×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बुबा खोइ भन्दा भक्कानो छुट्छ

कोहलपुर- टोलछिमेकमा कसैलाई बिझाएका थिएनन् उनले। सामान्य विवादसम्म थिएन। बूढीआमाको आज्ञाकारी छोरो। असल पति अनि जिम्मेवार पिता। उनलाई यति छिट्टै गुमाउनुपर्ला भन्ने आफन्तले सोचेका थिएनन्। तर, नसोचेकै भइदियो। आमा भक्कानिन छाडेकी छैनन्। पत्नी बर्बराउँछिन्। दुईवर्षे छोरो पिता खोज्दै हत्ते गर्छन्।
शुक्रबार दिउँसो। एक बजे। कोहलपुर नगरपालिकाका करणसिंह ठकुरी नेपालगन्ज जान घरबाट निस्किए। पत्नी वसन्ती र छोरा मस्त निद्रामा थिए। आमा कृष्णा किराना पसल रुँघिरहेकी थिइन्। उनले आमालाई खबर छाडे– एकपटक राँझास्थित इमाननगर आर्मी ब्यारेक पुग्ने अनि नेपालगन्जबाट पसलका लागि सामान लिएर आउने।
तर, उनी फर्किएनन्। केही बेरपछि नै घरमा अशुभ खबर आइपुग्यो– प्रदर्शनकारीको ढुंगा लागेर करणको ज्यान गयो। ‘जताततै बन्द छ, यस्तो बेला बजार नजा भनेर सम्झाएँ तर मानेन,’ शोकमा डुबेकी आमाले शनिबार भनिन्, ‘गोजीमा पाँच हजार रुपैयाँ छ, नेपालगन्जमा सस्तो सामान पाइन्छ भन्दै निस्किएको थियो तर जिउँदो फर्कन पाएन।’
२२ वर्षीय करणले दुई वर्षदेखि घरमै किराना पसल चलाउँदै आएका थिए। भारतीय आर्मी पिता उनलाई आर्मी नै बनाउन चाहन्थे। करणको सोच भने सफल व्यापारी बन्ने थियो। तैपनि पिताको सपना मर्न दिन चाहन्नथे। त्यसैले आर्मी ब्यारेक छिरेर सैनिक जवान पदका लागि आवेदन बुझाउने तयारीमा थिए। पसलमा तीजविशेष सामान थप्ने योजना पनि थियो।
मोटरसाइकलमा सवार करणमाथि दिउँसो पौने ४ बजे संयुक्त मधेसी मोर्चाको कार्यकर्ताले ढुंगा हानेका थिए। गम्भीर अवस्थामा अस्पताल पुर्यािइएका उनको उपचारक्रममै निधन भयो। ‘बुबाको सपना आर्मी बनाउने थियो तर एक्लो छोरो भएकाले हामीलाई छाड्न चाहन्नथ्यो, घरमै बसेर व्यापारी बन्न चाहन्थ्यो,’ आमा कृष्णाले भनिन्।
पुरानो घर दैलेख रहेको ठकुरी परिवार नौबस्ता–२ हुँदै कोहलपुर नगरपालिका आइपुगेको हो। करणका पाँच दिदीबहिनी छन्। पत्नी वसन्ती २० वर्षकी भइन्। पतिवियोगले अर्धबेहोसझैं रहेकी सबै सपना भताभंुग भएको बताउँछिन्। ‘छिमेकमा झगडा, विवाद कहिल्यै गर्नुभएन, परिवारको सुख र सजिलोका लागि घर छाड्नुभएन तर दैवले खोसेर लग्यो,’ उनले भनिन्, ‘अब मैले एक्लै कसरी छोरो हुर्काउनु!’
उनले हत्यारालाई कारबाही, पतिलाई सहिद घोषणा, आफूलाई रोजगारी र छोरालाई निःशुल्क शिक्षाको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेकी छन्। ‘नेताहरूकै लडाइँले उहाँको ज्यान गयो,’ वसन्तीले भनिन्, ‘बन्द, लडाइँ र मान्छे मार्ने काम बन्द हुनुपर्छ।’
यसरी भयो घटना
करणसँगै साथी विशाल पनि थिए। उनीहरू साढे १ बजे गनापुर–२, प्रिपहवा पुगे। त्यहाँ आन्दोलनकारीको ठूलै भिडले उनीहरूलाई रोक्यो। केही बेर बिन्ती गरेपछि त्यहाँबाट फुत्किन पाए। तर, तीन किमि पर राँझामा आन्दोलनकारीले मोटरसाइकल लैजान दिएनन्। उनीहरू त्यहाँबाट पैदलै आर्मी ब्यारेक गए। नेपालगन्ज जान नसकिने ठहर्यारएपछि मोटरसाइकल लिएर उनीहरूले कोहलपुरै फर्कने निर्क्योल गरे। यति बेला दिउँसो ३ बजेको थियो। त्यही बेला प्रहरीले पिप्रहवा चोकमा आन्दोलनकारी तितरबितर पारेको थियो। प्रदर्शकारी सडकबाट छेउछाउ लागेको मौका छोपी मोटरसाइकल चालक उम्कने प्रयासमा लागे। करण पनि ती मोटरसाइकल पछ्याउँदै अघि बढे। तर, पाँच सय मिटर पार नगर्दै अचानक चार–पाँच प्रदर्शनकारी सडकमा निस्किए। उनीहरूले सवारीसाधनमाथि ढंुगा बर्साए। करणको कोखमै लाग्यो। उनी पीडाले रन्थनिँदै भुइँमा पछारिएर । त्यसपछि पनि आन्दोलनकारीले कुटपिट गरे। मोटरसाइकल पछाडि सवार विशालमाथि आक्रमण गरे। उनी जसोतसो भागे। मरणासन्न अवस्थामा पुगेका करणलाई छाडेर आन्दोलनकारी नजिकैको पेट्रोलपम्पतिर लागे। करण सकीनसकी उठेर मोटरसाइकल घिस्याए। तर, केही अगाडि बढ्नासाथ सडकमै ढले। ‘मुखबाट रगत आइरहेको थियो, बेहोस भए,’ विशालले नागरिकसँग भने, ‘प्रहरीले भ्यानमा राखेर नेपालगन्ज मेडिकल कलेज पुर्या यो तर चिकित्सकले मृत घोषणा गरे।’ विशालको कोहलपुरमा उपचार भइरहेको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: