराउनुपर्नेछ ।

यस्तै, विगतका वर्षहरुमा एनएमबि बैंकमा खाता खोली टेलिकमबाट वितरण गरिएको नगद लाभांश रकम उक्त खातामा जम्मा गरिदिनका लागि निवेदन दिएका सेयरधनीहरुको लाभांश सोही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । त्यसका लागि पनि सेयरधनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउनुपर्नेछ । टेलिकमले वर्षेनि लगानीकर्तालाई आकर्षक नगद लाभांश दिंदै आएको छ । गत वर्ष पनि टेलिकमले ५१% नगद लाभांश दिएको थियो ।

टेलिकमको पुस ३० गते हुने सभामा ५५% नगद लाभांश दिने प्रस्ताप पेश हुँदैछ । कम्पनीले साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन सहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गरिदैछ । त्यस्तै, चालु आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुत्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । हाल दूरसञ्चार कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ५ करोड ६५ लाख ३८ हजार ७४ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी आम्दानी १०८ रुपैयाँ १७ पैसा रहेको दूरसञ्चारको प्रतिसेयर नेटवर्थ ६४३ रुपैयाँ ८४ पैसा छ ।
प्रकाशित : Tuesday, January 09, 2018

recent

Popular Posts