×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हस्पिटल होइन, ‘रिफर सेन्टर’ बन्दैछ भरतपुर अस्पताल, डाक्टरहरु कमाउ धन्दामा, बिरामीको लाखौँ स्वाहा !

  • प्रनिश थापा / अर्थ सरोकार डटकम 
धनुषाका सञ्जीब धानुक आमा बिलाटुना देबीको पाठेघरको क्यान्सरको उपचार गर्न दक्षिण एसियामै सुविधा सम्पन्न भनेर कहलिएको चितवन को भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पताल आए । तर, डाक्टरहरुले कहिले भरतपुरकै निजी अस्पताल त कहिले भक्तपुर क्यान्सर अस्पतालमा बिभिन्न परीक्षणको लागि पठाए । त्यसैगरी सुदूरपश्चिमको बैतडीका बीरबहादुर बोहरा पनि सुविधा सम्पन्न अस्पताल खोज्दै बीपी कोइराला क्यान्सर अस्पताल चितवनमा आए तर, अस्पतालले भक्तपुरमा रिफर गरिदियो । यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् । दक्षिण एसियाकै सुविधा सम्पन्न भनेर चिनिएको चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालको परिचय आजभोलि ‘रिफर गर्ने अस्पताल’को रुपमा बदलिएको बिरामी र उनीहरुका आफन्त हरु बताउँछन् । अस्पतालका प्रशासकीय अधिकृत जिएन महतोले अस्पतालबाट कति बिरामी रिफर भए भन्ने तथ्यांक अस्पतालसँग नभएको दाबी गरे । तर , स्रोतले दिएको जानकारी अनुसार दैनिक १० भन्दा बढी बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरिन्छ ।
किन हुन्छ यस्तो ?
अस्पतालले सिटी स्क्यान, एमआरआईका लागि भरतपुरका केहि निजी अस्पताल र रेडियसनको लागि भक्तपुर क्यान्सर अस्पतालमा पठाउने गरेको धनुषाबाट आमाको उपचार गर्न आएका सञ्जीव धानुकले बताए । उनले भने, ‘कहिले कता जान भन्छ, कहिले कता जान भन्छ हैरान भइयो । पैसा पनि सकियो ।’ जानकारहरुका अनुसार चितवनको भरतपुर क्यान्सर अस्पतालको सेवा प्रवाह कमजोर हुँदै गएपछि बिरामीहरु धमाधम बाहिर रिफर गर्न थालिएको हो । अधिकांश उपचार उपकरण बिग्रिएर काम नलाग्ने भएपछि बिरामीहरु केही भरतपुरका निजी अस्पतालमा र केही भक्तपुर क्यान्सर अस्पतालमा रिफर हुन थालेका हुन् । देशकै केन्द्रीय क्यान्सर अस्पताल अहिले ‘रिफर सेन्टर’ जस्तै बन्दै गएको छ र सस्तोमा उपचार पाउने बिरामीहरु अन्यत्र रिफर गरिदिँदा महंगोमा उपचार गराउन बाध्य छन् । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक डा. प्रकाशराज न्यौपाने १९४ बेड क्षमताको देशकै केन्द्रीय भरतपुर क्यान्सर अस्पतालको अध्यक्ष छन् । उनै न्यौपाने भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक पनि हुन् । उनको कार्यक्षमता प्रभावकारी नहुँदा भरतपुर क्यान्सर अस्पतालको स्तर खस्किँदै गएको कर्मचारीहरु बताउँछन् ।
०७२ चैतदेखि सञ्चालक समितिको बैठक समेत नबसालेको आरोप उनीमाथि लाग्दै आएको छ । पछिल्लो समयमा बिरामी मात्र नभई अस्पतालमा राम्रो काम गर्ने कतिपय प्राविधिकहरु लाई समेत डा. न्यौपानेले बिभिन्न प्रलोभनमा भक्तपुर क्यान्सर अस्पतालमा पुर्याएको आरोप समेत लागेको छ । नाक, कान, घाँटी विभागमा काम गर्ने डा. दिलिप कर्माचार्य भक्तपुर पुगेर फर्किएका छन् भने प्याथोलोजी विभागमा काम गर्ने डा. रेजिना कर्माचार्य अहिले पनि भक्तपुर क्यान्सर अस्पतालमा काम गरिरहेकी छन् । उता तत्कालिन अंकोलोजी विभागका प्रमुख डा. अन्जनीकुमार झा विगत २ बर्षदेखि काजमा बसेर हाजिर समेत नगरी तलब खाइरहेका छन् । उनले काठमाडौंमा काठमाडौं क्यान्सर सेन्टर खोलेका छन् । डा. झाले पनि भरतपुर क्यान्सर अस्पतालबाट प्राविधिक कर्मचारीहरुलाई बिभिन्न प्रलोभनमा तान्ने काम गर्दै आएको अस्पतालका कर्मचारीहरुको आरोप छ । अस्पतालको रेडियोथेरापी विभागमा कार्यरत डा. सुवास पण्डित अहिले केसीसीमा काम गरिरहेका छन् । आन्तरिक राजनीतिमा फसेको अस्पतालमा डा. प्रकाशराज न्यौपाने अध्यक्ष बनेर आएपछि थप धरासायी बन्दै गएको क्यान्सर अस्पताल बचाउ अभियानका संयोजक बाबुराम अधिकारीले आरोप लगाए । ‘पछिलो केहि महिनायता अस्पतालको मुख्य डिपार्ट रेडियोडायग्नोसिस तथा ईमेजिङ बिभागका महत्वपूर्ण र अधिकांस उपकरण सञ्चालन हुन छाडेपछि अस्पताल रिफरल सेन्टरको रुपमा बिकास भएको छ,’ अधिकारीले भने, ‘अस्पतालको स्तर पहिलेको भन्दा झन् खस्किएको छ ।’

सुधार्न एक महिने अल्टिमेटम
डा. न्यौपाने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा भरतपुर क्यान्सर अस्पतालको निर्देशक बनेका थिए । संयोगले अहिले पनि कांग्रेसकै कोटामा स्वास्थ्य मन्त्रालय छ । तर, स्वास्थ्यमन्त्री गगन थापाले अस्पताल सुधार्न एक महिने अल्टिमेटम डा. न्यौपानेलाई दिएको स्रोतले बतायो । यही पुस १५ गते मन्त्रालयले एक महिने अल्टिमेटम सहितको पत्र दिएपछि डा. न्यौपानेले पुस १९ गते भरतपुर क्यान्सर अस्पतालमा पत्रकार सम्मेलन गरी मन्त्रीकै निर्देशन अनुसार सञ्चालक समितीको बैठक नबसालेको र आफूले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेको प्रष्टिकरण दिएका थिए । ‘नियमले होइन मन्त्रीको सल्लाहमा भक्तपुरको जागिर छोडेको’ डा. न्यौपानेले पत्रकार सम्मेलनमा भनेका थिए । तर, भक्तपुर क्यान्सर अस्पतालका एक पदाधिकारीले डा. न्यौपानेले अहिलेसम्म अस्पतालको कार्यकारी निर्देशक पदबाट राजीनामा नदिएको दाबी गरे । उनले डा. न्यौपानेले दिएको भनिएको राजीनाबारे अनभिज्ञता प्रकट गरे । अस्पतालको आधिकारीक वेबसाइटमा समेत डा. न्यौपाने अहिले पनि अस्पतालको कार्यकारी निर्देशक नै रहेको देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: