मेरो कथा : साग व्यापारीदेखि उपसचिवसम्म


ओखलढुंगा गाम्नाङटारका तीर्थराज भट्टराईको घरअगाडि प्रधानाध्यापकको घर थियो । उनको घरमा जिल्लाबाट माथिल्लो ओहोदाका मान्छेहरू आइरहन्थे । एकपटक घोडाको लगाम समाउँदै एकजना मान्छे आए र तिनै प्रधानाध्यापकको घरअगाडि रोकिए । घोडावाल थिए– जिल्ला शिक्षा अधिकारी । अर्को दिन त्यो घोडा देखेपछि उनकी आमाले तीर्थराजतर्फ फर्कंदै भनिन्, ‘मेरो छोरा यस्तै घोडा चढ्ने होला कि नहोला ?’ जतिवेला तीर्थराज दुई कक्षामा अध्ययन गर्थे ।

आमाले भनेजस्तै अहिले तीर्थराज घोडा नभएर गाडी नै चढ्ने भइसकेका छन् । सडकबाटै संघर्ष गरेर उनी यो अवस्थासम्म आइपुगेका हुन् । उनको जीवनको सफलतासँग कतै न कतै उनको आमाको वाणीले पनि हक राखेको छ ।

तीर्थराज निम्नवर्गीय परिवारमा हुर्किए । आफ्नो जमिनमा उब्जिएको अन्नले वर्षदिन धान्न धौ–धौ पथ्र्यो, उनको परिवारलाई । स्कुल जानुपूर्व र स्कुलबाट फर्किएपछि उनको नियमित ड्युटी थियो, एक भारी घाँस–दाउरा ल्याउने ।

उनी सधैँ चप्पल पड्काउँदै विद्यालय पुग्थे । एसएलसी सकाएर उनी ०५० मा काठमाडौं उक्लिए । उतिवेला दुई दिन पैदल र एक दिन गाडीमा चढेर काठमाडौं आएका थिए, तीर्थराज । काठमाडौंमा उनका काका बस्थे, जो रेडियो नेपालमा जागिर गर्थे । उनैसँग बस्न थाले तीर्थराज । तर, खाने बाटो गर्नुपर्ने भयो ।

उनका काकाले चप्पल फ्याक्ट्रीमा काममा लगाइदिए । त्यसपछि १६ वर्षीय कलिलो उमेरका तीर्थराजले चप्पल फ्याक्ट्रीमा हातपाखुरा बजार्न थाले । धुम्बाराहीमा रहेको चप्पल फ्याक्ट्रीमा उनले नगर्ने कुनै काम थिएन, बोरा बोक्नेदेखि चप्पल बनाउनेसम्मको काम गर्थे उनी । तर, दुई महिनापछि उनी झाडापखालाले थलिए । त्यसपछि कामै छोडिदिए । भन्छन्, ‘त्यतिवेला मासिक ६–७ सय रुपैयाँ कमाइ हुन्थ्यो ।’

उनलाई केही न केही गर्नु थियो । क्याम्पसमा भर्ना हुने र उच्च शिक्षा हासिल गर्ने चाहना त छँदै थियो । त्यसैले कसरी हुन्छ पैसा जम्मा गर्ने जुक्तिमा थिए उनी । त्यतिवेलै उनको मस्तिष्कमा क्लिक भयो, ‘साग व्यापार ।’

०५० तिरै उनले लगनखेलको सडकमा साग व्यापार गर्न थाले । भन्छन्, ‘गाउँबाट ल्याएको भारीका भारी साग खरिद गथ्र्यौँ र बेच्थ्यौँ । एक मुठा सागमा ५० पैसा नाफा हुन्थ्यो ।’ दिनमा औसत ५० रुपैयाँ आम्दानी गर्थे उनी । कहिलेकाहीँ सडकमा बसेर दुई–तीन भारी साग पनि बेचिरहेका हुन्थे । बिक्री भएको सागको मुठामुठामा अध्ययन गर्ने सपनाको गन्ध थियो, सायद । दुई महिनासम्म सडकमा साग बेचेर बचत गरेको रकम बोकेर उनी पाटन क्याम्पस पुगे । र, नेपाली र जियोग्राफी विषय पढ्न थाले ।

पाटन क्याम्पसमा भर्ना भएसँगै उनका लागि रोजगारीको नयाँ बाटो खुल्यो । काकाकै माध्यमबाट एक विज्ञापन एजेन्सीमा काम गर्न थाले । त्यतिवेला उनी साथीहरूसँग असनलगायतको क्षेत्रमा पत्रिका बिक्री गर्न पनि हिँडेका थिए ।

विज्ञापन एजेन्सीमा काम गर्दै जाँदा तीर्थराजलाई राम्रो हुन थाल्यो । त्यतिवेला देशमा त्यति धेरै पत्रिका, रेडियो, टेलिभिजनहरू थिएनन् । र, पनि उक्त विज्ञापन एजेन्सीले राम्रो आर्थिक ट्रान्जेक्सन गर्न थाल्यो । जसको कारण उनी नौ वर्षसम्म त्यही विज्ञापन एजेन्सीमा काम गरे । भन्छन्, ‘पछि त म त्यो एजेन्सीको म्यानेजर नै भएँ । कम्पनी वार्षिक पाँच करोडभन्दा बढीको आर्थिक ट्रान्जेक्सन गर्ने भइसकेको थियो ।’ त्यही एजेन्सीमै काम गरेर उनले भूगोलतर्फबाट मास्टर्स पनि सकाए । उनले ७० प्रतिशतभन्दा बढी अंक ल्याएर मास्टर्स सकाएका थिए ।
०००
०५८ सालमा बिहे गरेर ससुराली गएका तीर्थराजले त्यहाँ फरक अनुभूति गरे । उनको ससुराली गाउँ लमजुङमा सरकारी जागिरे नभएको घर भेट्टाउन गाह्रो थियो । त्यसले उनलाई पनि सरकारी जागिरप्रतिको मोह जगाइदियो । त्यसपछि आफू पनि अफिसर बन्ने अठोट लिए, तीर्थराजले । उनले जागिर नै छाडेर पढ्न थाले । सर्ट लिस्टमा नाम पनि निस्कियो । त्यसपछि पढाइमा नै जोड दिन थाले । भन्छन्, ‘राति जतिवेला निद्राले छाड्यो त्यतिवेला नै अध्ययन गर्ने गर्थेँ ।’
०००
एक दिनको कुरा हो, तीर्थराजको एकजना साथी बिहान ४ बजे नै ढोका ढकढक्याउन आइपुगे । तीर्थले ढोका ढकढक्याएको नसुनेपछि ती साथी वल्लो घरबाट झ्याल ढकढक्याउन पुगेका थिए । त्यतिवेला तीर्थले लोकसेवाको रिजल्ट आएको सपना देखिरहेका थिए ।

जब तीर्थराजले ती साथीलाई भेटे त्यसपछि उनीमा खुसीको सीमा नै रहेन । ती साथीले गोरखापत्र बोकेर आएका थिए । अधिकृतको रिजल्ट थियो गोरखापत्रमा । जहाँ तीर्थराजको नाम पनि अटाएको थियो । उनले अन्तर्वार्तामा पनि नाम निकाले अनि गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय बर्दियामा पोस्टिङ भए ।

त्यतिवेला देशमा संकटकाल थियो र देशको सम्पूर्ण शासनसत्ता तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो हातमा लिएका थिए । तत्कालीन विद्रोही माओवादी र सरकारबीचको द्वन्द्व चरम उत्कर्षमा थियो । त्यसै जिल्लाका सिडिओलाई माओवादीले हत्या पनि गरेका थिए । त्यहीँ रहेर उनले चार वर्ष काम गरे । उनलाई माओवादीबाट ठूलाठूला धम्की पनि नआएका होइनन् । तर, कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरे तीर्थराजले ।

त्यसपछि उनले क्षेत्रीय प्रशासन कार्यालय हेटौँडा, केन्द्रीय कारागार काठमाडौं प्रमुख, जिल्ला विकास समिति काठमाडौंमा स्थानीय विकास अधिकारीको रूपमा जिम्मेवारी निर्वाह गरे । अहिले उनी स्थानीय विकास मन्त्रालयमा उपसचिवको रूपमा कार्यरत छन् । उनले कलंकीमा आफ्नो निवास पनि बनाइसकेका छन् । तर, उनीमा पढाइको भोक अझै मरेको छैन । ४० वर्षीय तीर्थराज एमफिल गर्दै छन् भने सहसचिवको तयारीमा पनि जुटेका छन् । -गज्जब साप्ताहिकबाट 
प्रकाशित : Sunday, January 14, 2018

recent

Popular Posts