×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि बिकास बैंक घोटाला प्रकरण : मामा-भान्जी होइन प्रेमी-प्रेमिका थिए दीपिका र रमेश, बैंकको लकरमा दुई केजी सुन !

काठमाडौँ । कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर नागार्जुन–१ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिइन् । प्रहरीले अनुसन्धान थाल्यो । 
खुल्यो, घटनाको मुख्य योजनाकार उनी नै रहिछिन् । प्रहरीका लागि हिनामिना भएको रकम पनि खोज्नुपर्ने चुनौती थियो । प्रहरी अनुसन्धानमा लाग्यो ।
‘नेक्सस’ पहिल्याउँदै जाने क्रममा करिब ३३ लाख रुपैयाँ सेनाका सहायक रथी डा रमेश विष्टको बैंक खातामा भेटियो । प्रहरी चकित खायो । अब प्रहरीको अनुसन्धान सहायक रथी डा विष्ट र रेग्मीको सम्बन्धमा केन्द्रित भयो ।

घरमा श्रीमान्–श्रीमती हुँदाहुँदै प्रेममा
अनुसन्धानबाट खुल्यो, रेग्मी सहायक रथी डा विष्टलाई ‘मामा’ साइनो लगाउँदी रहिछिन् । डा विष्ट पनि रेग्मीलाई भान्जी भन्दारहेछन् । तर, उनीहरूबीचको यो साइनो बाहिर देखाउनका लागि मात्रै रहेछ । खासमा उनीहरू प्रेमी–प्रेमिका रहेछन् । 
त्यसो हुँदा उनीहरूबीच अन्तरंग सम्बन्ध रहेछ । सोही सम्बन्धका आधारमा रेग्मीले बैंकबाट हिनामिना गरेकोमध्ये करिब ३३ लाख रुपैयाँ डा विष्टको बैंक खातामा हालिदिएकी रहिछिन् ।
प्रहरी उच्च स्रोत भन्छ, ‘डा विष्ट र रेग्मीबीच प्रेमी–प्रेमिकाको सम्बन्ध रहेको खुलेको छ । उनीहरूबीच सबै खालका सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको हो । यो उनीहरूको निजी मामिला हो । यसमा हाम्रो भन्नु केही छैन । 
हामीले त अपराधको पाटो मात्रै हेर्ने हो । यसमा जर सा’बको पनि संलग्नता रहेको देखिएको छ ।’ सेनाको हिरासतमा रहेका डा विष्ट र प्रहरीको हिरासतमा रहेकी रेग्मी दुवै विवाहित हुन् ।
सैनिक कानुनअनुसार प्रहरीले सेनासँग सम्बन्धित ज्यान मुद्दाबाहेकका घटना अनुसन्धान गर्न मिल्दैन । त्यसो हुँदा रकम हिनामिनामा मुछिएका सहायक रथी डा विष्टको घटना प्रहरीले सेनालाई अनुसन्धान गर्न भनी प्रमाणसहितका सबै फाइल पठायो । सेनाले उक्त घटना छनबिन थालेको छ । यसका लागि सेनाले सहायक रथी डा विष्टलाई हिरासतमा लिएको छ । छानबिनपछि दोषी देखिए सैनिक ऐनअनुसार कारबाही गरिने सेनाको भनाइ छ ।
सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारी सहायक रथी डा विष्टमाथि ‘इन्क्वारी’ सुरु भइसकेको बताउँछन् । भन्छन्, ‘कृषि विकास बैंकको रकम हिनामिनामा सहायक रथी डा विष्टको संलग्नता हुन सक्ने आधार फेला प-यो, प्रहरीको अनुसन्धानबाट पनि त्यस्तै देखियो । सोही आधारमा उहाँमाथि ‘इन्क्वारी’ थालिएको छ ।’
बैंकको लकरमा दुई केजी सुनका गहना
प्रहरीसँगको बयानमा रेग्मीले हिनामिना गरिएको रकमको स्रोत खोलेकी थिइनन् । प्रहरीले अनुसन्धान गरिरहेको थियो । यही क्रममा कृषि विकास बैंक न्युरोड शाखास्थित कार्यरत बैंकमा उनको निजी लकर रहेको खुल्यो ।
प्रहरीले लकर सम्बन्धमा रेग्मीलाई सोध्यो । तर, रेग्मी आफ्नो कुनै लकर नभएको भन्दै टकटकिइन् । प्रहरीले अनुसन्धान रोकेन । अझ कसिलो बनायो । यसका लागि बैंकको थप सहयोग लियो । अन्ततः रेग्मी लत्रिइन् । लुकाएर राखेको लकरको साँचो प्रहरीलाई दिइन् । प्रहरी कार्यालय पुग्यो । लकर पहिचान ग¥यो । साक्षी राखेर लकर खोल्यो ।
लकरमा गहनाका चाङ भेटिए । लकरभित्र तिलहरी, जन्तर, सिरबन्दी, चुरा, औंठी, झुम्का, सिक्री, ब्रासलेट, नेक्लेस, ढुङ्ग्रीलगायतका गहना थिए । यति धेरै गहना भेटिँदा प्रहरी चकित प-यो । गहना जोखियो । पत्ता लाग्यो, दुई केजी सुनका गहना राखिएका रहेछन् । अनुसन्धान अब थप रोमान्चक बन्ने देखियो । प्रहरी रेग्मीकहाँ पुग्यो । सोधपुछमा जुट्यो । खुल्यो, उनले बैंकबाट हिनामिना गरेको रकममध्ये करिब एक करोड रुपैयाँबाट गहना खरिद गरी लकरमा लुकाएर राखेकी रहिछिन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रमुख डिआइजी पुस्कर कार्कीले भने, ‘बैंकबाट हिनामिना गरिएको रकम खोज्दै गयौँ । यसैक्रममा बैंकमा उनको निजी लकर छ भन्ने खुल्यो । लकर खोल्यौँ । लकरभित्र सुनका अनगिन्ती गहना फेला परे । जोख्दा पत्ता लाग्यो, लकरभित्र दुई केजी सुनका गहना रहेछन् ।’

प्रकाश घतानीबाट किन्थिन् सुन
रेग्मीले हिनामिना गरेको रकम तेह्रथुम सिम्ले–५ का ४२ वर्षीय प्रकाश घतानीको बैंक खातामा पनि हाल्ने गरेको खुल्यो । प्रहरीले घतानी र रेग्मीको कनेक्सन खोज्यो । खुल्यो, रेग्मीले घतानीको सुन पसलबाट सुनका गहना खरिद गर्दिरहिछिन् । सोहीबापतको रकम भुक्तानी उनले बैंक खातामार्फत गर्दिरहिछिन् । तर, प्रहरीले त्यसरी खरिद गरेको सुनको सुइँको पाउन सकेको थिएन । जब उनको लकरमा सुनका गहना भेटिए । बल्ल घतानीको पसलमा खरिद भएका सुन पत्ता लाग्यो ।
प्रहरीले घतानीलाई रेग्मीसँगै पक्राउ गरिसकेको छ । सिआइबी प्रवक्ता एसपी श्रेष्ठले रेग्मी र घतानीबीच कारोबार रहेको खुलेपछि पक्राउ गरिएको बताए । उनले भने, ‘घतानीको न्युरोडमा सुन पसल छ । सोही पसलबाट रेग्मी सुनको गहना किन्थिन् । उनले गहना घर नलगी बैंकमा रहेको निजी लकरमा राख्थिन् ।’

छोरा र आमाको बैंक खातामा हिनामिनाको रकम
रेग्मीले बैंकको ४ करोड ९१ लाख रुपैयाँ हिनामिना गरेकी थिइन् । उक्त रकम खोज्नु प्रहरीसामु चुनौती थियो । पहिल्याउँदै जाने क्रममा हिनामिनाको रकम रेग्मीले आमाको बैंक खातामा पनि राखेको भेटियो । केही रकम भने उनले आफ्नो छोराको नाममा रहेको बैंक खातामा समेत राख्न भ्याएकी थिइन् ।
प्रहरीले उनको छोरा र आमालाई भने पक्राउ गरेको छैन । उनका आमा र छोरासँग परामर्श नै नगरी बैंक खातामा रकम राखेको पाइएपछि प्रहरीले पक्राउ नगरेको हो । सिआइबी प्रवक्ता एसपी श्रेष्ठले भने, ‘रेग्मीले हिनामिना गरेको रकम आफ्ना नाबालक छोरा र आमाको नाममा रहेको बैंक खातामा पनि राखेको भेटिएको छ । तर, हामीले उनीहरूलाई पक्राउ गरेका छैनौँ । अनुसन्धानबाट रेग्मीले आमा र छोरालाई जानकारी नै नदिई बैंक खातामा रकम राखेको भेटियो । त्यसो हुँदा उनीहरूलाई पक्राउ गर्नु आवश्यक देखिएन ।’
यसरी पक्राउ परिन् दीपिका
कृषि विकास बैंक न्युरोड शाखामा रकम जम्मा गरेपछि सेवाग्राही ढुक्क भएर घर फर्कन्थे । किनकि बैंकले रकम जम्मा गरेको रसिद पनि सँगै दिन्थ्यो । तर, जब खातामा रहेको रकम इन्क्वायरी गर्थे जम्मा गरेको रकम खातामा हुन्नथ्यो । रिपोर्ट गर्न तुरुन्तै बैंक कार्यालयमा पुग्थे । यसरी उजुरी गर्नेको संख्या बढ्दै गएपछि अनुसन्धानको विकल्प थिएन । बैंकले गोप्य रूपमा सिआइबीको सहयोगले अनुसन्धान थाल्यो । अनुसन्धानपछि खुल्यो, बदमासी बैंककै कर्मचारीबाट भइरहेको छ ।
सिआइबीले अनुसन्धान अझ कसिलो बनायो । बदमासी बैंकका सहायक टेलर दीपिका रेग्मी बस्ने कम्प्युटरबाट भइरहेको सुइँको चल्यो । अनुसन्धान बढ्दै गयो । शंकाको घेरामा रेग्मी परेपछि सिआइबीले पक्राउ ग-यो । त्यसपछि खुल्यो, रकम हिनामिनाको पहेली ।
यसरी हुन्थ्यो रकम हिनामिना
प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेक लिन्थे । उक्त चेक सम्बन्धित बैंक खातामा नै जम्मा गरिदिन्थे । प्रमाणका रूपमा रसिद पनि दिन्थे । जब उनीहरू रसिद लिएर जान्थे, त्यसपछि जम्मा गरिएको रकम उक्त खाताबाट इडिट गर्थे । अनि उक्त रकम आफ्नो र आफूले चाहेको व्यक्तिको बैंक खातामा हालिदिन्थे । यो सबै काम दीपिका रेग्मीले गर्थिन् ।
घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दीपिका र घतानीसहित काठमाडौं–३२ का ४७ वर्षीय प्रेमहरि ढुंगेल, टोखा–८ का ५६ वर्षीय गोपाल गिरी र चन्द्रागिरि–५ का ३९ वर्षीय महेश्वर मरहट्टालाई समेत पक्राउ गरेको छ । यसअघि प्रहरीले काठमाडौं–३२ का ४२ वर्षीय रमेशकुमार थापालाई पनि पक्राउ गरेको थियो ।
पक्राउ परेका रेग्मीसहितका तीनैजनामाथि बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा चलाइएको छ । सिआइबीका प्रवक्ता एसपी श्रेष्ठले भने, ‘कृषि विकास बैंक न्युरोड शाखामा रकम अपचलन भएको खुलेपछि अनुसन्धान सुरु भयो । यसक्रममा दीपिका रेग्मी पक्राउ परिन् । अनुसन्धान हुँदा रेग्मी नै यसको मुख्य योजनाकार रहेको खुल्यो । उनकै बयानका आधारमा अन्य पनि दोषी देखियो । र, पक्राउ परे ।’ रेग्मी बैंकमा सहायक ट्रेलरका रूपमा कार्यरत थिइन् ।  (नयाँ पत्रिका दैनिक)
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: