×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुलमानको ‘दुरुपयोग’ गरेर स्वार्थको व्यापार ! यी ८ कारण ‘सुपर फ्लप’ भयो नेपाल सीइओ समिट २०१८ !

  • सुरज प्याकुरेल / समाचार टिप्पणी 
काठमाडौँ- कार्यक्रमको कन्सेप्ट हेरेर वा सुनेर धेरैले नेपालमा पहिलो पटक आयोजना हुन लागेको सीइओ समिट भव्य र सभ्य हुन्छ भन्ने सोचेका थिए । त्यहि सोचेर प्रायोजकहरुले पनि राम्रो पैसा खन्याए । अर्थ सरोकार डटकमले पनि त्यहि सोचेर मिडिया सपोर्टरको भूमिका खल्ने आयोजकको प्रस्ताव स्वीकार गर्यो । तर बुधबार काठमाडौँको सोल्टी होटलमा आयोजना भएको कार्यक्रम हेरेपछि प्रायोजकहरु निराश बने, सहभागीहरु आफ्नो पैसा सत्यानास भएको भन्दै टाउकोमा हात राख्दै थिए । कारण कार्यक्रम यतिसम्म ‘झुर थियो कि मानौं कार्यक्रम सीइओ समिट नभएर अरु केहि सामान्य एनजीओले आयोजना गरेको कार्यक्रम थियो । कारणहरु धेरै छन् । केहि बुँदागत रुपमा निम्नानुसार छ ।
१. कार्यक्रममा आयोजकले दावी गरेजस्तो सीइओको उपस्थिति नै थिएन । यतिसम्म कि अधिकांस बैंकका सीइओ कार्यक्रममा आएनन् । धेरैजसो कर्पोरेट क्षेत्रका ठुला मान्छे कार्यक्रममा आएनन् । कार्यक्रमको पहिलो सेसनमा प्रायोजक, बिजनेश प्लस टेलिभिजनका कर्मचारी, र केहि आमन्त्रितहरु, र कार्यक्रम साच्चै राम्रो हुन्छ भन्ने भ्रममा आएका व्यक्तिहरु मात्र थिए । कार्यक्रमको अन्तिम ‘रो’ मा त टेलिभिजनका कर्मचारीहरुमात्र थिए । यसको कारण आयोजकको कमजोर व्यवस्थापन थियो । कार्यक्रमको फलोअप नै भएको थिएन । प्रचार शैली निकै ‘दरिद्र’ पाराको थियो । आमन्त्रितहरुलाई सामान्य मेलको निम्तो मात्र थियो । उपस्थितिका हिसावले कार्यक्रम ‘सुपर-फ्लप’ भयो ।
२. कार्यक्रम आयोजकले प्रायोजकबाट लाखौँ रुपैयाँ उठाएको थियो । तर दिनभरको कार्यक्रममा केहि पटक प्रायोजकको नाम लिने बाहेक केहि पनि काम भएन । प्रायोजकका ब्यानरहरु राख्ने कुरामा आयोजक चुक्यो । छोटोमा भन्दा १ लाख रुपैयाँ तिरेर प्रायोजन गरेका प्रायोजकहरुले १० हजारको समेत ‘माइलेज’ पाएनन् । कार्यक्रम अवधिभर नै यो चर्चा चल्यो । केहि प्रायोजकहरुले त पैसा दिन बाँकी छ, दिन्नौं समेत भने । केहि प्रायोजकले पैसा दिइसकेकोमा दुखेसो पोखे । प्रायोजकको नाम र लोगो सबै प्रचार सामाग्रीमा थिएन । समग्रमा प्रायोजकका दृष्टिकोणले पनि कार्यक्रम सुपर फ्लप भयो ।
३. कार्यक्रमको आयोजना सेडुल झुर थियो । कसलाई कसरी प्रस्तुत गर्ने भन्ने डिजाइन एकदम कमजोर थियो । कसैलाई कसैको मतलव नभएझैं देखिन्थ्यो । राम्रा मान्छेले उक्त कार्यक्रममा सहभागीता नै जनाएनन् । जनाउन् पनि कसरी कार्यक्रममा प्राय सीइओहरुलाई निम्तो नै थिएन । ‘मेरो विवाह छ, भ्याउनु भयो भने आउनुहोस्’ है शैलीमा गरिएको निम्तो मान्न को जान्थ्यो र ? उक्त कार्यक्रम त्यस्तै भयो । अधिकांस बैंकका सीइओसँग पछी टेलिफोनमा अर्थ सरोकारले प्रतिक्रिया लिंदा कार्यक्रमको निम्तो नै नआएको गुनासो पोखे । कार्यक्रम संयोजक भावुक आचार्यले पनि केहि खास व्यक्ति बाहेक कसैलाई निम्तो नदिएको अर्थ सरोकारसँग स्वीकार गरे ।    
४. अवार्ड विवादित बन्यो । जुरीहरुको बेइज्जतमात्र भएन, अन्तराष्ट्रिय बेइज्जत भयो । यसअघि नै कुलमान घिसिङलाई महत्पूर्ण अवार्ड दिने भन्ने जानकारी बाहिरिसकेको थियो । केहि मिडियाहरुले त नोमिनेसन फाइनल हुनु अघि नै कुलमानलाई देखाएर व्यापार गर्ने आयोजकको स्वार्थ भएको भन्दै समाचार समेत सम्प्रेषण गरेका थिए । अन्त्यमा त्यस्तै भयो । कुलमानलाई देखाउने र प्रायोजकको पैसा पचाउनेबाहेक केहि भएन ।
५. अवार्डको आर्को विवादित पक्ष के हो भने कुलमान बाहेक अरुलाई किन के कारणले, को-कोसँग प्रतिष्पर्धा गरेर अवार्ड दिइयो भन्ने पनि खुलाइएन । नोमिनेसन विनाको अवार्डको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक पनि हो । अर्कोतर्फ अवार्ड घोषणा निकै झुर पाराले गरियो । अवार्ड पाउनेको नाममात्र घोषणा गरियो । उसले के गरेको छ, कुन संस्थाको प्रतिनिधित्व गरेको छ भन्नेसमेत देखाइएन । जनताको करोडौं रुपैयाँ ‘क्यास अन एड’ बाट ठगेको विवादित कम्पनी एफवान सफ्टका सीइओ अस्गर अलीलाई अवार्ड दिइयो । उनलाई अवार्ड दिने आयोजकको तयारी रहेकोबारे यसअघि नै एउटा मिडियाले समाचार लेखिसकेको थियो । यसले अवार्ड जुरीको निर्णय भन्दापनि जुरीलाई देखाएर आयोजकको व्यापार रहेको स्पष्ट देखिन्थ्यो ।

७. पहिला नोमिनेसनमा गोल्छालाई राखिएको थियो । अर्थ सरोकारले आफ्नो समर्थन फिर्ता गर्ने बताएपछी गोल्छालाई हटाइयो । विनोध चौधरीको ठाउँमा निर्भाना चौधरीलाई राखियो । बाबुपछी छोरा राजा हुने शैलीमा गरिएको यस्तो कार्यक्रम विवादित नहुने कुरै भएन । यहि भएर होला सायद धेरै जुरी समितिले कार्यक्रम बहिष्कारसमेत गरे । राजेश हमाल सहित धेरै जुरी सदस्य कार्यक्रममा देखिएनन् ।      

८. अर्को अचम्म त के थियो भने कार्यक्रम होस्ट राम्रो बोली र चलनका अनुहार तर बिजनेश र कर्पोरेट क्षेत्र नजानेका व्यक्ति छानिए । यतिसम्मकी होष्टले नेपाल लाइफ इन्सुरेन्सको नाम लिंदा नेपाल लाइफ इन्सुरेन्स प्राइभेट लिमिटेड भनिदिए । त्यत्रो कार्यक्रममा यो भन्दा ठुलो प्रायोजकको बेइज्जत के हुन सक्छ र ? कार्यक्रममा प्रायोजकलाई कुनै स्थान नै दिइएन । सपोर्टरहरु डमीको रुपमा मात्र प्रस्तुत भए । होष्टले पटक पटक अरुको ब्राण्डको दुरुपयोग गरे । नेपालमा बिजनेश टेलिभिजन नामको अर्को टेलिभिजन छ । तर होष्टले पटक पटक बिजनेश प्लस टेलिभिजनलाई बिजनेश टेलिभिजनभन्दै अरुको ब्राण्डको दुरुपयोग गरे ।
८. कार्यक्रमको विहानदेखि बेलुकासम्मको व्यवस्था निकै कमजोर थियो । प्रमाणपत्र वितरण केटाकेटीलाई चकलेट बाँडेको शैलीमा गरियो । १२००० तिरेर कार्यक्रममा सहभागी भएका सहभागीहरुले एक कप कफी समेत भने भनेजसरी पिउन पाएनन् । कार्यक्रम के हुँदैछ र कस्तो हुँदैछ भन्ने कुरामा नै कन्फ्युजन हुँदा पनि सहभागीलाई कसैले पनि मतलव गरेनन् । समग्रमा आयोजकले अर्को पटकका लागि ठाउँ नै नराखी कार्यक्रमलाई झुर बनायो । प्रायोजकले आयोजकलाई ठाडो गुनासो पनि गरे । तर आयोजकले माफी माग्नुको सट्टा फेरि गफ नै लाद्ने प्रयास गरे । कार्यक्रम बढी राजनीतिक भयो । ८ बजे कार्यक्रम सकिने भनिएको भएपनि ८:३० सम्म नेताहरुको फुस्रा भासणमात्र सुन्न सहभागीहरु बाध्य भए ।  
(हामी कार्यक्रममा मिडिया सपोर्टर हुनुको अर्थ फरक थियो । तर विवादित अवार्ड र झुर कार्यक्रम देख्दा हामी पनि खिन्न छौं । सम्पूर्ण पाठकहरुलाई क्षमा माग्दै यस्ता स्वार्थपूर्ण कार्यक्रममा अव आइन्दा सहभागी नहुने प्रयास गर्ने प्रतिबद्धता जनाउंदछौं ।)   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: