×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रहरीकै मिलेमतोमा टिपर व्यवसायीद्वारा मापदण्डविपरीत ढालाको प्रयोग ! यातायात व्यवस्था विभाग रमिते ! (फलोअप-१)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय टिपरले गर्दा विभिन्न खाले दुर्घटना भएका खबरहरु सार्वजनिक भइरहेका छन् । टिपर व्यवसायीले मापदण्ड मिचेर ढालाको प्रयोग गर्दा एकातर्फ दुर्घटना बढेको छ भने अर्कोतर्फ नेपालको बाटोघाटो पनि बिग्रिएको छ । तर पटक पटक नियमअनुसार ढाला प्रयोग गर्न निर्देशन दिंदा पनि व्यवसायीहरुले उक्त निर्देशनको अटेर गर्दा एकातर्फ यातायात व्यवस्था विभागको काम गराइमाथि औंला ठडीएको छ भने विभागको निर्देशन नै नटेर्ने प्रहरीको समेत यसमा मिलेमतो रहेको खुलासा हुँदै गएको छ । 
हुनुपर्थ्यो यस्तो, भयो अर्कै !
यातायात व्यवस्था विभागले मालवाहक सवारीको भार नियमनसम्बन्धी कार्यविधि २०७१ अनुरुप सो विधिको दफा १४ को ‘४’ मा भएको व्यवस्थाअनुरुप यस्ता सवारीको क्षमता तोकेको छ । सो व्यवस्थाअनुरुप छ चक्के टिपरको लागि ढालाको आयतन ७ दशमलव ५ घनमिटर तोकिएको छ । यस्तै १० चक्के टिपरको ढालाको आयतन १२ घनमिटर हुनुपर्ने व्यवस्था गरेको छ । तर थुप्रै स्थानमा व्यवसायीको दादागिरीका कारण नियम मिचेर सवारी चलाउने काम भइरहेको छ । विशेषगरी बुटवल, इटहरी र दाङ र केही अन्य ठाउँमा भने सो मापदण्डविपरीत ढाला प्रयोग हुँदै आएको बुझिएको छ । उदाहरणका लागि सो क्षेत्रमा मान कम्पनी भन्नेको टिप्परले सरकारी मापदण्डलाई बेवास्ता गर्दै १० चक्के टिप्परमा १६ घनमिटर र छ चक्केमा नौ घनमिटरको ढाला प्रयोग गर्दै आएको छ । तर उक्त कम्पनीलाई न कसैले कार्वाही गर्ने आँट गरेको छ, न त नियामकले उसलाई छुन नै सकेको छ । उक्त कम्पनी त प्रतिनिधि पात्र मात्र हो, यसरी नियम मिचेर काम गर्ने अन्य कम्पनीलाई पनि कसैले कार्वाहीको दायरामा ल्याउन सकेको छैन । 

नाममात्रको निर्देशन, कार्वाही सुन्य !
राजधानीलगायत विभिन्न जिल्लामा सवारीसाधनमा सरकारी मापदण्डविपरीतको ढालाको आयतन जडान गरी ढुवानी कार्य हुँदै आएको भएपनि नियमनकारी निकाय यातायात व्यवस्था विभागले कार्वाही गर्न सकेको छैन । यसो त मापदण्डविपरीत ढाला प्रयोग गर्ने यातायात व्यवसायीहरुलाई कारबाही र यातायात व्यवस्था विभागले अनुमन गरी एकै परिमाणको ढाला प्रयोगमा ल्याउन दिएको निर्देशन समेत दिएको थियो । तर व्यवसायीहरुले दादागिरी शैलीमा यसलाई लत्याएका छन् । तर यसरी निर्देशन लत्याउँदा पनि कसैले पनि व्यवसायीहरुलाई कुनै कार्वाही गर्न सकेका छैनन् । जसका कारण यातायात व्यवस्था विभागमाथि पनि औंला ठडिएको छ । विभागले २०७४ कात्तिक १० गते सबै ढुवानी टिप्परहरुको ढालाको आयतन कायम गरी सोहीअनुसार कार्यान्वयन गर्नु-गराउनु भन्दै गरेको परिपत्र गरेको छ । तर सो परिपत्रलाई प्रहरीले समेत टरेको छैन । यसले गर्दा सवारीको बढी भारले सडकमा असर त परिरहेको छ नै, अर्कोतिर तोकिएको मापदण्डअनुरुप काम गर्ने कम्पनीहरुसमेत मारमा परेका छन् । 
यातायात व्यवस्था विभागको निर्देशन टेर्दैन प्रहरी, मिलेमतोमै यस्तो धन्दा !
अझ अचम्मको कुरा त के छ भने यातायात व्यवस्था विभागले निर्देशन बमोजिम गर्नू र मापदण्ड मिच्नेलाई कार्वाही गर्नु भनी पत्र लेखेर पठाए पनि प्रहरीले भने यसखाले घटनालाई सकेसम्म लुकाउन खोजेको पाइएको छ । मालवाहक सवारीसाधनमा आफूखुसी सवारीको ढाला प्रयोगमा ल्याएपछि अन्य केहि व्यवसायीहरुले यसको विरोधसमेत गरेका छन् । ‘यातायात व्यवस्था विभागले दिएको निर्देशन प्रहरीले टेर्दैन । अनि गलत गर्नेहरु खुलेआम गलत गरिरहेका छन् । कसैलाई ऐन, कसैलाई चैन भएको छ ।’ एक टिपर व्यवसायीले अर्थ सरोकारसँग भने, ‘यो त सरासर अन्याय हो । यसले एकातर्फ नेपाली बाटोघाटो बिगारेको छ भने अर्कोतर्फ नियामकको निर्देशन प्रहरीले किन मान्दैनन भन्ने प्रश्न उठेको छ ।’ उनका अनुसार प्रहरीले समेत यसमा मिलेमतो गरेको छ । ‘नियामकको निर्देशन नमान्ने अनि आफुखुसी गर्ने ? यो मिलेमतोमा धन्दा हुँदा बाहेक अरु कुन बेला हुन्छ र ?’ उनले अर्थ सरोकारसँग भने । 
व्यवसायीको मनपरीका कारण सडकको बिजोग, कसैलाई ऐन, कसैलाई चैन !
सरकारले तोकेको मापदण्ड पूरा नगरी आफूखुसी ढाला थपघट गरिएका मालवाहक सवारीका कारण ठुला समस्याहरु निम्तन थालेका छन् । एकातर्फ सडकको बिजोग भएको छ भने अर्कोतर्फ नियमअनुसार काम गर्ने कम्पनीसमेत मारमा परेका छन् । त्यतिमात्र होइन यसले राज्यको संयन्त्रलाई समेत गिज्याईरहेको छ । कोहि नियम अनुसार काम गर्ने अनि नियम मिच्ने कम्पनीहरुले नियम पालना गर्नेसँग प्रतिष्पर्धा गर्नु पर्दा यसले भविष्यमा झन् ठुलो समस्या ल्याउन सक्ने देखिएको छ । नियम विपरित ढाला प्रयोग गरिएका सवारीका कारण बनेको केहि समयभित्रै बाटो बिग्रने समस्या पनि देखिएको छ ।

के भन्छ यातायात व्यवस्था विभाग ?
हामीले यसबारेमा बुझ्न यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई फोन गरेका थियौं । उनले यस विषयमा प्रहरी प्रधान कार्यालयलाईनै पत्र लेखी अनुगमनलाई कडाइ गर्न आग्रह गरेको तर अझै पनि केहि गुनासोहरु आएको स्वीकारे । ‘हामीले प्रहरी प्रधान कार्यालयलाई नै यस विषयमा कडा निर्देशन दिएका थियौं । तर फेरि पनि यस्ता गुनासाहरु आइरहेका छन् ।’ भट्टराइले अर्थ सरोकारसँग भने, ‘कानुन सबैले मान्नुपर्छ । यो कुरामा विभाग स्पष्ट छ । हामी थप अनुसन्धान गरेर गलत गर्नेलाई कार्वाहीको दायरामा ल्याउँछौं । 
उनका अनुसार नियम मिचेर ढाला प्रयोग गर्नेलाई विभागले कार्वाहीको दायरामा ल्याउने तयारीसमेत गरेको छ । ‘सामानहरु लोड गर्दा अग्लो ढाला राख्ने र उपभोक्तालाई बेच्दा घटाएर बेच्ने प्रवृत्तिबारे पटक पटक गुनासो आएको कुरा साँचो हो । गिट्टी, बालुवा, ढुँगा लिन जाने क्रममा त्यस्ता टिप्परहरुले ढालालाई वास्तविक उचाइभन्दा अग्लो बनाएर सामान धेरै लोड गर्ने तर, उपभोक्तालाई त्यो सामान बेच्दा ढाला घटाएर बेच्ने गरेको भन्दै विभागमा कार्वाहीका लागि उजुरी पनि परेका छन् । यस विषयमा हामी झन् कडा भएर अगाडी बढ्छौं ।’ उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: